सोमबार, जेठ २, २०७९
गृहपृष्ठअर्थहप्तामा दुई दिन बिदा दिँदा पेट्रोलियम पदार्थको खपतमा मासिक ३५% ले कमी आउने

हप्तामा दुई दिन बिदा दिँदा पेट्रोलियम पदार्थको खपतमा मासिक ३५% ले कमी आउने


काठमाडौं। पेट्रोलियम पदार्थको खपत कम गर्न हप्तामा दुई दिन बिदा दिन नेपाल राष्ट्र बैँक र नेपाल आयल निगमले गरेको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेको पेट्रोलियम पदार्थको खपत कम गर्न उक्त प्रस्ताव गरिएको हो । नेपाल आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार दुई दिन सार्वजनिक बिदा दिँदा अत्यावश्यक बाहेकका सवारी साधनहरु नगुड्ने भएका कारण पेट्रोलियम पदार्थको खपतमा मासिक ३५ प्रतिशतले कमी आउनेछ । जसका कारण नेपाल आयल निगमले व्यहोरिरहेको घाटा पनि कम हुने उहाँको भनाइ छ ।

तर, सरकारले सार्वजनिक बिदा दिँदा त्यसलाई सदुपयोग गर्नका लागि देशका विभिन्न भागको आवतजावत बढेमा पेट्रोलियम पदार्थको खपत घट्नुको साटो झनै बढ्ने उहाँको भनाइ छ । त्यसकारण सरकारले यसमा कडाइ गर्नुपर्ने कार्कीको सुझाव छ ।

कार्कीका अनुसार सरकारलाई दुई दिन सार्वजनिक बिदाको साथै इलेक्ट्रोनिक सवारीको प्रयोग बढाउनका लागि आग्रह गरिएको छ । साथै, इलेक्ट्रिक सवारीको आयातमा भन्सार शूल्क घटाउन पनि प्रस्ताव गरिएको उहाँको भनाइ छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई दिन बिदा दिने कुरा चले पनि आधिकारिक निर्णय भने नभएको बताउनुभयो । यस विषयमा छलफल भइरहे पनि आधिकारिक निर्णय भने भइनसकेको उहाँको भनाइ छ । ‘हप्तामा दुई दिन बिदा दिने भन्ने कुरा छलफलको विषय बनेको छ तर मन्त्रिपरिषद्ले निर्णय भने गरेको छैन,’ मन्त्री कार्कीले भन्नुभयो ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!