रसुवागढी-केरुङ नाका दुईतर्फी सञ्चालन गर्ने सहमति

रसुवागढी l नेपाल र चीनले कोभिड–१९ को कारण सुरुआतमा सहज नभएको रसुवागढी–केरुङनाकामा दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति गरेका छन् । नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकमा चीनले कोरोना भाइरस मापदण्डलाई पालना गर्दै उक्त नाकाबाट सामग्रीहरु आयात र निर्यात गर्न सहमत भएका हुन् । चीनले कोभिड–१९ का कारण सुरुआतमा उक्त नाका बन्द नै गरेको थियो ।
केही समयपछि नाका खोले पनि चीनले एकतर्फीरुपमा नेपालमा सीमित मात्रामा सामग्री पठाउँदै आइरहेको छ । जसलाई लिएर नेपाली व्यापारीहरुले आफूहरुको ठूलो लगानी फसेको भन्दै पटक–पटक नेपाल सरकारसँग गुनासो गर्दै आइरहेका छन् । नेपाल र चीनले व्यापार सञ्चालनका लागि दुवै पक्षले महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ ।
भर्चुअलरुपमा बिहीबार भएको सीमासम्बन्धी परामर्श बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र चिनियाँ टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको सीमा तथा समुन्द्र सम्बन्धित मामिला विभाग महानिर्देशक होङ लियाङले गरेका थिए । यस्तै, दुवै पक्षले हुम्लाको हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय पनि भएको छ ।
बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको उत्तरी हिमाली क्षेत्रका जनताको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले दुवै पक्षले आवश्यक कोभिड–१९ स्वास्थ्य प्रोटोकल लागू गरी चीनबाट आउने सामान र निर्माण सामग्रीको ढुवानीका लागि उक्त सीमा बन्दरगाह खोल्ने सहमति भएको हो । बैठकमा नेपाल–चीन सम्बन्धको समग्र अवस्थाबारे जानकारी लिनुका साथै दुई देशबीचको सीमा र सीमा व्यवस्थापनका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
नेपाल–चीन सीमा परामर्श बैठकमा परराष्ट्र, गृह, नापी विभाग, बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक र ल्हासास्थित नेपाली महावाणिज्य दूतको सहभागिता थियो । चिनियाँ प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय र चीनका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू, चीनको तिब्बत स्वायत्त क्षेत्रका विदेश मामिला कार्यालय र अन्य विभागहरू तथा काठमाडौंस्थित चीनको राजदूतावासका कार्यवाहकहरू सहभागी थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस