तातोपानी नाका खुलाउन एमाले नेताले भेटे अर्थमन्त्री

नेताहरुसँगको छलफलमा अर्थमन्त्री पौडेलले तातोपानी नाकाको विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै नाकालाई पूर्ववत सञ्चालनमा ल्याउन चीनसँग कुटनीतिक प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।
चौतारा–आंशिक चलिरहेको तातोपानी नाका पूर्ववत सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराउँदै एमाले सिन्धुपाल्चोकका नेताहरुले शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन् ।
एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङको नेतृत्वमा एमालेका जिल्ला नेताहरुले अर्थ मन्त्रालयमै पुगेर नाका पूर्ण रुपमा खुलाउन विभागीय मन्त्री पौडेको ध्यानाकर्षण गराएका हुन् ।
सिन्धुपाल्चोक २ का पूर्वसांसदसमेत रहेका तामाङको नेतृत्वमा पूर्वप्रदेश मन्त्रीद्धय अरुण नेपाल, सरेश नेपाल, एमाले जिल्ला अध्यक्ष कमल नेपाल, जुगल गाउँपालिकाका निवर्तमान अध्यक्ष होमनारायण श्रेष्ठ,
बाह्रविसे नगरपालिकाकी निवर्तमान उपप्रमुख सुशीला पाख्रिन, नेता बालकृष्ण देउजा लगायत नेताहरु सिंहदरबार पुगेका थिए ।
उनीहरुले तातोपानी नाकाको बिगत र हालको अवस्था प्रस्तुत गर्दै नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउनको लागि पहल गर्न अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए । उनीहरुले अरनिको राजमार्गको जुरेदेखि कोदारी सडक खण्ड र त्यहाँका पुलको पुनर्निर्माण गर्न आवश्यक अध्ययन गरी बजेट विनियोजन गर्नसमेत अर्थमन्त्रीसँग माग गरेका छन् ।
‘तातोपानी नाकालाई विश्वासयोग्य बनाइ पूर्ववत रुपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाइयोस्,’एमाले जिल्ला अध्यक्ष नेपालको हस्ताक्षरमा अर्थमन्त्री पौडेललाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अरनिको राजमार्गको जुरे कोदारी खण्डको सडक र पुलको पुनर्निर्माणको आवश्यक अध्ययनसहितको बजेट व्यवस्थापन गरियोस ।’
नेताहरुसँगको छलफलमा अर्थमन्त्री पौडेलले तातोपानी नाकाको विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै नाकालाई पूर्ववत सञ्चालनमा ल्याउन चीनसँग कुटनीतिक प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।
यसअघि दुई साताअघि माओवादी नेता एवम् सिन्धुपाल्चोक १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटा नेतृत्वको व्यवसायीसहितको प्रतिनिधिमण्डलले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई यही विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको थियो ।
त्यसको केही दिनपछि अध्यक्ष दाहाल मुलुकको ४४ औँ प्रधानमन्त्री नियुक्त भएका छन् । सो भेटमा उनले तातोपानीबाट आयात मात्र नभएर छिट्टै निर्यात पनि खुल्ने विश्वास व्यक्त गरेका थिए ।
क्याटेगोरी : अर्थ
तपाईको प्रतिक्रिया दिनुहोस