Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठअर्थमध्यभोटेकोशीको आइपीओ स्थगित

मध्यभोटेकोशीको आइपीओ स्थगित


चौतारा । सिन्धुपाल्चोकवासीका लागि खुलाइएको मध्यभोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आइपिओ) स्थगित भएको छ । सिन्धुपाल्चोकमा आजबाट निषेधाज्ञा जारी गरिएकाले भएकाले आइपिओ तत्काललाई स्थगित गर्ने निर्णय भएको हो ।
कोरोना संक्रमणको समयमा कम्पनीले खुलाएको आइपीओप्रति जिल्लामा टिका टिप्पणी भएको थियो । आइपिओ भर्न गाउँ गाउँबाट स्थानीयवासी सवारी साधन प्रयोग गरेर बैंकमा आउने क्रम बढेकाले संक्रमण फैलने त्रास बढेको थियो । निषेधाज्ञा भएकै कारण तत्काललाई बन्द गरिएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
जिल्लाको आयोजना प्रभावित क्षेत्र र जिल्लाबासी सबैका लागि आइपिओ खुलेको थियो । अवस्था केही मत्थर भएपछि फेरि निष्कासन हुने कम्पनीले जनाएको छ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १०.५ अर्थात् ६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गरेको थियो । जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका १ र ५ (साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका ७ र ८ (साविक घुम्थाङ्ग गाविस) र साविक मानेश्वरा गाविसमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन भएको थियो ।
यस आईपिओमा आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि दिन सकिने छ । आईपिओमा छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गते सम्म आवेदन दिन सकिने गरि आइपिओ कम्पनीले निस्कासन गरेको थियो । शेयर भर्नका लागि कम्पनिले विभिन्न बैंकका ४३ वटा शाखाहरु तोकेको थियो ।

आयोजनाको अद्यावधिक लागत अनुमानको रकम रु १५ अर्ब ०३ करोड ०२ लाखको ९० हजार आधारमा २०७७ चैत्र मसान्तसम्म निर्माण अवधिको ब्याजबाहेक रकम रु ८ अर्ब २६ करोड ५ लाख २९ हजार ३९ रुपैया खर्च भएको छ । सो अनुसार आयोजनाको वित्तीय प्रगति प्रतिशत ५४.९६ प्रतिशत रहेको । साथै आयोजनाको भौतिक प्रगति समग्रमा ७० प्रतिशत रहेको छ ।

आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!