आईतबार, माघ ९, २०७८
गृहपृष्ठअर्थहिमपातका कारण नेपाल चीन व्यापारका दुवै प्रमुख नाका अवरुद्ध

हिमपातका कारण नेपाल चीन व्यापारका दुवै प्रमुख नाका अवरुद्ध


काठमाडौं – हिमपातका कारण नेपाल चीन व्यापारका दुवै प्रमुख नाका अवरुद्ध भएका छन् । रसुवागढी केरुङ र तातोपानी खासा दुवै नाकाबाट माल वस्तु आयात बिहीबार साँझदेखि अवरुद्ध भएको भन्सार कार्यालयलहरुले जनाएका छन् ।

हिमपातका कारण तत्काल कार्गो कन्टेनर पठाउन कठिन भएको जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । नेपालतर्फ आउँदै गरेका केही कन्टेनरहरु पनि चीनतर्फको न्यालम र खासामा रोकिएको तातोपानी भन्सार कार्यालय प्रमुख नारद गौतमले बताए ।

हिमपात घटेर मौसम सफा नहुँदासम्म नाका सञ्चालनमा आउन सक्ने अवस्था नरहेको गौतमले बताए । यो नाकाबाट दैनिक १० देखि १२ कन्टेनर माल वस्तु नेपाल भित्रिरहेको थियो ।

यता चीनतर्फको अर्को प्रमुख व्यापारिक नाका रसुवागढी पनि बिहीबार रातिदेखि अवरुद्ध भएको छ । दैनिक बिहान ७ र बेलुकी २ कन्टेनर सामान भित्रिरहेको नाका हिमपातका कारण अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ल्हासास्थित नेपाली महावाणिज्य दूतावास र रसुवागढी भन्सार कार्यालयबाट नाका अवरुद्ध भएको जानकारी आएको जैसीले बताए ।

नेपाल चीन प्रमुख दुई स्थल व्यापारिक नाका समुन्द्री सतहदेखि २५ सय मिटर भन्दा उच्च स्थानमा छन् । जसका कारण हरेक हिउँदा हिमपातका कारण व्यापारमा अवरोध भइरहन्छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!