आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थतातोपानी र केरुङ नाका समस्याग्रस्तः व्यापारीको अरवौंको सामान अलपत्र

तातोपानी र केरुङ नाका समस्याग्रस्तः व्यापारीको अरवौंको सामान अलपत्र


सिन्धुपाल्चोक । केन्द्र तथा प्रदेश सरकारको उदासिनताका कारण यस बर्षको दशैं तथा तिहारमा स्थानीय बजारमा लत्ता कपडा लगाएतका सामान महंगीने भएको छ ।

दसैंका लागि नेपाली व्यवसायीले चीनबाट झिकाएका अरवौंको सामान बोकेका कन्टेनरहरु सीमापारि चिनियाँ नाकामा रोकिएका छन् भने नेपाल तर्फको भन्सार नाका सुनसान छ ।

हजार भन्दा बढी कन्टेनरले पालो पर्खिँदा चिनियाँ अधिकारी खटाइखटाइ पठाउने गरेको र नेपाली आयातकर्ताले दशैंका लागि मगाएको मालसामान दसैंमा बेच्न पाउने संभावना टर्दै गएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाई छ ।

तातोपानी भन्सार नाकाको कारोवार जुरेको पहिरो तथा केरुङ नाकाबाट हुने कारोवार २०७२ सालको विनासकारी भुकम्प पछि निरन्तर प्रभावित बन्दै आएको छ । लामो अवरोध पछि आंशीक रुपमा सञ्चालनमा आएको तातोपानी नाका बाट दैनिक १० कन्टेनरभन्दा बढी सामान आयात गर्न बन्देज लगाइएकाले पनि नेपाली व्यापारीहरु समस्यामा परेका हुन् ।

यस्तै रसुवाको केरुङ नाकाबाट पनि दैनिक ९ कन्टेनर मात्र आयात हुने गरेको छ । दुवै नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध’ जस्तै भएको र अहिले सामान आयात निर्यातमा समस्या भएकाले बहुसंख्यक नेपाली व्यापारी पलायन हुन बाध्य भएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले बताए ।

नाकासम्मको पहुंच सडक वर्षौंदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मत संघ तथा प्रदेश सरकारको प्राथमिकतामा नपर्दा समस्या परेको बस्नेतले बताए । भन्सार नाका र व्यापारीक कारोवार नै अनियमीत भएपछि सीमा भन्सारका उच्च पदाधिकारबीच हुँदै आएको बैठक नै दुई वर्षदेखि बसेको छैन ।

चीनले कोभिड–१९ संक्रमणको मुख्य कारण देखाएर सीमा नाकाबाट नेपाल आयात हुने कन्टेनरलाई सीमित गर्दै आएको छ । आयातमा तोकीएको सीमाका कारण यो वर्ष पनि दसैंका सामान झिकाइएका हजारभन्दा बढी कन्टेनर तातोपानी तर्फको खासा र रसुवातर्फको केरुङमा थन्केको बस्नेतले जानकारि दिए ।

स्थलमार्गबाट सामान ल्याउने वातावरण बिग्रेपछि व्यवसायीहरु आयातका लागि भारतीय नाकामा निर्भर हुन थालेको र नाका सहज बनाउन माग गर्दै पटक पटक प्रधानमन्त्री, मन्त्री र कर्मचारीलाई ज्ञापनपत्र बुझाए पनि सुनुवाई नभएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाई छ ।

अध्यक्ष श्रेष्ठले चीनीया अधिकारीले सिमित कन्टेनर छाडेर व्यापारलाई नियन्त्रण गर्न खोज्दा नेपाली व्यापारीहरु बैंकको ब्याज, गोदाम भाडा र कर्मचारी तलब जस्ता समस्यामा जेलीएको गुनासो गरे ।

आयात व्यापार न्यून भएपछि तातोपानी र रसुवा भन्सारको राजस्व संकलनमा ह्रास आएको छ । तातोपानीले गत आर्थिक वर्षमा लक्ष्यको १८ प्रतिशत र रसुवाले करिब ५० प्रतिशत राजस्व संकलन गरेको छ ।

तातोपानी बन्द भएपछि २०७२ मंसिरदेखि रसुवा भन्सारको कारोबार बढेको रसुवा सीमामा २ अर्बभन्दा बढी लागतमा निर्माण गरिएको संरचना समेत प्रयोगविहीन बन्ने देखिन्छ । गत आर्थिक वर्षमा तीन अर्ब ५४ करोड राजस्व संकलन भएकोमा चालु वर्षका लागि ६ अर्ब २८ करोड लक्ष्य तोकिएको रसूवा भन्सारले चालु वर्षको दुई महिनामा एक अर्ब २० करोड मात्र राजश्व संकलन गरेको छ । तातोपानी भन्सारको अवस्था पनि उस्तै छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!