Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठअर्थअनुदानपछि खर्कमा चौंरीपालकका खुशीका गीत

अनुदानपछि खर्कमा चौंरीपालकका खुशीका गीत


भोटेकोशी । जीवनमै विद्यालय नटेकेकी भोटेकोशी गाउँपालिका वडा नं. ३ कि ४० वर्षिया डोमा शेर्पाले चौरीसँग रमाएकोे दश वर्ष बित्यो । वर्षदिनमा नौ महिना चौरीको स्याहार्दै लेकखर्कमा बसोबास गर्ने शेर्पा अहिले चौरी पाल्नमा झनै उत्साहित भएकी छिन् ।
चौरी पाल्न थालेदेखि पहिलो पटक इटालियन संस्था एशियन नेपाल र बुद्धिष्ट संस्था सेण्डाकले अनुदान र गाउँपालिकाले बिमा गरिदिएपछि उनीसहित चौरी पालकहरु हौसिएका छन् । ‘चौरी डिमु हेर्दै खर्कमा, गुन लायो हाम्लाई मर्कामा, कस्लाई सुनाउ यो गीत म ।’ भोटेकोशीको लेकाली भेगको तल्लो पहाडी इलाकाको गोठछेउ परम्परागत शेर्पाली टुंगुना बजाउँदै शेर्पा भाकामा मिठो स्वरले गीत गाइरहेकी थिइन् हामी पुग्दा । संयुक्त रुपमा चौरी पालक कृषकलाई दुई संस्थाले ५३ लाख अनुदान र गाउपालिकाले निशुल्क बिमा गरिदिएपछि हर्षमा टुंगुनाले गीत गाएर धन्यवाद दिने गरेको उनले सुनाइन् ।
शेर्पाजस्तै खर्कभरका चौरी पालक अनुदान र बिमाले खुबै हौसिएर यस्तै गीत गाउने गर्छन् । ५३ लाखअन्र्तगत ६० चौरीका लागि ३३ लाख र खानेपानीसहित अन्य व्यवस्थापनका लागि २० लाख अनुदान पाएपछि हर्षित चौरी पालकले आफुहरुलाई सरकारले सम्झिएको महसुस गरेका छन् । ‘कतिले गाउपालिका पुगेर र संस्थाका अगुवालाई टुंगुना बजाएर सम्मान गरे, म चाही गोठबाटै अतिथिलाई खुशीको गीत सुनाएर बाड्छु ।’ उनले भनिन् । चौरी गाईबाट उत्पादित दुधबाट छुर्पी, चिजजस्ता वस्तु बेचेर ऋण तिर्दा बाँकी बसेको आम्दानीले छोराछोरीलाई पढाउँछिन् । भोटेकोशी गाउँपालिकाको वडा १ लिस्तीकोट, फुल्पिङकट्टी र मार्मिङको लेकाली क्षेत्रमा चार सय चौरीका गोठ छन् ।
पहिले झण्डै हजारको संख्यामा थिए । पाकाकै भरमा चौरी पालन भइरहेकोले केही वर्षयता लेकाली भेगमा चौरी पालकको संख्या दिनहँु घट्दै आएको छ । गौरीशंकर हिमश्रृंखलाको काखको तल्लो भुभागमा डिमु पालिरहेका हेलम्बु १ का जम्लीङ शेर्पा अनुदान र बीमाको सुविधाप्रति सन्तुष्ट भएर गीत गाउँछन् । ‘हामी लेकका गोठालाको बारेमा कहिल्यै सरकारले सोचेकोजस्तो लागेको थिएन्, अहिले केही सम्झिएको महसुस गरेका छौ, एकदमै खुशी लागेको छ ।’उनले भने । ५५ वटा डिमुमा ठुलो नभएसम्म बाघले खाने डर रहने भएकाले सचेत भएर रेखदेखमा जुुटिरहेका उनी जिल्लामा दुर्लभ बन्दै गइरहेको याकजस्तै हिमाली जनावार ‘डिमु’ स्याहारेर उनको दैनिकी कट्छ । छुर्पी र घ्यु बाट मात्रै दुई लाखभन्दा माथि कमाइसकेका उनले डिमु ठुलो भइसकेपछि राम्रो आम्दानी हुने गरेको उनको कथन छ । भोटेकोशी वडा ३ को अन्तिम गाउ“ टसीथाङभन्दा माख्लो खर्क सिनाम्जो डाँडाभर दुई वटा गोठमा २५ वटा चौरी गाई छन् । भोटेकोसी ४ फुल्पिङकट्टीको माथिल्लो पांखाल खर्कका गोठाला दुई दर्जनभन्दा बढी चौरी गोठाला प्रत्येक दिन चौरीगाई र डिमु चराउन माथिल्लो भुभाग जंगलसम्म पुग्छन् । लेकाली जंगलमा चौरी,याक र डिमु पालनमा जिवन गुजारेका कृषकको आम समस्यालाई अध्ययन गरेर भोटेकोशी गापाले पहिलो पटक दाताको खोजी गर्यो ।
भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलकाअनुसार आहिले लिस्तीमाथि छागमबगामको चौरी खर्कमा ६० गोठ थपि“दैछन् । ‘एशियन नेपाल र बुद्धिष्ट संस्था सेण्डाकले अनुदान दियो, हामीले सम्पूर्ण चौरी पालकको यकिन विवरण निकालेर बिमाको प्रबन्ध मिलाएका छौ ।’ उनले भने । चौरी पालकको कठिनाईलाई बुझेर उत्पादित चौरी ,डिमुको दुधजन्य सामग्रीको बजारिकणको लागि लेकाली खर्कमै संकलन केन्द्र पनि स्थापना गरिएको उनले उल्लेख गरे ।
‘प्रत्येक कृषकको गोठमा रहेका चौरीको बिमा र औषधोउपचारको लागि तैयार छौ ।’ उनले भने । चौरी खर्कको व्यवस्थापन र उत्पादित सामगा्रीको बजारिकरणको लागि स्थापना गरिएको चौरी संरक्षण समितिले कुल आयको ६० प्रतिशत कृषकलाई र ४० प्रतिशत कोषमा राखेर पुनः किसानकै लागि शेयरमा परिणत गर्ने योजना पनि बनाएको उनले प्रष्ट्याए । चौरी,डिमुलाई जडिबुटी प्रयोग हुने भएपनि पालकको स्वास्थ्यलाई ध्यानमा राखेर पायप जंगलक्षेत्रलाई तोकेर अस्थायी स्वास्थ्य क्याम्पको योजना बनाइरहेको उनको भनाई छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस