Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठब्लग / विचारकोरोनाको ‘फायर बल’बाट निस्केर पाँच पोखरी पुग्दा

कोरोनाको ‘फायर बल’बाट निस्केर पाँच पोखरी पुग्दा


सुरज पौडेल

सन् २०१९ को नोभेम्बर महिनाबाट सुरु भएको कोरोना महामारीको  वर्ष दिन पुग्नै लागेको थियो सायद। लाग्ला… लाग्ला…भन्ने डरैडरका बीच कोरोना भाइरसबाट संक्रमित हुन पुगें। पोजेटिभ आएको कुरा बेलुकी ५ बजेतिर मात्र थाहा भयो। आफू डेरामा बस्ने मान्छे¸ डेरामै बसौं कि कता जाउँ? रातभर अनेक प्रश्नहरु खेले। बिहानसम्ममा सशस्त्र प्रहरीको कोभिड विशेष अस्पतालमा बस्ने प्रबन्ध मिल्यो र १४ दिन त्यतै क्वारेन्टाइन बसियो। राम्रो सेवा र उपचारका लागि सशस्त्र प्रहरी अस्पतालप्रति कृतज्ञ छु।

सामान्य ज्वरो¸ टाउको दुखाइ¸ शारीरिक थकानका बाबजुत पनि आफन्त¸ इस्टमित्रहरु र साथीभाइहरुसँगको निरन्तरको सम्बाद र मायाले कोरोनालाई मानसिक रुपमा पहिले नै जितिसकेको थिएँ। शारीरिक रुपमा पहिला जस्तै हुन केही समय लाग्यो।

हामी वर्षको कम्तीमा एकपल्ट हिमाली भेगसम्म पुग्ने गर्छौ। अहिले कोरोनाले पर्यटन क्षेत्र निकै प्रभावित बन्न पुगेको छ। तथापि धेरै टाढा जान नसकिएता पनि काठमाडौं वरपरका सुरक्षित र रोमान्चक स्थलको खोजी गर्दै जाँदा पाँच पोखरीको प्रसंग आयो र हानिए त्यतैतिर।

कोरोनाले सबैभन्दा बढी प्रभावित काठमाडौंबाट बाहिर निस्कनु पनि एक किसिमको रमाइलो अनुभव हुने रहेछ। १४ दिन क्वारेन्टाइनमा बस्दा कहिले निस्कौला जस्तो भएको थियो।

घुम्नका लागि नेपाल एकदमै सस्तो ठाँउ हो। कतिपय धेरै पैसा खर्च हुन्छ होला भन्ने सोचले घुम्न जान हिचकिचाउने गरेको पाएको छु। म पहिलो पटक अन्नपूर्ण आधार शिविर जाँदा जम्मा तीन हजार खर्च भएको थियो। अन्नपूर्ण सर्किट गर्दा जम्मा नौ हजार। यसपटक पाँच पोखरी जाँदैछु।

मसँगै साथी निरन्जन छन्। संयोगवश, दुबै जनाले भर्खरै रोयल इन्फिल्डको बाइक किनेको थियौं। शुक्रवारको दिन बेलुकी ५ बजे हाम्रो यात्रा शुरु भयो। चाबहिलको बाटो हुदै साँखुबाट मेलम्ची पुग्दा रातको आठ बज्यो। भोक लागेकोले रेष्टुरामा गयौं। भित्र पस्दा त अचम्म। १२/१५ जना जति युवाहरु मजाले बियर पिउँदै आइपिएल हेर्दै रहेछन्। कोरोनाको यस्तो समयमा पनि जमघट र निसंकोच रुपमा रमाइरहेका युवाहरुलाई देखेर एक मनमा अफ्ट्यारो पनि लाग्यो। काठमाडौंमा जसरी बाहिर मानिसहरुले कोरोनालाई गम्भीर रुपमा लिएका रैनछन् भन्ने पनि लाग्यो। हामी २ जना कुनाको टेबलमा गएर केही खानेकुरा खायौ र गन्तब्यतिर लाग्यौ।

लगभग अध्याँरो थियो वातावरण। मेलम्चीको पुल तरेर कच्ची बाटौ हुँदै हामी भोताङतिर उक्ल्यौं। भोताङमा रातको ठीक १२ बजे पुगियो। दिपेन्द्र तामाङ भन्ने साथीको घरमा। राति आमा उठ्नुभयो र पानीको व्यवस्था गर्नु भयो। बिहान ५ बजे हिड्ने योजना बनाइयो तर उठ्दा ६ बज्यो। ६ बजे नै आमाले १ थरमस चिया र २ वटा कप ल्याएर “ल चिया खाउ नानी हो” भन्नुभयो। यसरी एक थरमस चिया हाम्रो लागि आएको पहिलो अनुभव थियो। हामीले एक/एक कपमात्र चिया पियौ। फेरि आमाले एकएक गिलास दुध दिनु भयो।

भोताङबाट पाँच पोखरी भएको स्थान स्पष्ट देखिने रहेछ। कति समय लाग्छ होला भनेर सल्लाह गर्‍यौं। साथीको वुबाले पाँच पोखरी जानेमध्ये ५ प्रतिशत मात्र एकै दिनमा भोताङबाट हिडेर पोखरीमा पुग्छन् भन्ने कुरा गर्नुभयो।

ती ५ प्रतिशत को हुन्?

‘भरियाहरु।’

हामी पनि ५ प्रतिशतभित्र पर्न पाए हुने भन्ने हुटहुटी जाग्यो। भोताङबाट ८ बजे बाट हाम्रो पैदलयात्रा सुरु भयो। भोताङबाट देउराली हुँदै टुप्पी डाँडासम्म पुगियो। त्यहाँ एउटामात्र होटल रहेछ।

टुप्पी डाँडोमा प्राय जसो घुम्न आउने मानिसहरुको पहिलो रातको बसाइ त्यही हुने रहेछ। देउरालीबाट करिबकरिब डेढ घण्टामा टुप्पी डाँडा पुगिन्छ। तर पर्यटकहरुको आवागमन कम हुने भएकोले होला त्यो इलाका नेपालका अन्य पर्यटकीय स्थलको जस्तो पूर्वाधारहरु पर्याप्त नरहेको भान भयो। टुप्पी डाँडाबाट करिब ५ घण्टाको दुरीमा मात्रै अर्को होटल रहेको कुरा थाहा पाइयो र त्यही टुप्पी डाँडामा खाना खाने भनियो तर त्यो होटलमा खाना रहेनछ। विकल्प, आँफैसँग भएको एक पोका बदाम र एङ्क पोका दालमोट अनी बोत्तलको एक लिटर पानी। त्यही खाँदै खाँदै उकालो लागियो। मिलेको पहाडी धरातल¸ ढुङ्गालई मिलाएर छापिएको गोरेटो बाटो र बाटोबाट देखिने हिमालका श्रृङ्खलाहरु त्यस बाटोका मुख्य विशेषता थिए। त्यति लामो बाटोमा पनि त्यस्तो व्यवस्थित बाटो देख्दा पाँच पोखरीको प्रचुर पर्यटकीय सम्भावना रहेको भान हुन्छ। ५ घण्टाको अनवरत यात्रा पश्चात हामी नोस्याङ्पाटी भन्ने स्थानमा आइपुग्यौ। नोस्याङपाटी ३ हजार सात सय मिटरको उचाइमा रहेको छ। यो एकदमै रमणीय र सुन्दर ठाँउ हो। नोस्याङपाटी आइपुग्दा साढे तीन बजेको थियो। चाउचाउ पकाउन लगाएर खाइयो। चाउचाउमा चौरीको घ्युले फरक स्वाद दियो।

त्यहाँबाट पाँच पोखरी २ घण्टाको दुरीमा पर्दछ। स्वास्थ्यको हिसाबले नोस्याङपाटी नै बस्नु पर्ने हो। किनभने पाँच पोखरी ४ हजार एक दुई सय मिटरको उचाइमा पर्ने भएकोले लेक लाग्ने सम्भावना हुन्छ। तर पनि हामीले माथि नै जाने निर्णय गर्‍यौ।

बाटो सम्झँदा अझै पनि रमाइलो लाग्छ। बाटोमा सूर्य अस्त हुने समय पर्यो। हामी लगभग लगभग ४ हजार मिटरको उचाइमा थियौं¸ समय साढे ५। एकाएक बादल खुलेर आयो¸ उज्यालो भयो¸ बादल त हामी हिड्ने बाटोको समानान्तर भएर पर क्षितिज सम्म फैलीयो। कस्तो मनोरम। मैले यस्तो कहिल्यै देखेको थिइनँ।

हाम्रो दिनभरको थकाइ ए मिनेटमा समाप्त भयो। सूर्य अस्त हुन लाग्यो। बादल भरी सुनौलौ घेरा बन्यो। सुनौलो बादलको घेरा¸ सुनौलो सूर्य अनि सूर्यसम्म फैलिएको सेतो बादल। लाग्दै थियो के यो स्वर्ग हो कि¸ बैकुण्ठ हो की के हो? सूर्य नअस्ताउन्जेलसम्म हेरिरहें। आकासमा तारा देखिन थाले। तारा पुन्ज पनि स्पष्ट देखिए। म तारा हेर्दै टोलाए। यस्तो सुन्दर क्षण मेरो लागि पहिलो थियो। साथीले अब जानुपर्छ भनेपछि हामी अघि लाग्यौ। बाटो सजिलो तर हामी थाकेको हुनाले लामो लाग्यो। लौरीबिनाको उकालो चढ्दा तिलिचो ताल पुग्ने बेलाको २५ घुम्तीको याद आयो। रातको ७ बजे पाँच पोखरी पुगियो। २/ ३ वटा होटल रहेछन्। रेशम दाइको होटेलमा छिरीयो। राम्रो व्यवस्था रहेछ। खानामा भात¸ दाल र आलुको तरकारी रहेछ। थपेर खाइयो।

पहिले त्यस ठाँउमा होटलहरु थिएनन्। घुम्न आउनेहरु गोठमा बस्नु पर्ने। अहिले राम्रो होटल बनेको धेरै भएको रहेनछ। माइला दाईसँग कुरा गरियो। माइला दाईले संकलन गरेको १ धार्नी घ्यु अघिल्लो दिन कुकुरहरुले खाइदिएछन्। २ वटा कुकुरले एक धार्नी घ्यु कसरी पचायो होला? हामीले सुन्ने गरेको त कुकुरलाई घ्यु पच्दैन भन्ने थियो। यही कुरा गर्दा गर्दै घ्यु चोर कुकुरहरु रेशम दाईको नजिकै आए। ‘साले चोर कुकर’ रेशम दाईले अगुल्टोले झटारो हाने।

लाङटाङ राष्ट्रिय निकुन्जको संरक्षण क्षेत्रभित्र पर्ने पाँच पोखरी सिन्धुपाल्चोकको पाँच पोखरी थाङ्पाल गाँउपालिकामा पर्दछ। यहाँ जनै पूर्णिमामा विशेष मेला लाग्छ। समुन्द्र सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको यो स्थलले धार्मिकर पर्यटकीय महत्व बोकेको छ। यो इन्द्रावती नदीको स्रोत पनि हो।

९ बजेतिर सुत्न बिस्तारामा गइयो तर निन्द्र लागेन। आफ्नो परिवारको¸ जागिरको¸ घुमेको ठाँउहरुको¸ खाने कुराहरुको¸ जिन्दगीमा गर्नुपर्ने कामहरु¸ भावी योजना¸ सबै आँखामा नाच्न थाले¸ भूत¸ भविष्य सबै कल्पना गरेर सकियो तर निन्द्र लागेन। अब त बिहान भयो होला भनेर मोबाइलमा घडी हेरेको बल्ल १० बजेको रहेछ। पल्टेको जम्मा १ घण्टा मात्र। बिहानको ५ बजाउदासम्म मैले अमेरिकाको नयाँ परराष्ट्र नीति कस्तो हुनु पर्ने भन्नेसम्म पनि सोचेर भ्याए। त्यो ८ घण्टा मेरो लागि ८ बर्ष बराबर भयो। उचाइमा जाँदा निन्द्र नलाग्नु र मन्द टाउको दुख्नु सामान्य मानिन्छ। तर टाउको दुखाई बढ्यो भने खतरा हुन्छ। मानिसको मृत्यु पनि हुन सक्छ।

बिहान ५ बजेर माथि भ्यु टावरमा जाँदा¸ घामको पहिलो किरणले गालामा स्पर्श गर्दा अनि पारीपट्टी एक लहरमा उभिएका सेता हिमालहरुमा घामको पहिलो किरणले छुदा देखिने दृष्य र अनुभव अलौकिक थियो। शरीरलाई व्यायाम जस्तै मनलाई पनि सर्भिसिङ गर्नु पर्दछ। मेरो मन त्यो क्षणमा सर्भिसिङ भयो। मैले फरक सोच्न थाले। मन हलुङ्गो भयो¸ मन हिमालमा गयो ठोक्किएर फेरी सूर्यको किरणसँग बग्यो र फेरी चिसो हावामा गएर लडिबुडी खेल्यो र फर्कियो मन भित्र। आहा!!

त्यस बेला थाहा भयो केही नयाँ कुरा गर्नु छ भने नयाँ ठाँउमा पुगेर आउनु पर्ने रहेछ। मानिसको विचारमा परिवर्तन आउने रहेछ। घुमाइ एक ज्ञान हो। घुमाइ बिचारको श्रोत हो। घुमाइ आँफुलाई चिन्ने अवसर हो।

घाम विस्तारै तल रहेको पाँचवटा पोखरीमा पर्न थाले¸ वातावरण न्यानो हुन थाल्यो। शरीरमा एकाएक उर्जा आएजस्तो लाग्यो।

पाँच पोखरीमा भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड गरी पाँच कुण्डहरु छन् र ति कुण्डहरु नै इन्द्रावतीको उद्गमस्थ हुन्।

चार वटा पोखरीको किनार किनारमा पानी जमेको थियो। पोखरी मध्येको ठुलो पोखरीको छेउमा उभिदा कन्चन पानीमा देखिने पहाडको छाँया र पानीको गहिराइको निलोपनको मिश्रणले मन नै आनन्दित बनाउँछ। एकाएक पोखरीमा डुबुल्की लगाउने इच्छा जाग्यो। हामी बाहेक अरु २ जना पनि छेउमै थिए। मैले कपडा खोले र किनारमा गएर पोखरीमा हाम फाले। पानी एकदमै चिसो थियो। तर उक्त पानीको चिसोपनाबाट प्राप्त उर्जाले मेरो तन र मन लाई धोएको अनुभव गरे। त्यसपछि अरुले पनि डुप्की लगाए। मलाई पुन: पानीमा जान मन लाग्यो। फेरी कपडा खोले र हाम फाले। पोखरीको पिंध छोए। एकदमै फरक अनुभव भयो। बाहिर निस्के र फेरी हाम फाले। त्यो चिसोमा पनि मैले अपार न्यानोको अनुभव गरे। कस्तो न्यानो जसले शरीर र मन दुवैलाई छोयो। जलसँगको त्यस्तो साक्षात्कार मेरा लागि पहिलो थियो। अदभुत अनुभव!! चिसो जलभित्रको अग्नी को अनुभव। आहा!!

पोखरीको छेउमा रहेको शिवको मन्दिर दर्शन गरे पश्चात हामी ओरालो लाग्यौ। उही बाटो। राती फर्कने बेलामा यमराजसँग साक्षात्कार भयो। मेलम्ची आइपुग्दा रातको ९ बजिसकेको थियो। रात धेरै परेकाले अरनिको राजमार्ग हुदै फर्कने योजना बन्यो। बाटोमा हाम्रा २ वटा बाइक बाँकी सबै टिप्परमात्र थिए। टिप्परको हावाले पनि हल्लाउने रहेछ। उनीहरुको गति पनि उस्तै निकै डर मान्दैमान्दै काठमाण्डौ प्रवेश गरियो। रातको समयमा अरनिको राजमार्गमा यात्रा गर्नु निकै जोखिमपूर्ण हुने रहेछ। धन्न बाँचियो।

काठमाडौं आएपछि खर्च हिसाब गरें, पाँच पोखरी जाँदा जम्मा २ हजार पाँच सय खर्च भएछ। बल्ल अनुभव भयो हामी नेपाली कति भाग्यमानी। वरपर हिमाल¸ नदी¸ पहाड अनी वैभवशाली तराइका फाँटहरु। जता डुले पनि हुन्छ। पहिले पहिले आमाले ‘ए डुलुवा’ भनेर गाली गर्नु हुन्थ्यो। तर मलाई फेरि डुलुवा हुन मन छ। नेपाल हेर्ने मन छ, म डुलुवा…पहिलो पोष्टबाट


क्याटेगोरी : ब्लग / विचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार