बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठअर्थरामपुरमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन हुने

रामपुरमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन हुने


चितवन, कार्तिक ७ । बाग्मति प्रदेश अन्तर्गत्को कृषि तथा वन विश्वविद्यालय रामपुरमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन हुने भएको छ । यही कार्तिक ८ देखि १२ गतेसम्म भर्चुअल माध्यमबाट ‘एसियन बफेलो कङ्ग्रेस’ हुन लागेको हो ।

यो एसियन बफेलो कङ्ग्रेस १० औँ संस्करण भएपनि नेपालमा पहिलो पटक हुन लागेको हो । कालो सुनको रुपमा मानिएको भैँसीको पालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण एवं उपयोगिता बारे वैज्ञानिक खोज, अनुसन्धान तथा प्रचारप्रसारका लागि सम्मेलन आयोजना गरिएको विश्वविद्यालयले जनाएको छ ।

सम्मेलनमा १७ राष्ट्रका प्रख्यात विज्ञहरूले एक सय ३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्नेछन् । तीन सय ५० भन्दा बढी वैज्ञानिक, प्राध्यापक, कृषक, विद्यार्थी तथा सम्बन्धित विषयका सरोकारवालाहरुबीच छलफल तथा बहस हुने आयोजक समितिका अध्यक्ष प्रा. डा. भूमिनन्द देवकोटाले जानकारी दिएका छन् ।

सो सम्मेलनमा नेपालमा अनुसन्धानमा आधारित भैँसी अनुसन्धान केन्द्र स्थापनाका पनि कृषि विश्वविद्यालयले प्रस्ताव पेश गरिने छ । विभिन्न राष्ट्रहबीच भैँसी पालनको ज्ञान र उपलब्धिको आदानप्रदान गर्न समेत सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको सम्मेलन, भैँसी उत्पादन र विकासका लागि कोसेढुङ्गा हुने आयोजकले अपेक्षा गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले नेपालमा नै यस किसिमको सम्मेलन हुनु गर्व र गौरवको विषय भएको प्रतिक्रिया दिए । चितवन पशुपालन, मत्स्यपालन तथा पशुपक्षीको दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला भएकोले यो कार्यक्रम झनै फलदायी हुने आयोजकको विश्वास छ ।

सम्मेलनको सोमवार अर्थात कार्तिक ८ गते कृषि तथा पशुपक्षी मन्त्री महिन्द्र राय यादवले उद्घाटन गर्ने कार्यक्रम छ । यसअघि जुन ३ देखि ५ तारिखमा भौतिक रुपमा नै आयोजना गर्न लागिएको सम्मेलन कोरोनाका कारण पछि धकेलिएको हो ।

एसियामा विश्वकै सबै भन्दा धेरै भैँसी उत्पादन हुने गर्दछ । भैँसीको कुल सङ्ख्याको ९० प्रतिशत एसियामा नै छ । नेपालमा ५२ लाखको हाराहारीमा भैँसी रहेको अनुमान छन् । नेपालमा दुग्ध उत्पादनमा भैँसीले ६५ तथा मासुमा ५४ प्रतिशत स्थान ओगटेको तथ्याङ्क छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!