मंगलबार, मंसीर २०, २०७९
गृहपृष्ठअर्थट्रान्स सिल्कले लियो तातोपानी सुख्खा बन्दरगाह सञ्चालनको जिम्मावारी

ट्रान्स सिल्कले लियो तातोपानी सुख्खा बन्दरगाह सञ्चालनको जिम्मावारी


तातोपानी l तातोपानी–निजी क्षेत्रको ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडले सोमबारदेखि तातोपानी सुख्खा बन्दरगाह सञ्चालनको औपचारिक जिम्मेवारी लिएको छ ।

तातोपानी भन्सारमा आयोजित एक कार्यक्रबीच ट्रान्स सिल्कले बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएको हो । उसले आगामी पाँच वर्षको लागि यो सुख्खा बन्दरगाह भन्सार सञ्चालन गर्ने छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले ट्रान्स सिल्कले बन्दरगाह सञ्चालन जिम्मेवारी लिएको कार्यक्रमको समुद्घाटन गरे । उनले यो कार्यक्रमबाट नेपालले व्यापारिक फाइदा लिनुपर्ने बताए । नाकाबाट बढी सामाग्री आयात हुनुपर्नेमा जोड दिँदै उनले पर्याप्त सामाग्री नेपाल पठाउन चीनले विभिन्न समस्या देखाउन नहुने धारणा राखे ।

नेपाल यातायात इन्टरमोडेल व्यवस्थापन समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले तातोपानी सुख्खा बन्दरगाहको व्यवस्थापन तथा सञ्चालनको जिम्मा पहिलो पटक निजी क्षेत्रलाई दिइएको बताए । योसमेत मुलुकका सातवटा सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिएको जनाउँदै ट्रान्स सिल्कले ‘स्टाण्डर्ड’ किसिमको सेवा दिनुपर्ने बताए ।

सिल्क ट्रान्सका प्रवन्ध निर्देशक रमेश शेर्पाले कम्पनीले गुणस्तरीय सेवा दिने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटा, तातोपानी गाविसका पूर्वाध्यक्ष अमृतकुमार श्रेष्ठ लगायतले नाकाबाट हुने नेपाल–चीन व्यापार वृद्धि गर्न सबैपक्ष लाग्नु पर्ने धारणा राखे ।

समिति र ट्रान्स सिल्कबीच गत भदौ २९ गते बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थान गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको अत्याधुनिक तातोपानी सुख्खा बन्दरगाह भन्सार २०७६ असार ३ गते समितिलाई हस्तान्तरण भएको थियो । हस्तान्तरणको ६ महिनासम्म कार्यालय सञ्चालनको काम समितिले नै गरेको थियो ।

२०७६ पुस १६ गतेदेखि बन्दरगाह सञ्चालन तथा व्यवस्थापको कार्य सरकार स्वामित्वको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्दै आएको थियो । यो बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापन कार्य निजी क्षेत्रलाई दिन समितिले गएको जेठ ११ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । जसमा फ्लास फ्रेट लजिस्टिक, भ्याली टर्मिनल जेभी काठमाडौँ र ट्रान्स नेपाल जेभी विराटनगरले आवेदन होलेका थिए । प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट सबैभन्दा बढी अंक प्राप्त ट्रान्स नेपाल जेभी विराटनगर छनोट भएको समितिका कार्यकारी निर्देशक गजुरेलले जनाए । उनका अनुसार ट्रान्स सिल्क टर्मिनल विराटनगरको कम्पनी हो ।

ट्रान्स सिल्कले बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गरेबापत समितिलाई पाँच वर्षको ११ करोड ७० लाख बुझाउने छ । बन्दरगाह सञ्चालन, सरसफाई, गोदाम व्यवस्थापन, लोड-अनलोड, पार्किङ व्यवस्थापन लगायत काम अब ट्रान्स सिल्कले गर्ने छ । निजी क्षेत्रलाई जिम्मेवारी दिएसँगै तातोपानी सुख्खा बन्दरगाह भन्सार व्यवस्थित ढंगले सञ्चालन हुने विश्वास गरिएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!