सुनकोसीका किसानलाई अनुदानमा विद्युतीय स्प्रे र फलफूलका विरुवा वितरण

सुनकाेसी–सुनकोसी गाउँपालिकाले कृषकलाई लक्षित गरेर विभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालन गरेको छ ।
कृषिमार्फत समृद्ध गाउँपालिका निर्माण गर्ने उदेश्यले कृषकहरुका लागि कृषि सामग्री,फलफूलका विरुवा लगायतका सामग्रीहरु वितरणको सुरुवात गाउँपालिकाले गरेको हो ।
कृषकसँग ५० प्रतिशत लागत साझेदारीमा फलफूल तथा बोटविरुवाहरुमा रोग लाग्दा किटनाशक औषकी प्रयोग गर्ने विद्युतीय स्प्रे गाउँपलिकाले कृषकहरुलाई वितरण गरेको छ ।
लागत साझेदारीमा सहभागी हुन सार्वजनिक सूचना आह्वान गरेको र सूचनाअनुसार सहभागी हुने कृषकहरुलाई विद्युतीय स्प्रे वितरण गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
कृषकहरुको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत लागत साझेदारीमा प्रत्येक बस्तीमा दुई जनाको समूह बनाएर गाउँपालिका भित्रका ६० कृषकहलाई टु इन वान मोडलको विद्युतीय स्प्रे वितरण गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले कृषकहरुको माग भए अरु कृषकहरुलाई पनि केही थान यस्ता उपकरण प्रदान गर्न सकिने बताए ।
गाउँपालिकाले कृषि कार्यक्रम अन्तर्गत नै स्थानीयसँगको साझेदारीमा विभिन्न फलफूलका विरुवासमेत वितरण गरेको छ।
गाउँपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत साझेदारीमा विभिन्न प्रजातिका फलफुलका विरुवाहरु कृषकहरुलाई वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष कान्छी लामाले जानकारी दिइन ।
गाउँपालिकाले हिउँदे फलफूल नासपाती, दाँते ओखर, किबी, अनार, आरु, जापनिज हलुवाबेद, लप्सीको विरुवा वितरण गरेको छ ।
गाउँपालिकाले साझेदारीमा उपलब्ध गराएको फलफूल तथा अन्य उपकरणहरुको सदुपयोग गरेर कृषि क्षेत्रमा लाग्नका लागि गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले आग्रह गरेका छन् ।
गाउँपालिकाले लागत साझेदारीमा छिट्टै वर्षे फलफूलका विरुवाहरु समेत वितरण गर्ने तयारी गरेको गाउँपालिकाका कृषि शाखाका प्रमुख सीताराम खरेलले जानकारी दिए ।
क्याटेगोरी : अर्थ, समाज
तपाईको प्रतिक्रिया दिनुहोस