बुधबार, असोज १९, २०७९
गृहपृष्ठअर्थकोभिड संक्रमण बढेसँगै तातोपानी र रसुवागढी नाका पुनः बन्द

कोभिड संक्रमण बढेसँगै तातोपानी र रसुवागढी नाका पुनः बन्द


तातोपानी । चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेको त्यहाँस्थित नेपाली भन्सार कार्यालयहरुले जनाएका छन् ।

रसुवागढी नाकाबाट गत शनिबार र तातोपानी नाकाबाट बुधबारदेखि मालसामान आउन बन्द भएको त्यहाँका भन्सार प्रमुखहरुले बताए ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिनुभयो । तिब्बतमा कोभिड संक्रमण दर बढेको भनिए पनि अब कहिले खुल्नेबारे केही जानकारी नआएको उहाँले बताउनुभयो ।केही दिन अघिसम्म एक दुई वटा कन्टेनर आइरहेकामा बुधबार चिनियाँहरुले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले बताए ।

यता रसुवाको रसुवागढी नाका पनि बन्द भएको रसुवागढी भन्सार प्रशासक डा. रामप्रसाद मैनालीले बताए । नाका भएर शनिबारदेखि मालसामान आयात नभएको उनको भनाइ छ । ‘तिब्बततर्फ लकडाउन भएको अपुष्ट जानकारी आएको छ । शनिबारदेखि रसुवागढी नाका ठप्प छ,’ मैनालीले भने , ‘तर हामीलाई कुनै पनि औपचारिक जानकारी दिइएको छैन ।’

तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासले त्यस क्षेत्रमा झण्डै लकडाउनकै अवस्था रहेको मौखिक जानकारी गराएको मैनालीले बताए । तर, नाका बन्दको अग्रिम जानकारी नदिई एक्कासी मालसामानको ढुवानी रोकिएको उनको भनाइ छ ।

कोरोना बढेपछि पहिला चरणमा त्यहाँका जिल्लाहरुले ८ दिनका लागि नाका बन्द गर्ने निर्णय गरेको अपुष्ट जानकारी प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘मलाई आएको अनौपचारिक जानकारीमा कोभिड-१९ ले गर्दा नाका बन्द भएको भन्ने छ, थप हामी बुझ्दैछौं’ प्रजिअ जैसीले भने ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!