Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठब्लग / विचारबाढी पहिरोको कारण र रोकथामका उपायहरु

बाढी पहिरोको कारण र रोकथामका उपायहरु


एविन्द्रप्रसाद न्यौपाने

कुनै सस्तो विषयमा अभिव्यक्त गर्दा ढुङ्गामाटो सरी भन्ने शब्द प्रायः मानिसको मुखबाट सुन्न पाईन्छ । सर्वसाधारण जनता, राजनीतिक नेता तथा कार्यकर्ता, प्रशासनिक कर्मचारी, गिटीबालुवा व्यापारी, डोजर साहु या चालक, सडक निर्माण उपभोक्ता समितिका मानिसले त माटोको महत्व बुझेनन् बुझेनन् सडकको बिल पास गर्ने इन्जिनियर, भूसंरक्षण कार्यालयमा विज्ञ, कृषि विशेषज्ञ, वन विशेषज्ञ जस्ता माटोको विशेषतासँग सम्बन्धित विज्ञहरु, विज्ञान तथा प्रविधि प्रतिष्ठानमा काम गर्ने वैज्ञानिकहरुले पनि नबुझेको जस्तो गरी मुक दर्शक भएर बसी मिडिया मार्फत भू—क्षय नियन्त्रणको बारेमा प्रकाश नपारेको, सर्वसाधारण समक्ष यो विषयमा चेतना दिलाउने प्रयास नगरेको देख्दा अचम्म लागिरहेछ । कसैले पनि चासो नदेखाएका र महत्वपूर्ण पनि नठानेका विषयमा महत्वपूर्ण ठानेर लेखेका कुराहरुलाई जति व्यस्त भए पनि केही समय ध्यान दिएर पढिदिनहुन सबै पाठक मित्रहरु समक्ष विनम्र अनुरोध गर्दछु । जमीनबाट बाली त बर्षै पिच्छे लिन सक्दछौं र बाटो पनि खन्न सक्छौ तर उर्बर माटो बनाउन सक्दैनौ र जमीनलाई वचाउने प्रयास हामीले कहिल्यै गरेनौ ।

मानिसको सभ्यताका विभिन्न पक्षहरुमध्ये एउटा ज्यादै महत्वपूर्ण आधार मलिलो माटो हो । जहाँ समतल भूभाग, उर्वरा भूमि छ र जमीनको सदुपयोग हुन पाएको छ त्यहाका मानिस स्वस्थ,सम्पन्न र बौद्धिक पनि पाईन्छन् । जहाँको धरातल धेरै भिरालो छ, जमीन धेरै रुखो छ, भएको जमीनको सदुपयोग भएको छैन त्यहाँका मानिस गरीब, पछौटे र अस्वस्थ पाईन्छन् । यस अर्थमा सभ्यताको आधार मलिलो माटो पनि हो । हाम्रो जमिनमा मल जल, खनजोत गर्नु, बाली गोडमेल गर्नु, कोसे बाली लगाउनु जति महत्वपूर्ण छ कतैपनि जमीन नाङ्गो हुन नदिइ कुनैपनि किसिमका हरियालीले जमीनलाई ढाकेर भएको माटोलाइ बग्न नदिइकन जोगाउनु त्यत्तिकै महत्वपूर्ण हुन्छ ।

मानिसको जीवनको आधार तथा पोषणको स्रोत वनस्पति हो र बनस्पतिको पोषण तत्वको स्रोत माटो हो । यस अर्थमा मानिस र जनावर दुबैले माटो नखाए पनि यी दुबैको पोषण तत्वको स्रोत पनि माटो नै हो । किनभने माटो विना वनस्तपति सम्भव छैन र वनस्पति विना मानसिको जीवन सम्भव छैन । त्यसैले Sick soils make sick plants, sick plants make sick animals, sick animals make sick human. So soil is the soul of all living creatures. । (रोगी या रुखोमाटोमा हुर्किएका वनस्पति रोगी हुन्छन्, रोगी वनस्तपति खाएका जनावर रोगी हुन्छन् र रोगी जनावरको दुध, मासु खाएका मानिस पनि रोगी हुन्छन् । त्यसैले माटो सम्पूर्ण प्राणीहरुको आत्मा हो) । यो भनाइ Soil and Water Management Class मा पहिलो दिन हामीलाई हाम्रा गुरुले वताउनु भएको अभिव्यक्ति हो । Soil Water Scientist Dr. P.P.Sharmaले भनेको त्यो अभिव्यक्तिले मेरो दिमागमा पौनेचार दशक देखि अहिलेसम्म छाप परिरहेको छ त्यही कुरा पाठकहरुसमक्ष प्रस्तुत गर्दैछु ।

भूक्षय हुनु भनेको एक ठाउँको माटो कुनै माध्यमबाट अर्को ठाउँ पुग्नु हो । भूक्षयका विभिन्न रुपहरु मध्ये पहिरो एउटा रुप हो । उहाँका अनुसार भूक्षय दुइ किसिमका हुन्छन् । 1. Geological erosion (natural erosion (प्राकृतिकरुपमा निश्चत काल खण्डमा जाने पहिरो) 2. Accelerator erosion (men made erosion) (मानिसले जमीनको सतहमा खलल पारेको कारणले बारी, कच्ची सडक, गोरेटो बाटो र अन्य क्षेत्रका नाङ्गो जमीन(Bare soil)बाट हुनेमाटोको क्षति)। Geological erosion बाट ५% भूक्षय हुन्छ,जुन हामी थाहा पाउँदछौ र यसलाई प्राकृतिक प्रकोप भन्दछौ । Accelerator erosion बाट ९५% भूक्षय हुन्छ जुन माटोको क्षतिको दृष्टिले धेरै खतरा भएर पनि हामी मतलब गर्दैनौ । यसले दिन प्रति दिन जमीनको उर्वराशक्ति ह्रास गराउँदछ ।

पत्थरको अवस्थाबाट ६ इन्च मलिलो माटो बन्नकोलागि त्यहाँको धरातल, हावा पानी, माटो बन्ने तत्वको आधारमा २,००० देखि ७,००० बर्ष लाग्छ भनेर उहाँले बताउनु भएको थियो । जब जमीनको सतहमा हरियालीले ढाकिदैन र जमीन नाङ्गो हुन्छ प्राणीहरुको छाला ताछिएको अवस्थामा घाउबाट रगत या पिप बहे जस्तै जमीनबाट असीमित मलिलो माटो धमीलो पानीको माध्यमबाट बगेर जान्छ । त्यसैले छालाले प्राणीहरुलाई संरक्षण गरेजस्तै हरियालीले भूक्षय नियन्त्रण गरेर जमीनलाई बचाइरहेको हुन्छ । त्यसो भए रुख र घाँसले ढाकेको ठाउँमा पहिरो लाग्दैन त ? भन्ने प्रश्न पनि उठ्न सक्दछ । भिरालो जमीनमा ठूला रुखहरु भएको ठाउँमा ठूला पहिरो गएको पनि हामीले देखेका छौं । धरातलको आधारमा उपयुक्त वनस्पतिको व्यवस्थापन गर्न नजानेमा या नसकेमा वन भएको भिरालो जमीनबाट पनि पहिरो जान्छ । वनस्पतिले ढाकेको जमीनबाट Geological erosion नरोकिए पनि Accelerator erosion रोकिन्छ ।

भूक्षय हुनुलाई मानिस मर्नेसँग तुलना गर्ने हो भने हरियालीले ढाकेको क्षेत्रमा पनि पहिरो जानु भनेको विभिन्न रोग विरुद्ध खोप लगाउनको साथै समय–समयमा डाक्टरकोमा स्वास्थ्य जाँच गराएर उपयुक्त आहार विहार गर्नेहरु पनि मर्छन भने जस्तै हो । जताततै नाङ्गो जमीन हुनु, बर्षा अगाडि डोजर लगाएर आफै पलाएका हरियाली पनि नास गरेर दायाँ बायाँ हरियाली नलगाउनु र पानी बग्ने नाली नबनाउनु, कमजोर र भिरालो धरातलमा भल नतर्काउनाले या जलाधार नियन्त्रण नगर्नाले भूक्षय हुनु भनेको खोप र औषधी विनाका महामारी रोग लाग्नुजस्तै हो ।

हामीले देखेका छौं कि, हरियालीले ढाकेको चौर, वन क्षेत्रबाट वर्षामा बगेको भल सानो मात्र नभइ सङ्गलो पनि हुन्छ । त्यस्तो पानीले जमीन खियाउदैन ।सङ्गलो पानीको तुलनामा धमिलो पानी धेरै शक्तिसाली र खतरा हुन्छ । यसले धेरै क्षति गर्दछ । धमिलो पानी भन्दा धेरै ढुङ्गामाटो मिसिएको लेदो बगेको जलाधार झन धेरै खतरा हुन्छ र यसले घर जत्रा ढुङ्गाहरु पनि बगाएर ल्याएर थुपारेको हामीले देखेका छौं ।

नाङ्गो जमीनको तुलनमा हरियालीले ढाकेको जमीनमा दश गुणा बढी पानी सोस्ने क्षमता हुन्छ । आकाशबाट झरेको पानी जति धेरै जमीनले सोस्न सक्यो, भल बग्ने क्रम त्यत्तिनै कम हुन्छ । जस्तै Rain fall – Infiltration = Runoff water अर्थात वर्षाको पानीबाट जमिले सोसेर बाँकी पानी सतहमा बग्ने हो । ग्रामीण क्षेत्रमा मात्र नभएर शहरी क्षेत्रमा पनि सडकको दायाँबायाँ जमीनले पानी शोस्ने प्रावधान राख्ने गर्नाले डुबानको समस्या न्युनिकरण हुन्छ ।

समाधानका सम्भावित उपायहरु

सामुदायिक वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, सिंचाइ उपभोक्ता समिति, सडक निर्माण उपभोक्ता समिति कृषि समिति लगायत पानी, वनस्पति र माटोसँगको सरोकारवालाहरु र सम्बन्धित विज्ञहरुको प्रतिनिधित्व हुनेगरी जलाधार व्यवस्थापन समितिको गठन गर्ने । खोलाको नामको आधारमा जलाधारको क्षेत्र व्यवस्थापन समितिको नामाकरण र क्षेत्राधिकार निर्धारण गर्ने । जस्तै तौथली देखि बाल्कासम्म तौथली जलाधार व्यवस्थापन समिति, जलजले देखि दावीसम्म दावी जलाधार व्यवस्थापन समिति, कालिन्चोक देखि सुनकोशीसम्म सुनकोशी जलाधार व्यवस्थापन समिति ।

यस्तै गरी जसरी साना खोला ठूला खोलामा मिसिन्छन् त्यसै गरी साना जलाधार क्षेत्रका समितिको प्रतिनिधित्व हुने गरी ठूला खोलाको जलाधार समतिको व्यवस्था गर्ने । यो जलाधार व्यवस्थापन समितिको सबैभन्दा महत्वपूर्ण काम धमिलो पानी नियन्त्रण गरी सङ्गलो अवस्थामा ल्याउने हो र जलचर स्थलचर प्राणीहरुको पनि उचित व्यवस्था मिलाइ पर्यावरणमैत्री वातावरण तयार पार्ने हो । यसो गर्न सकेमा वर्षामा बाढीको मात्रा कम हुनाको साथै हिउँदमा खोलाको साईज बढ्दछ र ठाउँठाउँमा पानीका मूल पनि फुट्न सहयोग पुग्दछ । पहाडबाट धमीलो भलको न्यूनिकरण गर्न सकेमा तराईमा नदीले क्षति गर्ने संभावना पनि न्युन हुन्छ ।

सडक निर्माण र मर्मत गर्ने सन्दर्भमा वर्षा सकिए पछि चैत्र भन्दा अगाडि जहाँजहाँ बाटो बनाउनु पर्ने हो बाटो सम्पन्न गरी नाली तयार पार्ने र बैसाख जेष्ठमा दायाँ बायाँ घाँस, विरुवा लगाउने । भिरालो या तेर्साे सबै क्षेत्रमा मसिनो सोलिङ्ग गर्ने जहाँबाट पानी जमीनले सोस्न सकोस (Infiltration) जसको कारणले भलको साइज न्युनिकरण होस र माटो बग्न नपाओस । सडकको नालीबाट बगेको पानीको धार कम जोखिम क्षेत्रमा तर्काउने । ग्रामीण कच्ची सडकहरुमा गाडीको चक्काले भेट्ने ठाउँजतिमा सोलिङ्ग गर्ने, कुनामा नाली बनाउने र छेउमा दुबो या अन्य घाँस लगाउने र कान्लामा विरुवा लगाउने ।सोलिङ्ग या कालो पत्रे या ढलान नभएको माटो मात्र भएको सडकमा भारी गाडी गुडाउन निषेध गर्नु पर्ने ।

ठाडाखोला वा खोल्साहरुले ल्याएका ठूला ढुङ्गाको स्थान नमिलेर दायाँबायाँ पानीको धारको कारणले नदी कटान हुने सम्भावनालाई ध्यानमा राखी पानीको धार उचित किसिमले बग्ने व्यवस्था मिलाउने । बारीको डिल, कान्ला र भिरालो भूमिमा धमिलो पानीबाट माटो छान्ने किसिमले झाङ्ग हुने घाँसलगाइ बारीबाट धमिलो पानी बग्न नियन्त्रण गर्ने । कतै पनि नाङ्गो जमीन नराख्ने र व्यक्तिगत घर बनाउँदा या अन्य निर्माण सम्बन्धी काम गर्ने जस्ता कुनै कारणले कतै नाङ्गो जमीन रहेमा त्यसलाई ल्पास्टिकले ढाक्ने व्यवस्था गर्ने ।

कमजोर र धेरै भिरालो जमीन छलेर केही पक्की र कम भिरालो क्षेत्रबाट पानी बग्ने किसिमले भल तर्काउने । धेरै भिरालो जमीन (भीर)मा ठुलो रुख हुने विरुवा हटाएर साना विरुवा र घाँसले ढाक्ने व्यवस्था गर्ने । बालुवा, गिटी निकाल्ने, क्रसर व्यावसायीहरुलाई भूक्षय एवं नदी कटानबाट बच्ने किसिमले आचार संहिता लागु गराउने । प्रत्येक समितिमा केही महिनाको अन्तरालमा भूक्षय नियन्त्रण, वातावरण संरक्षण सम्बन्धी गोष्ठीको आयोजना गर्ने । सो गोष्ठीमा सम्बन्धित विषयका विज्ञ तथा वैज्ञानिकहरुद्वारा प्रशिक्षण मात्र नभएर निरीक्षण पनि गर्न लगाउने । सडक खन्दा वातावरण संरक्षणको लागि जमीनको अवस्था हेरी कम्तीमा १० देखि १५प्रतिसत बजेटको व्यवस्था अनिवार्य गर्नुपर्ने ।


क्याटेगोरी : ब्लग / विचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित समाचार