
चाैतारा । काकाकुल काठमाडौंवासीका लागि पानी लैजाने बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा भोलि (सोमबार) देखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक प्राविधिक सम्पूर्ण काम पूरा सँगै पानी हालेर परीक्षण गरिन लागिएकाे हाे ।
आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न सुरु गरिने छ । आवश्यक प्राविधिक परीक्षण सकेर सुरुङमा पानी भर्न भोलिबाट सुरु गरिन लागिएकाे हाे ।
भाेलि खानेपानी मन्त्री मणि थापाकाे उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो । तर, हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं. १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञहरुको टोलीले सुरुङ, मुहानस्थल, गेट लगायतका संरचनाको पुनः जाँच गरेको थियो । ‘विशेषज्ञहरुले निरीक्षण गर्नुभयो, उहाँका महत्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार भयो,’ आयोजनाका कार्यकारी निर्देश तिरेश खत्रीले भने ।
विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाइएको खत्रीले बताए । परीक्षणका क्रममा हेलिकप्टर स्ट्याण्डबाइ (तयारी) राखिएको छ । उद्धार योजना बनाएर धुलिखदेखि काठमाडौँस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ । खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । सुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उनले बताए ।
दैनिक १७ करोड लिटर पानी ल्याउने सुरुङको क्षमता ६ हजार लिटर प्रतिसेकेण्ड (६ क्यूबिक मिटर प्रतिसेकेकेण्ड) छ । तर पहिलो चरणमा क्षमताको तीन प्रतिशत मात्र अर्थात् तीन सय लिटर प्रतिसेकेण्ड पानी छाडिने खत्रीले बताए ।मेलम्ची सुरुङ दैनिक ५१ करोड लिटर पानी ल्याउन सकिने गरी बनाइएको छ । सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी नौ किलोमिटर सुरुङ खनी हालकै मुहानमा मिसाउने योजना छ ।
हाल दैनिक १७ करोड लिटर (२ क्यूबिक मिटर प्रतिसेकेण्ड अर्थात् दुई हजार लिटर प्रतिसेकेण्ड) ल्याउन सकिए पनि कूल क्षमता दैनिक ६ हजार लिटरको तीन प्रतिशत पानी मात्र छाड्नु पर्नाको कारण प्रस्ट्याउँदै खत्रीले भने, ‘पहिलोपटक पूर्ण रुपमा पानी भर्न लागिएको छ, त्यसको असर के कस्तो पर्छ भनी क्रमशः पानी छाड्न लागिएको हो ।’
कति पानी खोलाबाट मुहान हुँदै सुरुङमा पठाइयो, कति पानी सुन्दरीजलमा झर्यो, पानीको गुणस्तर के कस्तो रह्यो लगायतका यावत् परीक्षण गर्नका लागि सुरुङमा पानी क्रमशः भर्न लागिएको उनले बताए । खत्रीका अनुसार आगामी चैत २५ गतेसम्म सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको जलाशय भरिनेछ । जलाशय पनि भरिएपछि उपत्यकाको जनताको घरधुरीमा पानी कहिले छाड्ने भन्ने विषयमा भने छलफल भइरहेको खत्री बताउँछन् ।
उनका अनुसार जनताको घरमा पानी छाड्ने दुईवटा विकल्पबारेमा छलफल भइरहेको छ । पहिलो सुरुङ भरिएको लगत्तै अर्थात् आजको १६ दिनपछि तत्काल उपभोक्ताको घरमा पानी छाड्ने । अर्काे, तुरुन्तै पानी छाड्नुभन्दा चेकजाँच (पाइप खाली गर्दै पानी छाड्दै) गरेर । चेकजाँचको विकल्पमा गइयो भने आगामी वैशाखमा उपभोक्ताका घरमा पानी पुग्छ ।
मेलम्ची दुई वर्षअघि नै पूरा हुन लागिसकेको थियो । अघिल्लो ठेकेदार सीएमसीले करिब ९७ प्रतिशत काम पूरा गरेको थियो । उसले आयोजनाले दिनुपर्ने भुक्तानी रकम (३६ करोड रुपैयाँ) नपाएका कारण काम छाडी हिंडेको थियो ।अघिल्ल्ला सचिव गजेन्द्र ठाकुर र खानेपानी मन्त्री बिना मगरले ठेकेदार सीएमसीले पाउनुपर्ने रकम रोकेका थिए । सीएमसीले दाबी गरेको ६५ करोडमध्ये विवाद समाधान बोर्ड (डीआरबी) ले ३५ करोड रुपैयाँ आयोजनाले दिनुपर्ने निर्णय गरेको थियो । काम गरिरहेको ठेकेदारलाई भगाउँदा पछिल्लोपटक मेलम्ची दुई वर्ष पर धकेलिएको हो ।
मेलम्ची खानेपानी आयोजना पूरा भएमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउन सकिन्छ । उपत्यकामा खानेपानीको माग दैनिक ४१ करोड ५० लाख लिटर रहेको अनुमान छ । त्यसमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले दैनिक १० करोड ७२ लाख लिटर मात्र वितरण गर्छ । यसमा २० प्रतिशत चुहावट छ ।
क्याटेगोरी :
अर्थ,
समाचार
ट्याग : #breaking