बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठअर्थअध्ययन खर्च जुटाउन बाख्रापालन

अध्ययन खर्च जुटाउन बाख्रापालन


लिसंखु, ७ असोज-लिशंखुपाखर गाउँपालिका–६, पेड्कुकी १५ वर्षीया स्वस्थानी भण्डारी विद्यालय समय अघि र पछि वाख्रालाई घाँसपानी गर्न व्यस्त हुन्छिन् । बाबु आमा दुबैले छाडेकी कक्षा नौ मा अध्ययनरत स्वस्थानी मात्र हैन उनकी दिदीको पनि दैनिकी त्यही हो ।

आर्थिक अभावका कारण पढाई छाड्नुपर्ने अबस्थामा पुगेका भण्डारी दिदी बहिनी बाख्रा पालन सुरु गरेपछि पढाईलाई निरन्तरता दिन थालेका छन् । बाबुले अर्की श्रीमती लिएर हिंडेपछि चार वर्षकै उमेरमा आमाले पनि छाडेपछि वृद्ध हजुरबा र हजुरआमाको संरक्षणमा हुर्किरहेका उनीहरुलाई पढाई खर्च जुटाउन हम्मे थियो । ‘बाबु आमा दुबै आफ्नो साथमा नभएपछि कापी कलम किन्ने पैसाले समेत पिरोल्दो रहेछ’, स्वस्थानी भन्छिन्, ‘जब बाख्रापाल्न सुरु ग¥यौं अहिले पढाई खर्च जुटाउन सजिलो भएको छ, त्यसैले पढाई छाड्नु परेन ।’

पढाई छाड्नै पर्ने अबस्थामा पुगेका भण्डारी दिदी बहिनीलाई गत साल ग्रामीण महिला सिर्जनशील परिवारले सुन्दर भविश्यको लागि सुन्दर बालापन कार्यक्रम अन्र्तगत २० हजार रुपैया जिविकोपार्जन सहयोग गरेपछि उनीहरुले बाख्रा पालन सुरु गरेका हुन् । गत वर्ष सुरु गरेको बाख्रा पालनबाट आम्दानी हुन थालेपछि आफूहरुको पढाई खर्च जुटाउन सहज भएको स्वस्थानी बताउँछिन् । ‘आमा कता हो थाहा नै छैन, बाबा भएपनि घरमै आउनु हुन्न काम गर्नै नसक्ने हजुर बा हजुर आमाले कसरी खर्च धान्न सक्नु’, स्वस्थानीले अन्नपूर्णसँग भनिन्, ‘अहिले बोका खसी बेचेर आएको पैसाले खर्च पु¥याउने गरेका छौं ।’

६८ वर्षीया मिठूमाया गुरुङको पीडा पनि स्वस्थानीको भन्दा कम छैन । उनका नौ र सात कक्षामा पढ्ने नातीनीहरुलाई पनि पढाउन नसक्ने अबस्थामा पुगेपछि सिर्जनशीलको जिविकोपार्जन सहयोग नै बरदान सावित भएको छ । आमाले छाडेको र बाबुले अर्की श्रीमती ल्याएर काठमाडौ बस्न थालेपछि नातीनीहरुको भविश्य अन्धकार देखेकी मिठूमायालाई बाख्रा पालन सुरु गरेपछि केही राहत महशुष भएको छ । प्यारालाइसिस भएर हलचल गर्न नसक्ने श्रीमानको औषधी  र दुई सन्तानको पढाई खर्च जुटाउन हम्मे परेको बताउने सिर्जना गुरुङ पनि सिर्जनशीलको सहयोगले आफूलाई राहत पुगेको बताउन थालेकी छिन् । २० हजार सहयोग लिएर बाख्रा पालन सुरु गरेकी सिर्जनाले दुई बोका बेचेर १९ हजार आम्दानी गरिसकेकी छिन् ।

स्वस्थानी, मिठूमाया र सिर्जना जस्तै लिशंखुपाखरको दुई वडामा सिर्जनशीलले सुनौलो भविश्यका लागि सुनौलो बालापन कार्यक्रम अन्र्तगत १४ जना जोखिममा परेर विद्यालय छाड्ने अबस्थामा पुगेका बालबालिकालाई जिविकोपार्जन सहयोग गरेको कार्यक्रम संयोजक एकलव्य राईले जानकारी दिए । कार्यक्रम अन्र्तगत विद्यालय छाडेकालाई विद्यालय फर्काउने, कमजोर आर्थिक अबस्था भएका बालबालिकालाई शैक्षिक सामाग्री उपलव्ध गराउने र जोखिममा परेका बालबालिकाका अभिभावकलाई जिविकोपार्जन सहयोग गरिएको सिर्जनशीलकी कार्यकारी निर्देशक नानीमाया थापाले बताइन् ।


क्याटेगोरी : अर्थ, पर्यटन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!