शुक्रबार, असोज १, २०७८
गृहपृष्ठअर्थमेलम्ची आयोजना : मर्मत गर्न अढाई अर्ब लाग्ने

मेलम्ची आयोजना : मर्मत गर्न अढाई अर्ब लाग्ने


काठमाण्डौं । गएको असा १ र त्यसपछिका लगातारको पहिरोले क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजना मर्मत गर्न करिब अढाई अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । काठमाण्डौंवासीलाई मेलम्चीके पानी खुवाउनका लागि अस्थायी रुपले पानी झार्न यो रकम खर्च हुने भएको हो ।
आयोजनाले ममंतका लागि प्रारम्भिक चरणमा अढाइ अर्ब खर्च लाग्ने कार्ययोजना खानेपानी मन्त्रालयमा पेश गरेका छ । कार्ययोजना अनुसार तीव्र गतिमा काम गरे चैत महिनासम्ममा अस्थायी रूपमा पानी झार्न सकिने उल्लेख छ ।

अस्थायी रूपमा बनाइएको हेडवर्क्सको दसदेखि पन्ध्र मिटर क्षेत्रमा मेलम्ची नदीले बालुवा–गिट्टी, लेदो थुपारेको छ। हेडवर्क्सलाई मर्मत गरेर चलाउन सकिन्छ भन्ने अनुमानका आधारमा कार्ययोजना पेश गरिएको छ । त्यसका लागि मेलम्ची खानेपानी आयोजनामा रहेका दुइटा अस्थायी सुरुङ मर्मत गर्नुपर्ने, हेडवर्क्स मर्मत, मोटरेबल पुल मर्मतलगायत छन् । मेलम्चीको मुख्य सुरुङमा क्षति भएको छैन । तर, अम्बाथानको २९८ मिटर लामो अस्थायी सुरुङमा लेदो थुप्रिएको छ। त्यसलाई सफा गर्नुपर्ने भएको छ ।
त्यसैगरी, २१० मिटर लामो हेडवर्क्स र डाइभर्सनबीचको अस्थायी सुरुङमा पनि लेदो थुप्रिएको छ। त्यसलाई सफा र मर्मत गरेर सञ्चालन गर्न सकिने कार्ययोजना छ।
यसैगरी, मेलम्ची छिर्ने मुख्य प्रवेश मार्गमा तीन वटा पुल, अम्बाथान र त्यसभन्दा पारिपट्टि अर्को गरेर पाँच वटा अस्थायी पुल निर्माण गर्नुपर्ने भएको छ।
मेलम्ची खानेपानी आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसार सडक विभाग र नेपाली सेना समेतको सहयोग लिएर काम गरे चैतसम्ममा अस्थायी रूपमा पानी काठमाडौं झार्न सकिन्छ ।
कार्ययोजनामा मेलम्चीलाई अस्थायी रूपमा सञ्चालन गर्ने भन्ने मात्र छ। तर, मेलम्चीको मुहानमा रहेको हिमपहिरोले थुपारेको थेग्रिनीको जोखिमबारे भने कार्ययोजनामा उल्लेख छैन।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!