शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठअर्थराजनीतिक र कुटनीतिक चक्रव्यूमा फसेको तातोपानी भन्सार

राजनीतिक र कुटनीतिक चक्रव्यूमा फसेको तातोपानी भन्सार


सिन्धुपाल्चोक । प्रमुख राजनीतिक दलका नेता, सरकार तथा सरोकारवाला निकायको उदासिनताका कारण चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानी थप सुस्ताएको छ । सरकारी वेवास्ता कै परिणाम नाकाबाट चालु आर्थिक वर्षको सुरुको दुई महिनामा लक्ष्यभन्दा निकै थोरै राजस्व सङ्कलन भएको छ ।

भन्सार नाका नियमित नभएकै कारण अरवौं रुपैंया खर्चेर बनाईएको लार्चास्थित् सुख्खा बन्दरगाह समेत प्रयोगविहिन जस्तै बनेको छ । अत्याधिक वर्षासँगै ठाउं ठाउंमा खसेको पहिराले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ भने, कोदारी राजमार्गको लार्चा–कोदारी बजार क्षेत्रको दर्जनौं स्थानमा सडक भासिँएको छ ।

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठका अनुसार, गत असारबाट तातोपानी नाका व्यापारीक हिसावले ठप्पजस्तै बनेको छ, स्थलमार्ग बन्द भएपछि सिमित व्यापारीले मात्र महंगो भाडा तिरेर बन्दरगाहबाट सामान आयात गरिरहेका छन् ।

श्रेष्ठका अनुसार, मुख्य व्यापारीक सडक अवरुद्ध भएपछि न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएका सामान लिपिङबाट तुइन र भरियाको भरमा बोकेर ल्याउनुपरेको छ । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमका अनुसार, तातोपानी भन्सारबाट असार महिनादेखि दैनिक दुईवटा कन्टेनर मात्रै भित्रिने गरेको छ ।

दसैं, तिहार नजिकिँदै जाँदा पनि नाका पूर्णरूपमा सञ्चालन भएको छैन, जसकारण गत वर्षझैँ अभाव सिर्जना हुनसक्ने भन्दै व्यवसायीले सरकार तथा राजनीतिक दलको पटक पटक ध्यानाकर्षण गराएका छन् ।

भन्सार कार्यालयमा असार र साउनमा क्रमशः ११ करोड ३९ लाख रुपैयाँ र सात करोड २१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । कोरोना महामारीबीच नेपाली व्यापारीले चीनबाट सामान खरिद गरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा चीनबाट खासा हुँदै नेपाल आइपुगेका १० मुख्य सामग्रीको परिमाण र मूल्य हेर्दा विगतमा भन्दा निकै कम सामग्री आयात भएको पाइएको छ ।

प्रमुख भन्सार अधिकृत गौतमका अनुसार ५२ करोड ६७ लाख रुपैयाँको तयारी कपडा ४२ लाख ९८ हजार ७२३ युनिट, एक अर्ब २२ करोड ८५ लाख रुपैयाँ मूल्यको स्याउ एक करोड ६५ लाख ७८ हजार ४१४ केजी, १९ करोड ४५ लाख रुपैयाँको मेडिकल मास्क पाँच करोड ८५ लाख १६ हजार ३४० युनिट तातोपानी नाकाबाट नेपाल भित्रिएको छ ।

त्यसैगरी १३ करोड ४६ लाख रुपैयाँको ओखर चार लाख ३९ हजार ७२ केजी, सात करोड २३ लाख रुपैयाँको महिलाले लगाउने जुत्ता, चार करोड ६५ लाख रुपैयाँको रबर र प्लास्टिकका जुत्ता, चार करोड पाँच लाख रुपैयाँको डम्फर, छ करोड ४२ लाख रुपैयाँको ट्रेलर, पाँच करोड ५८ लाख रुपैयाँको सुती कपडा र पाँच करोड ४६ लाख रुपैयाँ मूल्यको चार लाख ५२ हजार ४५० केजी लसुन आयात भएको थियो।

यस अलावा कोरोना महामारीको दोस्रो लहर सुरु हुनासाथ निजी क्षेत्र र अनुदानबापतको झण्डै ३० हजार थान अक्सिजन सिलिन्डर पनि तातोपानी नाकाबाट नेपाल भित्रिएको थियो। तर स्वास्थ्य सामग्रीका लागि भने राजस्व छुट थियो । २०७२ को भूकम्पअघि यस नाकाबाट दैनिक डेढ करोड रुपैयाँसम्म राजस्व असुली हुँदै आएको थियो ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!