Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठअर्थग्रिन सिटी पार्क बगाएसँगै टुट्यो सुन्दर मेलम्चीको एउटा कल्पना

ग्रिन सिटी पार्क बगाएसँगै टुट्यो सुन्दर मेलम्चीको एउटा कल्पना


मेलम्ची ।
पर्यटनबाट समृद्धिको सपना देखेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका यतिबेला बाढीको वितण्डाले आक्रान्त छ । गएको असार १ गते इन्द्रावती र मेलम्ची नदिबाट उर्लेको बाढी मेलम्ची बजारमा पस्दा अर्बाैको क्षति भोग्नुपर्यो । अकल्पनीय रुपमा आएको बाढीले स्थानीय सरकार आइसकेपछि भएका विकास निर्माण खोलामा मिसायो । मेलम्ची नगरपालिकाले पर्यटन प्रर्वद्धनका लागि सुरु गरेको करिब ३८ करोड लागतमा महत्वकांक्षी मेलम्ची ग्रिन सिटी पार्कको नामोनिसान रहेन ।
नवलपुर हुँदै मेलम्ची पस्ने पुल छेऊमा असार १ गते दिउँसोसम्म फराकिलो समथर जमिनमा आकर्षक मन्दिर, हरियाँ बगैंचा अनि सुन्दर बाटो देखिन्थ्यो । सलल बगिरहेको इन्द्रावतीको बगर छेऊमा वरिपरी कम्पाउण्ड घेरिएको मेलम्चीको एउटा स्वर्ग जस्तै लाग्ने पार्क थियो मेलम्ची नगरपालिकाको महत्वकांक्षी योजना ग्रिन सिटी पार्क ।
असार १ गते साँझ हेलम्बु हुँदै बग्ने मेलम्ची नदि र पाँचपोखरी हुँदै बग्ने इन्द्रावती खोला एक्कासी बौलायो । दुवै खोलाको दोभान रहेको मेलम्ची बजारमा उर्लिएर बाढी पस्यो । संयौैं घरटहरा बगायो । मेलम्चीबासी खुला आकासमुनी बास बस्न बाध्य बने । अनि मेलम्चीलाई थप सुन्दरता झल्काउने र पर्यटन आकर्षित गर्ने लक्ष्यका साथ निर्माणाधिन ग्रिन सिटी पार्क एउटा कथा बन्यो । मेलम्चीवासीका सपनालाई बाढीले तुहाइदियो ।
तीन खण्डमा कार्य सम्पन्न गर्ने लक्ष्य राखी एक खण्ड निर्माण सकिएको र स्थानीयले समेत प्रशसनीय कार्य मानेको पार्क अहिले बगरमा परिणत भएको छ । असार १ गते दिउँसो सुन्दर देखिएको पार्क माथि अहिले खोला बगेको छ ।
पर्यटन प्रवद्र्धन र वातारणीय संरक्षण अभियानका लागि ग्रिन सिटी पार्क निर्माण सुरु गरिएको थियो । कुल ३८ लाख रुपैयाँ लागतमा निर्माण गरिने पार्कका लागि पहिलो खण्डामा नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिकाले १२ करोड रुपैयाँ लगानीमा सो पार्क निर्माण को सुरुआत गरिएको हो । जुन १२ करोडको पहिलो खण्डको काम सम्पन्न हुने क्रममा थियो ।
पार्क निर्माण सुरु गरिएपछि यसको गुरु योजना हेर्दै स्थानीय पनि खुशी थिए । पयर्टनबाट समृद्धिको सपना देखेको मेलम्चीले पार्क निर्माणका लागि स्थानीयको समेत साथ पाएको थियो । पार्ककै कारण थप आन्तरिक तथा बाह्य पर्यटनको अपेक्षा राखेका स्थानीय पनि अहिले बाढीले आफ्नो घर बगाएको जस्तै पार्क बगाउनुको पीडामा छन् । पार्क बगाएपछि सुन्दर मेलम्चीको एउटा कल्पना टुटेको स्थानीय प्रकाश दाहाल बताउँछन् ।
ग्रिन सिटी पार्क निर्माणका लागि केबी एन्ड स्याङबो निर्माण सेवा जेभी र श्री खाम्पाचे शेर्पा निर्माण सेवासँग ०७४ जेठ ११ गते दुईपक्षीय सम्झौता भएको थियो । काठमाडौंबाट मेलम्ची भौगोलिक रुपमा एकदमै नजिक छ । सवारी साधनमा दुई घन्टाको यात्रापछि पुग्ने भएका कारण पर्यटक आकर्षित गर्न फरक शैलीमा पार्क निर्माण सुरु गरिएको थियो । इन्द्रावती खोलाको किनारमा रहेको खालि जग्गामा ग्रिन सिटी बनाउन पाँचवर्षे योजना बनाएको हो । यसका लागि नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै जाने र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो ।
पार्कको पहिलो चरणमा कम्पाउण्ड,गेट, भ्यूटावर, हेलिप्याड, मन्दिर, बगैंचा, पेटी आदि निर्माण भइसकेको थियो । इन्द्रावती नदि किनारबाट तटबन्ध बनाई खोला भन्दा करिब ३ मिटरको उचाईमा पार्क निर्माण हुँदै गरेको नगरपालिकाका इन्जिनियर जितबहादुर कार्की बताउँछन् ।
नदी किनारमा पार्क हुँदा वर्षाका बेला बाढीबाट जागाउने नदी नियन्त्रण कार्य सम्पन्न नगरिएको हैन । तर, अकल्पनीय बाढीले पाकृ पूर्ण रुपमा क्षति गरायो ।
मेलम्ची नगरपालिकाको पार्क नमूना बनाउने योजना थियो । काम पनि यही अनुरुप भइरहेको थियो । व्यवस्थित ग्रिन सिटी पार्क बनाई पाँचवर्षे योजना भएका कारण यो पार्क आफैंमा उदाहरणीय हुने मेलम्चीको सपनालाई एकै झट्काको बाढीले निलिदिएको हो ।
मेलम्ची क्षेत्रको पर्यटन प्रवद्र्धनमा यो पार्क नयाँ हुने भएकाले नगरपालिकाले पार्कबाट आम्दानीको सम्भावनासमेत देखेको थियो । रंगशाला, रेष्टुरेण्ट, स्वीमिङ पुल आदि हुने भएकाले यो पार्कबाट आम्दानी हुने र नगरवासीले समेत रोगजारी पाउने कल्पना गरेको नगरपालिकाका मेगर डम्बरबहहादुर अर्यालले बताए ।
मेलम्ची आफैंमा प्रसिद्ध ठाउँ हो । राजधानीबाट टाढा नभएका कारण पार्कले सिन्धुपाल्चोकमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने अपेक्षा थियो । पार्क निर्माणपछि स्थानीयले रोजगारी पाउनुका साथै नगरपालिकाको राजस्व समेत वृद्धि हुने परिकल्पनाका साथ पार्क निर्माण गरिएको हो ।
पार्कमा स्वदेशी तथा विदेशी पर्यटकको ध्यान आकर्षित गर्ने गरी बगैंचा निर्माण, बालबालिकाका लागि चिल्डेर्न पार्क, पिकनिक स्पट, शिवको मन्दिर समेत निर्माण गरिने गुरुयोजनामा उल्लेख छ । पार्कमा फुटबल ग्राउन्ड, भलिबल, बास्केटबल, स्विमिङ पुल समेत हुने र अधिकांश काम भौतिक तथा पूर्वाधार निर्माण सकिएको मेयर अर्यालले जानकारी दिए ।
ग्रिन सिटी पार्क निर्माण सम्पन्न भएपछि नगरपालिकाले निश्चित शुल्कमा प्रवेशाज्ञा दिने योजना बनाएको थियो । अब बाढीले संरचनाको नामोनिसान मेटाएपछि फेरि यस्तै पार्क निर्माण गर्ने योजना नहुन सक्ने नगरपालिकाले जनाएको छ । पार्क नदिमा मिसिएपछि मेलम्ची नगरपालिकाको मात्रै नभई पर्यटनबाट समृद्धिको सपना देखेका स्थानीयको सपनाको एउटा भ¥याङ भाँचिएको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!