शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठअर्थसुनकोशी–तेस्रो विद्युत् आयोजना अघि बढ्योः ४ जिल्लाका १६०० परिवारलाई असर पर्ने

सुनकोशी–तेस्रो विद्युत् आयोजना अघि बढ्योः ४ जिल्लाका १६०० परिवारलाई असर पर्ने


असोज १ । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा निर्माण हुन लागेको ६८३ मेगावाटको सुनकोशी–तेस्रो विद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ ।

यही साता नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकले उक्त आयोजना निर्माण गर्ने प्रस्ताव अनुमोदन गरेको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटवालले जानकारी दिएका छन् ।

भेटवालका अनुसार बैठकमा ६०० मेगावाटको खिम्ती शिवालय जलविद्युत् आयोजना निर्माणका लागि पनि बङ्गलादेशलाई नै प्रस्ताव गरिएको थियो । यसका लागि नेपाल सरकारका प्रस्तावमा बङ्गलादेश सरकारले आउँदो डिसेम्बरमा आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदी अन्तर्गत काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको भ्रमण गर्ने सहमति जनाएको छ ।

उर्जा मन्त्रालयका अनुसार सुनकोशी तेस्रो परियोजना सम्वन्धी बैठकमा नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र बङ्गलादेशको तर्फबाट शक्ति, ऊर्जा र खनिज मन्त्रालयको विकास तर्फका सचिव मोहमद हबिबुर रहमानले नेतृत्व गरेका थिए ।

नेपालबाट बङ्गलादेशमा विद्युत् व्यापारका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डलाई तोकिएको छ । दुई देशबीच सन् २०१८ मै उर्जा क्षेत्रमा सहकार्यको सम्झौता भई सकेको छ । सोही सम्झौतामा बङ्गलादेशले नेपालको एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गरेको थियो । हाल विद्युत् विकास विभागद्वारा विभिन्न चरणमा अध्ययन भइरहेको यस आयोजनालाई बङ्गलादेशले संयुक्त लगानीमा निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो ।

उर्जा मन्त्रालयका प्रवक्ता भेटवालले आयोजनाका लागि सर्वेक्षण, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत इञ्जिनियरिङ डिजाइनको काम सकिएको जानकारी दिए । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम भने बाँकी छ । इआइए र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम कोरोनाको जोखिम हटेपछि थालिने छ ।

परामर्शदाताले विद्युत् विकास विभागलाई २ बर्ष पहिले नै बुझाएको सुनकोशी–तेस्रोको टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’ देखि सर्वेक्षणसम्मको काम सकिएको उल्लेख छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा असर पर्ने घरपरिवार तथा क्षेत्र र समुदायलाई उपलब्ध गराउने क्षतिपूर्ति लगायतका विषयसमेत उल्लेख छ ।

साथै आयोजनाबाट असर पर्नसक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडाका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकार व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो ।

विभागले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो आयोजनाको अध्ययनका लागि रु १९ करोड सहित दुवै आयोजना अध्ययनको काम सक्न रु ३३ करोड लाग्ने अनुमान गरेको छ । परियोजनाअन्तर्गत सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभू घाटमा विद्युत् आयोजनाको बाँध निर्माणका लागि प्रस्ताव गरिएको छ ।

प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेगावाट विद्युत् उत्पादन हुने र यसका लागि लुभू घाटस्थित नदीमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी सुरुङबाट लुभू घाट नजिक निर्माण गरिने विद्युत गृहमा पानी लगिने छ । विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेस द्वारा पुनः सुनकोशी नदीमा खसालिने छ । आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका करिब एक हजार ६०० परिवारलाई असर पुग्नसक्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!