Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×

ह्वील लक


२०७७ साल मंसीर ५ गते अपरान्ह ३ बजे चावहिलको हेल्पीङह्याण्स अस्पताल अगाडी रहेको सडकको मूख्य लेन भन्दा बाहिर सवारी साधन पार्किङ गरेर अस्पताल छिरें । अस्पतालमा जन्मिएकी ४ दिनकीभान्जीलाई गृहप्रवेश गराउने उद्देश्यका साथ गएको थिएँ । अस्पतालको कागजी प्रक्रिया पूरा गर्न केही समय लाग्यो । अब गाडी अस्पतालको गेटसम्म ल्याउन प¥यो भनेर पार्किङतिर गएँ । गाडी स्टार्ट गरेँ, अगाडी बढाउन खोजे केहीअवरोध महशुस भयो । केही आवाजआए जस्तो ग¥यो । फेरी पछाडी लान खोजेँ, गाडीको पूर्ण रुपमा केहीमा अड्किएझैं भयो । त्यति नै बेला अगाडीबाट एकजना मानिसले गाडीमा ह्वील लक गरेको छ भनेर सूचना दिए ।

बाटोमा वेवारिसे तरिकाबाट पार्किङ गरेको गाडीमा ह्वील लक गरेको मैले देखेको थिएँ । ट्राफिकले ड्राइभरको सिट तिरको सिसामा सम्पर्क नम्बर भएको स्टीकर टाँसि राखेको हुन्थे । मैले हत्तपत्त सिसामा हेरेँ तर त्यहाँ त्यस्तो सम्पर्क नम्बर भएको कुनै स्टीकर थिएन । म अलमलमा परें । अस्पतालको गेटतिर हेरें भान्जीसहित सबै जना बाटोमा निस्की सकेका थिए । विस्तारै गाडीसम्म आएर बस्नको लागि इसारा गरें । सामानहरु डिकीमा राखें । यसो टायरतिर हेरेको हावा खुस्कीरहेको थियो । मैले थोरै अघिपछि लैजाने प्रयत्न गर्दा एयर भल्भ भाँचिएछ ।

त्यही ठाउँमा २ दिन पहिले बहिनीलाई भेट्न जाँदा गाडी राखेको थिएँ । करीब १ घण्टा अस्पतालमा बसेर फर्कदा केही समस्या भएन। त्यहाँ पार्किङ निषेधको सूचना पनि छैन । अरु धेरै ट्याक्सी लगायतको नीजी सवारीहरु पार्किङ गरिरहेको पनि थियो । यसले सडकको नियमित यातायातलाई केही असर पारेको पनि थिएन । म यदि कुनै विकसित देशको नागरिक हुन्थे भने स्पष्ट सूचना नदिएर ह्वील लक गरेकोमा उजुरी गने अधिकार मलाइ प्राप्त हुने थियो तर मेरो देशमा यो अधिकार संविधानमा मात्र सीमित छ । संविधान जसले बनाए उनैले त संविधान सो अन्तर्गतको ऐन
थरीथरीका मानिसको थरीथरीका कुरा सुन्दै म निःशब्द बसीरहेको थिएँ । मेरी श्रीमतिले ट्राफिक प्रधान कार्यालयको टोल फ्रि नम्बरमा कल गरौं न हजुर भने पछि मैले १०३ मा फोन गरेर आफ्नो समस्या अवगत गराएको केही समय भित्र एकजना ट्राफिक हातमा अर्को ह्वील लक बोकेर आए । प्रहरी जवानलाई देखेर कुनै समय मासिक एक दिनको तलब चन्दा नदिएको भनेर शिक्षकहरुलाई अपहरण गर्ने र चन्दा बुझाउन बाध्यपार्ने माओवादी छापामारको यादआयो । यी दुबैको हिडाई र शारीरिक हाउभाउ र दम्भ उस्तै उस्तै थियो । त्यस बेलाका मैले देखेको माओवादी छापामार अहिले बौद्ध दर्शन पढेर लामा बनेका छन् । बौद्ध दर्शनको प्रवचन दिन्छन् तर मलाई अझै पनि यिनी माथि विश्वास छैन । यी भिक्षुक रुपमा कसैलाई ठगि रहेका होलान भन्ने लाग्छ । मेरो सोचाईमा सत्यता नहोला र नहोस भन्ने शुभेच्छा छ । त्यसबेला सक्कली र नक्कली माओवादी चिन्न गाह्रो थियो । अहिले सक्कली माओवादी चिन्न गाह्रो छ ।
संयमित हुँदै मैले ह्वील लक खोलिदिन अनुरोध गरें । गाडीमा विरामी भएको जानकारी गराएँ तर उनी पखपख भन्दै नजिकै यात्रु ओराल्दै गरेको बसतिर हान्निए र बसको चाकललाई पनि चिट थमाए । फेरी हान्निएर आए र म भन्दा अगाडी रहेको माइक्रो बसलाई पनि चिट थमाए । यी दुबै चालक रीसले रन्थनिए । यत्तिकैमा धेरै गाडी चालकहरु जम्मा भैसकेका थिए । ट्राफिक प्रहरीको ज्यादतीको बारेमा मसँग दुःख पोखिरहेको थिए । म “विचरा” के पो गर्न सक्थेँ र ?
ट्राफिक मेरो नजिकआए । एक हजारको चिट थमाए।

मिल्छ भने अलि कम गरि दिनु न सर, मैले आफ्नो गल्ती नै भएझैं अनुरोध गरेँ ।
मिल्दैन, ह्वील लकको रेट नै हजार हो । उनीले बोलेको यत्तिहो । उनी बाइक स्टार्ट गरे,  हुइँकिए ।
मैले ह्वील लक खुलेपछि डिकीबाट नयाँ टायर झिकेर फिट गरेँ अनि चुपचाप बहिनीलाई जोरपाटीको कोठासम्म पु¥याएँ अनि म र मेरी श्रीमती आफ्नो वासस्थान तिर लाग्यौं । मेरी श्रीमती त्यही ट्राफिकको ज्यादतीको बारेमा गुनासो गरि रहेकी थिइन तर मैले सोचे मेरै गल्ती होे । यदि कुनै सूचना छैन भने त्यहाँ पार्किङ गर्नु हुदैन किन भने यो नेपालको नियम हो । हामी पाँचजना मध्ये भान्जी त ४ दिनको नवजात शिशु । बाँकी चार जनामा पनि म मात्रै हो यो गाडी चलाउने सीप भएको । हुन त पाँचै जना ड्राइभर भए पनि के पो गर्न सकिन्थ्यो र ?चालक धेरै भएर ह्वील लक भएको गाडी चल्ने हो र ?ह्वील लक खुल्ने हो र ?

ह्वील लक लागे पछि गाडी करीव  ४ इन्च जति अगाडीप छाडी गर्न सक्ने रहेछ । अलिअलि गुडेजस्तो मात्र लाग्ने घुस्याहा कर्मचारीहरु भएको कार्यालय जस्तो । गाडीका हर पार्टपुर्जाले काम गरेको छ भनेर थाहा पाउनका लागि जडान गरिएको टायरहरु सररर गुड्नु पर्छ । ह्वील लकका कारण टायर सररर नगुडेपछि पूरै गाडी सकुसल भए पनि स्थिरतबाट गति निस्किएन । चालकले लगाउने ब्रेक पनि ह्वील लक नै हो तर यो ह्वील लक उसको हातमा हुन्छ आवश्यकतानुसार प्रयोग गर्न सक्छ तर आज मेरो गाडीमा लागेको ह्वील लक अरु कसैले लगाइदिएको छ । यसको साँचो पनि मेरो हातमा छैन । गाडी स्टार्ट हुन्छ तर गुड्दैन । अस्थिरता सहितको स्थिर देश जस्तै ।

मानिसहरुमा कहिले कहिले गाडीको ह्वील लक भए जस्तै वील लक हुने रहेछ । सबै ठीकठाक छ तर जीवनमा न गति न प्रगति । जीवनमा गति लिनका लागि वीलपावर (तिव्र इच्छाशक्ति) ले गाडीको ह्वीलले जस्तै काम गर्छ । स्वस्थ देखिन्छ, क्षमतापनि छ तर केही गर्दैनन् । देखिने गरी केही काम हुँदैन ।ह्वील लक भएको सिस्टम र वील लक भएको कर्मचारी बसेको संस्था पनि ह्वील लक भएको गाडी जस्तै हुने रहेछ अलि अलि हल्लिन्छ तर चल्दैन । ठूला सपना, क्षमता भन्दा बढी खर्च, विलासी जीवन, ज्ञान तथा सीपको अभाव आदिले जीवनको ह्वील लक गर्ने रहेछ, जीवन छ तर गति र प्रगति छैन ।असफल व्यावसायीहरु जस्तै, व्यावसायिक मानिसहरुले आर्थिक प्रगति गर्न आर्थिक सिद्धान्त र पद्धतिलाई राम्ररी चालउन जान्नु प¥यो । अन्यथा मैले गाडी चलाउन जाने जस्तै होला अरुले नै ह्वील लक गरिदिए भने व्यासाय पनि मेरो गाडी जस्तै हुन्छ, हल्लिन्छ मात्र गुड्दैन । लगानीको लेखा समिकरणमा पुँजी भन्दा दायित्व बढी भएर ह्वील लक भएको छ भने वासलातत ठूलै बन्छ तर नाफा–नोक्सान खाताको गतिमा प्रगति देखिदैन । वासलात त देखाउने दाँत न हो गाडी जस्तै, व्यावसायको गति बढ्न त नाफा–नोक्सान खाताको गति सकरात्मक रुपमा अघि बढ्न प¥यो ।

मलाई लाग्छ उत्पादनलाई विद्यमान शिक्षा प्रणालीले र विदेशबाट गरिने आयातले ह्वील लक गरेको छ । देशलाई भ्रष्टाचारले ह्वील लक गरेको छ । देशको लागि सुहाउँदो सहकारी अर्थतन्त्रलाई राजनीतिले ह्वील लक गरेको छ । सरकारलाई आसेपासे कार्यकर्ताले ह्वील लक गरेको छ । समग्रमा देशलाई विदेशी शक्तिले ह्वील लक गरेको भनेर भनेको सुनिन्छ तर मेरो विचारमा समग्रमा देश निर्माण गर्ने नेताहरुमा वील लक भएको छ । ह्वील लक अरुले गरिदिने रहेछ भने वील लक चाहीआफैंले । वील पावर ह्वील लक खोल्ने साँचो जस्तै हो ।स्थानीय निकायहरुमा वील पावर हुनेहरुले उदाहरणीय काम गरेर देखाएको समाचारहरु सुनिएकै छ । कसैले आएर लक खोलि देला भनेर पर्खिने आसे बानीवा पर निर्भरता पनि हाम्रो ह्वील लक हो। तसर्थ अव वील पावर बढाएर देशमा लागेको ह्वील लक खोलिदिने हो भने देश समृद्ध बन्छ र हामी नेपाली पनि सुखी हुनेछौं । यसका लागिआफ्नै देशको स्रोत पहिचान र परिचालन गरिनु पर्दछ । पहिले वील लक खोल्ने हो भने हाम्रो सोचाई, गराई र भोगाईमा लागेका ह्वील लक खुल्नेछ ।

 

भुपेन्द्र बिक्रम थापा


क्याटेगोरी : ब्लग / विचार


तपाईको प्रतिक्रिया दिनुहोस