आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थमध्यभोटेकोशीको आइपिओ सोमबार बाँडफाँड हुँदै

मध्यभोटेकोशीको आइपिओ सोमबार बाँडफाँड हुँदै


काठमाण्डौं ।
बहुचर्चित मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ आउँदो सोमबार बाँडफाँड गरिने सम्भावना बढेको छ । आइपीओ निष्कासनपछिका काम तीव्र गतिमा भइरहेकाले आउँदो सोमबार (असोज ११ गते) खुल्ने सम्भावना बढेको हो ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलकाअनुसार मध्यभोटेकोशीको आईपीओ बाँडफाँड हुने प्रबल सम्भावना छ । हाल पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीयका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड गर्ने तयारी भइरहेको छ ।
‘स्थानीय र आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरेको केही दिनभित्रै सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछौँ’, मध्यभोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले भने । उनकाअनुसार १५ गते सर्वसाधारणका लागि आइपिओ पिनष्कासन गरिने तयारी छ ।
नेपाल धितोपत्र बोर्डबाट मध्यभोटेकोशीले चुक्तापुँजी ६ अर्ब रुपैयाँको २५ प्रतिशतबराबरको १ अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । जसमा १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ अर्थात ६० लाख कित्ता सेयर कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना र प्रभावित र स्थानीयका लागि निष्कासन गरिसकेको छ ।
पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कुल कित्तामध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : अर्थ, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!