शुक्रबार, असोज १, २०७८
गृहपृष्ठअर्थविद्युतको क्षेत्रमा के के भए पछिल्लो वर्ष ?

विद्युतको क्षेत्रमा के के भए पछिल्लो वर्ष ?


काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले यस वर्ष उपलब्धीमूलक काम गरेको छ । अधिकांश आयोजना सम्पन्न गरेको छ भने केही निर्माणाधिन अवस्थामा रहेका छन् ।
राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ६ वटै यूनिटबाट पूर्णक्षमतामा विद्युत उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ । यसलाई प्राधिकरणले महत्वपूर्ण सफलताको रुपमा लिएको छ ।
त्यस्तै ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन सन् २०२० नोभेम्बर ११ मा ४०० के.भी.मा चार्ज भएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा १३२ के.भी. क्षमताका ६०४.७४ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण तथा स्तरोन्नती सहितको २१३४.२० एमभिए क्षमताका सबस्टेसनको निर्माण कार्य पूरा भएको हो । प्राधिकरणले आ.व.२०७७÷७८ मा सम्पन्न गरेको २२६.५ एम.भि.ए. क्षमताका ३३÷११ के.भी.का १० वटा वितरण सबस्टेसनसहित हालसम्म कूल १९२८ एम.भि.ए.का १६१ वटा वितरण सबस्टेसनको निर्माण पूरा गरी सञ्चालनमा ल्याएको छ ।
आ.व.२०७७÷७८ मा ३३ के.भी., ११ के.भी. र ०.४÷०.२३ के.भी. वितरण लाइनहरु क्रमशः ७०९ सर्किट किलोमिटर, २८२७ सर्किट किलोमिटर र ८७१६ सर्किट किलोमिटर निर्माण सम्पन्न भई हालसम्म निर्माण सम्पन्न भएका उल्लेखित क्षमताका लाइनहरु क्रमशः ६०१९ सर्किट कि.मी., ४१,५५० सर्किट कि.मी.र १,२९,०८१ सर्किट कि.मी. पुगेको छ । साथै हाल सम्म ३,६२३ एम.भि.ए. क्षमताका ३७,१६३ वटा वितरण ट्रान्सफर्मरहरु वितरण प्रणालीमा जडान भएका छन् ।
वितरण प्रणालीतर्फ २१२.२ एम.भि.ए. क्षमता बराबरका ३३÷११ केभी सबस्टेसन, २०६६ सर्किट किलोमिटर ३३÷११ के.भी. लाइन, ८४० सर्किट किलोमिटर ११ के.भी. भूमिगत वितरण लाइन, १८९४ सर्किट कि.मी.को ४०० भोल्टको लाइन र १११७ सर्किट कि.मी.को ४०० भोल्ट भूमिगत वितरण लाइन निर्माण भइरहेका छन् । साथै ८ एम.भि.ए.को एउटा ३३÷११ के.भी.सबस्टेसनको निर्माण सम्पन्न भएको छ भने ३३ के.भी., ११ के.भी. र ४०० भोल्टेजस्तरका क्रमशः १०५ किलोमिटर, १७२ किलोमिटर र ४०० किलोमिटर लाइनको निर्माण पूरा भएको छ ।
त्यस्तै प्राधिकरणबाट १३२ के.भी., २२० के.भी. र ४०० के.भी. क्षमताका क्रमशः १०३१ सर्किट किलोमिटर, ११६५ सर्किट किलोमिटर तथा ७५६ सर्किट किलोमिटर गरी कुल २९४२ सर्किट किलोमिटर प्रसारण लाइन तथा ९,२०० एमभिए क्षमता बराबरका ग्रीड सबस्टेसनहरु निर्माण भइरहेका छन् । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरीे उपत्यकाका १३ वटा ग्रिड सबस्टेसनमा स्वचालित सबस्टेसन प्रणाली जडान गर्ने कार्य भइरहेको छ ।
मुलुकमा प्रसारण प्रणालीको पूर्वाधार विकास गर्न १९०० सर्किट कि.मी. भन्दा बढी ४०० के.भी. प्रसारण लाइन र २९० सर्किट किलोमिटर १३२ केभी प्रसारण लाइनको विस्तृत इन्जिनियरिङ तथा वातावरणीय अध्ययनको कार्य परामर्शदाताले गरिरहेको छ । त्यसैगरी आगामी ३० वर्षसम्मका लागि देशका प्रमुख शहरहरूमा पर्याप्त विद्युत उपलब्ध गराउन आवश्यक प्रसारण लाइन र सवस्टेशनको अध्ययन गर्ने कार्यसमेत परामर्शदाताबाट भइरहेको छ ।
त्यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ७.३७ प्रतिशतले ग्राहकको संख्यामा बृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ । सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहक सहित विद्युत उपभोग गर्ने कूल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ । हालसम्म कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत पुगेको छ ।
आ.व.२०७७÷७८ मा प्राधिकरणको जलविद्युत गृहबाट कूल २ अर्व ८१ करोड युनिट विद्युत मात्र उत्पादन भएको छ, जुन आ.व.२०७६÷७७ को उत्पादन ३ अर्व २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी हो । यस्तै निजी क्षेत्रका विद्युत गृहहरूबाट ३ अर्व २४ करोड युनिट प्राप्त भयो गत आ.व.को तुलनामा ८.३६ प्रतिशतले बृद्घि हो । आ.व.२०७७÷७८ मा २ अर्व ८२ करोड युनिट विद्युत भारतबाट खरिद भएको छ जुन आ.व. २०७६÷७७ को तुलनामा ६३.४५ प्रतिशतले बढी हो ।
गत आ.व.मा प्रणालीमा ८ अर्व ८७ करोड ७९ लाख ५० हजार युनिट घन्टा विद्युत उपलब्ध भयो । जुन, आ.व.२०७६÷७७ को तुलनामा १४.६८ प्रतिशतले बढी होे । कूल उपलब्ध ऊर्जा मध्ये प्राधिकरणका विद्युतगृहको योगदान ३१.६६ प्रतिशत रह्यो भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युतको योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत रहेको छ ।
आ.व.२०७७÷७८ मा कुल विद्युत खपत ७ अर्व ३१ करोड ९० लाख युनिट रहेको छ । जुन आ.व.२०७६÷७७ कोे तुलनामा १२ प्रतिशतले बढि हो ।
आ.व.२०७७÷७८ मा विद्युत चुहावट १७.१८ प्रतिशत रहेको छ, जुन आ.व.७६÷७७ को १५.२७ प्रतिशतको तुलनामा १.९१ प्रतिशतले बढी हो ।

 


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!