आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थएडीबीले हात झिक्यो, मेलम्ची खानेपानीको जिम्मा अब सरकारलाई

एडीबीले हात झिक्यो, मेलम्ची खानेपानीको जिम्मा अब सरकारलाई


काठमाण्डौं ।
एसियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानी आयोजनाबाट हात झिकेसँगै अब यसको जिम्मा सरकारले लिन बाध्य बनेको छ । एडीबीले ऋण सम्झौता अन्त्य गर्दै थप लगानी नगर्ने भएपछि आफ्नै आन्तरिक स्रोतबाट आयोजना अघि बढाउन नेपाल सरकार बाध्य बनेको हो ।
बाढीपहिरोले ठूलो क्षति भएर पुनर्निर्माणको अवस्थामा पुगेका बेला एडीबी तर्किएको छ । २०६४ मा ६ वर्षमा सक्ने गरी एडीबीसँग करिब १७ अर्ब रुपैयाँमा सम्झौता भएको थियो।अहिलेसम्म आयोजनामा ३० अर्बभन्दा बढी खर्च भइसकेको छ ।
पुनर्निर्माणसहित आयोजनाको बाँकी काम अब सरकारले आफ्नै स्रोतबाट गर्न लागेको खानेपानी मन्त्रालयले जनाएको छ । खानेपानी मन्त्रालयले आन्तरिक स्रोतबाट आयोजना अघि बढाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पेशसमेत गरेको छ ।
प्रधानमन्त्री कार्यालयमा एक चरण छलफल भएपछि उक्त प्रस्ताव मन्त्रिपरिषद् जानेछ। मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि खरिद प्रक्रियामा जाने तयारीमा मेलम्ची खानेपानी विकास समिति छ।
गत असार १ मा आएको बाढीले आयोजना क्षतिग्रस्त बनाएको छ। हेडवर्क्स पुरेको छ। कामदार बस्ने लगायतका साइट क्याम्पहरु बगाएको छ। निर्माण सामाग्री÷ इक्विपमेन्ट बगाएको छ भने आयोजनास्थलसम्म पुग्ने करिब ८ किमि सडक र चारवटा पुल बगाएको छ।
चैतदेखि आयोजनाले राजधानीबासीलाई पानी बाँडिरहेको थियो। सुरुङमार्गको परीक्षण गर्ने भन्दै असार १ मै परीक्षण वितरण बन्द गरेकै दिन बाढी आएको थियो। आयोजनाको मुहानस्थलभन्दा माथितिर भेम्राथाङबाट आएको बाढीले आयोजनामा क्षति पु¥याएको हो।
एडीबीले थप लगानी नगर्ने भए पनि मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथानबाट माथितिर गएको पहिरोको प्राविधिक अध्ययन गरिदिने भएको छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!