Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठब्लग / विचारसिन्धुका सात रहस्यमयी धार्मिकस्थल: जहाँ पुग्दा तपाई चकित पर्नुहुन्छ

सिन्धुका सात रहस्यमयी धार्मिकस्थल: जहाँ पुग्दा तपाई चकित पर्नुहुन्छ


अनिश तिवारी
सिन्धुपाल्चोक –पृथ्वीभर यस्ता अनेकौ रहस्यमयी प्राचिन सभ्यताका इमारत, अवशेष र धार्मिकस्थल छन् । जहाँ हुने अनौठा परम्परा र घटनाले मानिसलाई एकदमै मात खुवाइदिन्छ । प्रचलित अनेकौ किस्सासँगै रहस्यवादीहरु यस्ता तिर्थस्थलाई दैवीशक्तिमा लगेर जोडिदिएका छन् । सिन्धुपाल्चोक धेरै प्राचिन सभ्यतासँग नजिकसग जोडिएको क्षेत्र हो । आदिकालदेखि सिन्धुपाल्चोकलाई आदियोगी देवाधिदेव महादेव र बौद्धधर्मका धरोहर बुद्धपछिका बुद्ध गुरु रेन्पाछे पदमसंम्भवासँग जोडेर हेर्ने गरिन्छ । तत्कालिन मातृसत्ता सभ्यता झल्काउने महादेवीका एकदमै पुराना मन्दिर ,प्रतिमुर्ती सिन्धुपाल्चोकमै अझै देख्न पाइन्छ ।
किराँती पवित्र महाग्रन्थ मुन्धुमका अनुसार ऐतिहासिक तथ्यअनुरुप दोलखा र सिन्धुपाल्चोक किराती सभ्यता कालको पुर्खाको पुरानो थलो मानिन्छ । आदिपुरुष महादेवको बासस्थान कैलाश मानसरोवरसँग जोडिएको नेपालको हाम्रो सिन्धुपाल्चोक ऐतिहासिक र धार्मिकस्थल र परम्पराले भरिएको छ । यहाँ सिन्धुपाल्चोकका अनेकौ धार्मिकस्थलमध्ये पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्मका सात धार्मिकस्थलको रोचक घटनालाई यहाँ पस्किएको छु । मान्नुस या नमान्नुस तपाईको इच्छा ।

हेलम्बुका मिलारेपा :जहाँ न्याय माग्न जान्छन्
ह्योल्मो समुदायमा एउटा भनाइ चर्चित छ, ‘छक्छल्डो जेचुन मिलारेपा डोक्न जाउ ।’ यसको अर्थ हो कतैपनि न्याय पाएनौ भने जेचुन मिलारेपाको शरणमा जानु । ह्योल्मो भुमी हेलम्बुमा अझैपनि कुनै गंम्भिर विवाद नमिलेमा जेचुन मिलारेपाको गुफामा गएर बौद्ध परम्पराअनुसार ढोग्न लाने माग्ने परम्परा छ । हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाका अनुसार स्थानीय अझै पनि प्रहरी र प्रशासन, न्यायिक समिति, अड्डा, अदालतभन्दा मिलारेपालाई विश्वास गर्छन् । दुवै पक्षले न्यायमुर्ती मिलारेपाको (यहा स्वंय प्रकट भएको मानिने ) झण्डै एकहजार ५ सय वर्ष पुरानो मिलारेपाको निलो बहुमुल्य मुर्ती समक्ष बौद्ध परम्पराअनुरुप शुध्द घिउको बत्ती बाल्छन् । मिलारेपाको तपगुफामा जुेचुन मिलारेपाको दैवी प्रभावका कारण दोषीको दिप जति ज्वलनशिल भएपनि बत्ती बल्दैन् र जो निष्पक्ष छ उसको सहजै बल्ने गर्छ ।

हेलम्बु १ का अध्यक्ष मिङमार लामा यसलाई सत्य दैविक शक्ति भएको दाबी गर्छन् । ‘यसलाई हामी मिलारेपाको शक्ति मान्छौ, नभए ज्वलनशिल बत्ती किन बल्दैन्, किन गलत गर्नेले अपराध स्वीकार गरिहाल्छ त ?,’उनले प्रश्न गरे । झण्डै ३० वर्षअघिसम्म यहाँका हेलम्बुका स्थानीय प्रत्येक मुद्धामामिला लिएर मिलारेपाकोमा गुफामा जान्थे । आहिले भने एकदमै गंम्भिर मुद्धा भए मात्रै जाने गरेको वडाध्यक्ष लामाले बताए । धेरै पटक चोरीको प्रयास गरिएको यहाँको पुरातात्विक मिलारेपाको कलात्मक मुर्तीको आफ्नै इतिहाँस छ । २०४५ सालमा मुर्ती चोरी भएपछि हेलम्बुभर खलबली मच्चियो । गुफामा गएर मिलारेपाकै लागि बत्ती बालेर ढोग गरियो । ढोगलगत्तै मुर्ती चोरेर काठमाण्डौ पु¥याएको कुरा चोर्नेवालाकै श्रीमतीले चमत्कार भएझै गरी रुँदै सविस्तार मुख खोले । चोरबारे स्थानीयले प्रहरीलाई सुचना दिएर खबर गरे । थाहा पाएपछि प्रहरीले चारैलाई काठमाण्डौबाट मुर्तीसहित पक्राउ ग¥यो । कात्तिकमा मिलारेपाको मुर्ती चोरि भएपछि लामो समय वर्षात भएन्, जब मिलारेपाको मुर्ती प्रहरीबाट बुझेर यहाँ ल्याइयो तब त्यही रातबाट वर्षात भयो ।

यी प्रतिनिधि घटना हेर्दा कुनै लोककथाजस्तै लाग्छ । अनेक घटना सुनिएपनि त्यतिखेर भएका घटनाको स्रोत ,प्रमाण र प्रत्यक्ष साक्षी पाइएका केही घटनाबारे मात्रै नै यहाँ लेखिएको छ । वडाध्यक्ष लामाका अनुसार हेलम्बुभर मिलारेपाको न्यायको विषयलाई लिएर अनगिन्ती किस्साजस्तै सत्य घटना छन् । हेलम्बुका अध्यक्ष, जनप्रतिनिधिदेखि हेलम्बुक्षेत्रभरका ह्योल्मो परिवार यसलाई महायोगी मिलारेपाको सन्तुलित न्याय मान्छन् । चोर समातिएपछि मुर्ती बोकेर फिर्ता ल्याउँदाको प्रत्यक्ष अनुभव सुनाउँदै हेलम्बुका प्रमुख शेर्पा भन्छन्,‘ मिलारेपाले न्याय दिन एक क्षणपनि ढिलो गर्दैनन्, त्यसैले उनको अगाडी सत्य लुक्न नसक्ने भएकाले जोकोही मिलारेपा कहाँ जाने भनेपछि डराउँछन् ,अत्यन्तै गम्भिर मुद्धा भए मात्रै हो । ’

ह्योल्मो परम्परामा जेचुन मिलारेपालाई लिएर अझैपनि हेलम्बुमा त्यस्तै जटिल विवाद नमिलेमा ‘जेचुन मिलारेपाकोमा जाउ’ भन्ने कथन प्रचलित छन् । ‘अझै पनि कुनै विवाद रस्साकस्सी नै परेर नमिल्नेमा पुग्यो भने, मिलारेपा कहाँ जाउ न त भनेपछि कुरा मिलिहाल्छ, कारण जे पनि हुन सक्छ त्यहाँ जान भने एकदमै डराउँछन्,’हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष न्यायिक समितिकी संयोजक कोपिला पण्डितले भनिन् । जस्तोसुकै नमल्निे विवाद पनि मिलारेपा जाने कुराले दुवै पक्ष मिल्ने वातावरण हुने गरेको उनले प्रष्ट्याइन् ।

कसरी जाने मिलारेपा ?
काठमाण्डौबाट ६५ किलोमिटरको दुरी तय गरेपछि हेलम्बु वडा १ को जेचुन क्षेत्रमा जेचुन मिलारेपाको एकदमै मन्त्र कोरिएको कलात्मक गुफामा पुग्न सकिन्छ । हेलम्बुको तिम्बु जेचुन क्षेत्रसम्म सडक जोडिसकेकाले सवारी यात्रा एकदमै सहज छ । सन ११ ०० मा गुरु मार्पाको आज्ञा अनुसार मिलारेपा तिब्बतको क्याङ्फेनबाट हेलम्बुमा आएर आएर ३ वर्ष साधना गरेर आफ्नो बोध अवस्थामा निपूणता पाएको बौद्ध ग्रन्थ छेमा उल्लेख छ ।

बौद्ध धर्ममा उल्लेखित मत अनुसार मिलारेपा ७ औ शब्तादिका गुरु रेन्पोछेभन्दा नौ सय वर्ष पछाडीका मानिन्छन् । बौद्ध धर्मगुरु लोभेन पासाङग्याल्जेन लामा भन्छन्, ‘ मार्पाकै निर्देशनमा गुरु पदमसंम्भव (गुरु रेन्पोछ)को चार वटा गुप्त स्थानमध्येको एक तिर्थ भएकाले मिलारेपा यहाँ तपस्या गर्न आउनुभयो ।’ उनका अनुसार यहा स्वंय प्रकट भएको मिलारेपाको हरियो बहुमुल्य मुर्ती झण्डै एक हजार ५ सय वर्ष पुरानो हो । ‘यो बौद्ध धर्मको महान तिर्थ हो, यसबारे भगवान बुद्धले भविष्यवाणी गर्नुभएको छ, गुरु रेन्पोछेको गुप्त निधि लुकाइएको ह्योल्मो क्षेत्र हो,’उनले भने ।

ह्योल्मो समुदायको कला र संस्कृतिले सिँगारिएको मिलारेपा गुफामा तपस्या गर्ने विदेशी तथा स्वदेशी साधक र पर्यटकको संख्या दैनिक बाक्लो हुने गर्छ । यहाँ ठुला लामासहित अनेकौ रेन्पोछेका अवतार मानिने गुरुदेखि झर्टोर रेन्पोछले आएर तपस्या गरेका थिए ।
को हुन् मिलारेपा ?
तिब्बती संस्कृतिका महान तान्त्रिक मिलारेपा बौद्ध सम्प्रदायमा एकै जन्ममा बुद्धत्व पाउने बुद्धसरहका अदभूत क्षमताका महायोगीको रुपमा लोकप्रिय छन् । बौद्ध ग्रन्थ छेमा उल्लेखित मत अनुसार सन १०४० मा मिलारेपाको जन्म तिब्बतको पूर्वी भेगमा भएको थियो । सानै उमेरमा बुबाको मृत्यु भएपछि सबै सम्पत्ती काकाले हड्पेर नोकरजस्तै व्यवहार गरे । काकाको परिवारको आफुमाथि गरिएको अन्यायको बदला लिन उनले युवावस्थामै घर छोडे । वर्षौपछिको तन्त्र साधनामा अब्बल भएर उनी आफ्नो गाउँ फर्के । त्यतिबेलासम्म आमा र बहिनीको मृत्यु भइसकेको थियो । काकाकै छोराको बिहेमा उनले बदला लिन तन्त्र शक्तिको प्रयोगबाट गाउँभर बरफको वर्षात गरिदिए । भनिन्छ, त्यहाँ उनको काकासहित ८० देखि ८५ मान्छे मरे ।

तत्कालै बदला पुरा गरेपनि उनलाई भित्रैबाट पश्चताप हुन थाल्यो । मन अशान्त भएपछि उनले परमशान्त र आत्मबोध हुने बाटो खोज्न थाले । दर्जनौ गुरुकहाँ धाए ,तर कुनै गुरुले एकै जन्ममा परमबोध दिलाउन नसक्ने बताए । फेरि उनले सुने की एउटा गुरु मार्पाले एकै जन्ममा मुक्ति दिलाउने साधना दिन सक्छन् । तत्कालिन चर्चित गुरु मार्पालाई ‘ट्रान्सलेटर ’ को रुपमा चिनिन्थ्यो । बौद्ध मतअनुरुप तीन पटक भारतको यात्रा गरिसकेका मार्पाले पूर्वीय दर्शनको सम्पूर्ण सम्पदाको तिब्बती भाषामा उतारेकाले उनलाई त्यसरी चिनिएको हो ।

गुरु मार्पा त्यतिखेर खेत जोतिरहेका थिए । जब मिलारेपा पुगे , उनलाई जोत्ने हलो जिम्मा लगाएर ‘जोत ’ भन्दै बियर पिउन दिएर मार्पा घर गए । खेत जोतिसकेपछि मार्पाको छोराले उनलाई घर लिएर गयो । उनले गुरु मार्पालाई आफु धम्म वा आत्मबोधको लागि आएको बताए । मार्पाले खाना कि धम्म मा एउटा मात्रै दिने शर्त राखे । मिलारेपाले शर्त मानेर ध्यान सिक्न एकै पटक धेरै अन्नपात जम्मा पारे । अन्नपातको बोरा उनले भुइमा राख्दा ठुलो आवाज आयो । मार्पाले अनेक गालीगलौज गर्दै झपारे । ८ वर्षसम्म उनले ध्यानप्रक्रिया पाउने आशमा मार्पाको लागि हलो जोत्ने, अन्न उब्जनी उर्मानेजस्ता अनेक काम गरे । धेरै पटक उनी लुकीछुपी सतसंगमा बस्थे । मार्पाले भक्कुमार कुटेर बाहिर निकालिदिन्थ्ये ।

१३ वर्षभन्दा बढी कामदार नोकरझै रगडिएपछि मिलारेपाले मार्पाकी श्रीमतीसँग दुख पोख्दै गिडगिडाए । मिलारेप्रति सहानुभुति राख्ने मार्पाकी श्रीमतीको अनुरोधपछि बल्ल मार्पाले भने,‘ मेरो छोराको लागि घर बनाइदिओस्, म सिकाउला ।’ मिलारेपा जमेर घर बनाउन थाले । क्रमशः तिन, चार अनि पाँच तले झण्डै दर्जनौ घर बनाएर उनको थप ५ वर्ष बित्यो । मार्पाकै इच्छालाई मानेर उनले घर हेर्नको लागि ७ फुट अग्लो पार्कजस्तो बनाइदिए ।

त्यतिबेलासम्म मिलारेपाको उमेर ढल्किसकेको थियो । आत्तिएका मिलारेपाले अशान्त भएर मर्ने डरमा गुरु मार्पा पत्नीसँग रोए । फेरि मार्पाकी पत्नीले बठ्याइ गरेर एउटा पत्र लेखेर मार्पाकै लालमोहर लगाएर एक शिष्य भिक्षुकहाँ दिक्षाको लागि पठाइदिइन् । ध्यान दिक्षा लिएपनि मिलारेपालाई केही अनुभुती भएन् । जब मिलारेपाले थाहा पाए त्यो भिक्षुको दिक्षा मान्यता पनि रद्द गरिदिए ।
अब मिलारेपाको देखे की बुद्धत्व पाउने केही बाटो छैन् । त्यसपछि मिलारेपाले आत्महत्या बाटो रोजेर मर्नको लागि भिरमा पुगे । तब मार्पाले उनलाई मन शुद्ध बनेको बताउँदै सम्झाए रोकेर दिक्षा दिए । दिक्षा दिएको ३ दिनमै मिलारेपालाई डाकिनीको दर्शन दिँदै भनिन् ,‘मार्पाले मुलुभुत कुरा सिकाएका छैनन् । यो उनलाई थाहा छ की छैन् सोध ?’उनले मार्पालाई आफुसँग साधनामा घटेका यर्थाथ कुरा बताए । मार्पाले आफुलाई थाहा नभएको कुरा सुनाउँदै आफ्नो गुरुकहाँ लगे ।

मार्पाले यर्थाथ कुरा बताएपछि गुरुले तिब्बततर्फ फर्केर झुक्दै भने , ‘आखिर तिब्बतको अध्यारोमा एउटा चम्किलो तारा उदाएको छ । ’ गुरुले दुवैलाई सम्पूर्ण ध्यानको प्रक्रिया सिकाए । यसरी मिलारेपा शिष्य भएरपनि मार्पाको गुरु बने । यसरी उनले एकै जन्ममा बुद्धत्व प्राप्त गरेर सम्पूर्ण धर्मतत्वबारे ज्ञानपछि अनुभव पाएको मानिन्छ । मार्पाका गुरु भने नेपाल र भारतको विहारको सीमाक्षेत्रमा बस्थे । उनलाई उच्चकोटीको ओम संस्कारिक परिवारको महायोगी रहेको मानिन्छ ।

भोटेकोशीको सेलाङकट्टी गुम्बा : जहाँ खप्परको पुजा हुन्छ
भोटेकोसी गाउँपालिका वडा ४, सेलाङकट्टी गाउँस्थित साङछ्योलिङ गुम्बा छ,जहाँ दिनहुँ एउटा मानव खप्परको पुजा हुन्छ । करिब ७ सय वर्ष पुरानो मानिने कलात्मक (तालुको भाग) ‘नम्देन्’ खप्परलाई बौद्ध र हिन्दु धर्मका समुदायले देवताको रुपमा पुज्दै आइरहेका हुन् । साङछ्योलिङ गुम्बाका प्रमुख लामा साङदोर्जे लामाका अनुसार खप्पर बौद्धधर्मका सिद्ध गुरु लामाको भएकाले देवता झै पुज्ने परम्परा सात सय वर्षदेखि नियमित रुपमा चल्दै आइरहेको छ । खप्परले छोएमात्रै रोग पाप नाश हुने, सपनामा आएर गुरुले मार्गदर्शन गर्नेजस्ता अनेक विश्वासमा खप्परको तान्त्रिक र साधरण दुवै अनुष्ठान, पुजा हुने गरेको उनले बताए ।

‘यो गुरुबाट शिष्यमा हस्तान्तरण भएको एउटा महत्वपुर्ण परम्परा हो, त्यही अनुरुप यहाँ आउने प्रत्येकलाई खप्परले छोएर आर्शिवाद दिइरहेका छौ,’ गुम्बाका ‘टिका लामा’ पदमा बसेका उनले भने । साधारण मान्छेको भन्दा उच्च साधक कोटीको खप्पर भएकाले पुस्तौली रुपमा यसको पुजा अर्चना हुने गरेको उनले सुनाए ।

पूर्वीय हिन्दु र तिब्बती बौद्ध संस्कृतिका संगम धार्मिक धरोहर गुरु रेन्पाछे (पदमसंम्भव), महायोगी मिलारेपा र बुद्धजस्ता असंख्यौ गुरुले तपस्यापछि शरिरको केही अंश छाडेको बौद्धमतको कथन छ । त्यस्तै भोटेकोशी किनारक्षेत्रको तत्कालिन लामाको वर्षौपछिको ध्यानपछि देवताझै शक्तिशाली बनेका प्रमुखको रुपमा चिनिएका गुरु लामाले निर्वाणपछि आफ्नो खप्पर छाडे । केही शिष्यलाई गुरु लामाले शरिर छोड्नुअघि आफु खप्पर रुपमा अमर रहने बताएको मानिन्छ ।

भोटेकोसी – ४ सेलाङकट्टीको माथिल्लो लेकाली छमम् डाँडा वा तपस्यास्थल डाँडामा गुरु लामाले गुम्बा, कुटी बनाएर तपस्या थाले । देवताझै (सिद्ध) भइसकेपछि टेकेको दाहिने पाइला र गाउँलेको पानीको अभावलाई मेटाउन शक्तिबाट उत्पन्न गरेको भनिने पानीको मुल रहेको स्थानीय विश्वास गर्छन् । लामाको भनाई अनुसार आफ्नो मृत्युकाल बारे थाहा पाइसकेपछि घर फर्किन लागेको भेडा गोठालालाई सेलाङकट्टी गाउँलेलाई जानकारी दिन सन्देश पठाएर उनले ध्यानमै समाधि लिए । गुरु लामाको अन्तिम इच्छालाई मानेर कुटिभन्दा झण्डै ७० मिटर माथिको डाँडामा लगेर शरिरलाई संस्कार गर्न खोजेपनि वर्षात हावाहुरीका कारण सकिएन् ।

कुटीकै पिढीमा संस्कार गरेपछि बाँकी अवशेष बोकेर (गुरु लामाले बनेको स्थान) डाँडा पुग्दा एउटा चम्किलो वस्तु देखे । जुन नै गुरु लामाको पवित्र खप्पर (तालुको हाड )थियो । ‘त्यही ‘नम्देन ’ पवित्र खप्पर आजसम्म पुजा भइरहेको छ, यो हाम्रो अनमोल परम्पराको सम्पदा हो, ’स्थानीय अगुवा निमा लामाले भने । चोरीको त्रास बढेपछि सुरक्षाको लागि लामो समय ‘नम्देन्’ जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले जनाए ।

बौद्धहिन्दु परम्पराका ओम माने पेम्बे हु, जल तर्पण, ठेगां अर्थात् मन्त्र माने देखि बोधिचित्त, रुद्राराक्षका आकृती प्राकृतिक रुपमा ‘नम्देन’ खप्परमा अंकित छन् । ‘नम्देन्’ खप्पर पुजालाई नियमित र व्यवस्थित बनाउन पहलकदमी लिइरहेको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । ‘यो अचम्मको खप्परको सुरक्षासहितको सांस्कृतिक सम्पदा झल्कने गुम्बा बनाएर पर्यटकीय प्रवद्र्धनमा जोड दिने लक्ष्य राखेका छौ, गुरु लामाबारे अझै जानकारीको लागि खोज्ने प्रयासमा छौ, ’उनले भने ।

त्रिपुरासुन्दरीमा दही छ्याप्दै तौथली जात्रा
जिल्लाकै ‘छुट्टै देश’ मानिने पुरानो र ऐतिहासिक नगरी त्रिपुरासुन्दरी गाउँपालिकाको भव्य तौथली बजारमा दशैमा ठेकी र बाल्टीबाट अबिर मिसिएको दही निकाल्दै एकआर्कालाई छ्यापा छ्याप गर्ने गर्छन् । ‘जय जय ओम महादेवी ’ भनेर चिच्याउँदै (तान्त्रिक र मान्त्रिक पुजाविधिसहित ल्याइएका )६ वटा परम्परागत लिंगोमा पुजा, सगुन खुवाएपछि बजार बीचबाट दहीको होली गरेर जात्रा दशैमा मनाइन्छ ।

दुई घण्टाको दही छ्याप्ने जात्रा सकेपछि महादेवीलाई जगाउन लिंगो नचाउँदै तरवार, खाडो, खुकुरी देखाएर नृत्य निकालिन्छ । किराती सभ्यताकालको मानिने ‘ललिता त्रिपुरासुन्दरी महादेवी’को मन्दिरमा मुलुकमै नभएको तौथलीको अनौठो दही जात्रा एकदमै अनौठो छ । ‘महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी )ले महिषासुरको वध गर्नुभएको खुशीयालीमा किराँतकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको छ,’ त्रिपुरासुन्दरी गाउँपालिका वडा ५ तौथलीका अध्यक्ष विष्णुभक्त श्रेष्ठले भने । विष्णुका पुर्ण अवतार कृष्णाले होलिकालाई वध गरेर ‘होली पुर्णिमा’ मनाइएझै यहाँ महिषको अन्त्य भएको हर्षबढाई मनाइएको उनले उदाहरण दिए ।

दुई घण्टाको दही छ्याप्ने जात्रा सकेपछि महादेवीलाई जगाउन ६ वटा लिंगो नचाउदै तरवार, खाडो, खुकुरी देखाएर नृत्य निकालिन्छ । गुठियार, स्थानीयले भैसीगाई नथाकोस र सप्रिदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गर्दै आएका छन् । ‘खासमा दही प्रसादको रुपमा बाडिएको हो, सबैलाई दिएर साध्य नहुने भएपछि चारैतिर छ्यापा छ्याप गरिन्छ ,’उनले भने । वडाबाट ३ लाख बजेट विनियोजन गरेर जात्रालाई सहजीकरण र मन्दिरको धार्मिक पुरातात्विक महत्वको प्रचार गर्न आफै जुटिरहेको उनले जनाए ।

हालै भुकम्पले भत्काएपछि टहराको मन्दिर बनाएर महादेवीको मुर्ति,गरगहना सुरक्षित राखिएको छ । अहिले पुरातत्व विभागले प्राचिन ललिता त्रिपुरासुन्दरी महादेवीको मन्दिरको आधी संरचना बनाइरहेको छ । हनुमान ढोका दिगु तलेजुका सात छोरी मध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पुजा र बली फुलपातीबाट सुरु हुन्छ । बिजयदशमीको फुलापतीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनका पहरी समुदायले तीन वटा माछा चढाउँछन् । जसमा देवीको कृपाले बाँचेको एउटा मात्रै माछालाई बली चढाएर यहाँको पुजा सुरु हुन्छ । महाअष्टमीको दिन कालो रंगको बोकाको मात्रै बली दिइन्छ । अगुवा भक्तध्वज बोहोराकानुसार दशमीको रात यहाँ वर्षमा एकपटक मात्रै देखिने दुर्लभ भैरव, कुमारी, चण्डी, नांगनागिनी, स्याल कहनजस्ता दर्जनौको नृत्य जात्रा हुन्छ । अनार्य कालमा जिउँदो मान्छेको बली दिइने यहाँ पछिल्लो समय विभिन्न सन्त सुधारकले मनुष्यबाट मस्य बलीमा झारिएको थियो ।

बहुलाझै अनवरत हिडिरहेका महादेवले यहाँ पाइला टेकेलगत्तै केही सतीदेवीको शरिरको ‘कण्डोल’ अंग खसेकोले महाशक्ति पीठ बसेको धार्मिक मान्यता छ । यहाँ ललिता त्रिपुरासुन्दरी महादेवी प्रकट भएपछि अनार्य, आर्यदेखि विभिन्न धर्म सम्प्रदायका ऋषिमुनी, साधकले यहाँ आएर तपस्या गरेको मानिन्छ ।

किन गरिन्छ देवीको पुजा ?
हिन्दु धर्ममा शक्ति, प्रकृति, माया, भगवती वा नवदुर्गा भवानीको लागि अलग्गै व्याख्या पाइन्छ । नव दुर्गा भन्नाले नौ वटा किल्ला र तीनै किल्लाको रक्षा देवीले गरेको हुनाले समस्त ब्रम्हाण्ड सुरक्षित रुपमा चलिरहेको देवी पुराणमा उल्लेख छ ।
पौराणिक पुर्णचन्द्र पौडेलका अनुसार दशमी महादेवि योग भएकाले नवरात्री तान्त्रिक ,साधकले यसलाई अझै महत्वपूर्ण ठान्छन् । त्रिपुरासुन्दरी गापाको तौथली जानको लागि अरनिको राजमार्गको झोलुंगे छेउमा जम्मा भएका बलेफी र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने मोटरवेल पुल हुदै सहजै जान सकिन्छ ।

इन्द्रावतीका नवलपुरका अनौठा भिमसेन
इन्द्रावती गाउँपालिका क्षेत्रभर भिमसेनका एकदमै पुराना र अनौठा मन्दिर र अवशेष अझै छन् । नवलपुर, भिमटारमा शक्तिशाली मानिने भिमसेनको कलात्मक प्रकृति मुर्ती अझै देख्न सकिन्छ । यहाँका भिमसेन मन्दिरको सम्बन्ध महाभारत कालदेखि नेपालका मल्ल र शाहकालिन राजा र युद्धसँग जोडिएको मान्यता छ । भनिन्छ राजा पृथ्वी नारायण शाहले जितेर गाभ्न खोज्दा नवलपुरका तत्कालिन राजासँग आठ पटक हारे । त्यतिखेर नवलपुरदेखि भोटेकोशी क्षेत्र यतालाई थकानह्युल्सा भनिन्थ्यो । यसबारे इतिहास यस्तो छ ।

तत्कालिन राजा पृथ्वी नारायण शाहको सेना इन्द्रावती तरेर आउन सकेका सकेनन् । जब थकाह्युल्सा पुग्थ्ये, त्यहाँको मौसम एकदमै बदलिन्थ्यो हावाहुरी र चट्याङले हिड्न नसक्ने भएपछि सेना त्यत्तिकै फर्किए । दोश्रो पटक सूचना बिना उनी सेनासहित एक्कासी आक्रमण गर्न आए । त्यसपटक भने चर्को युद्ध भयो, उनी सेनासहित हारेर फर्के । यसरी आठ पटकसम्म हारेपछि हैरान भएका पृथ्वीले ज्योतिष र तान्त्रिकबाट हार्नुको रहस्य जान्न खोजे । थकानह्युल्साका रक्षक भिमसेनको दैवीशक्ति र तन्त्रमार्गबाट सुरक्षित भएको पाएपछि उनी नौलपुर राज्य बिजयीको लागि भिमसेन खुशी बनाउने पक्षमा लागे । एकसय ८ तान्त्रिकबाट पूजाविधिसहित तन्त्र मार्गबाट भिमसेनलाई खुशी बनाएपछि उनको युद्ध सफल भयो । भिमसेन सफल भएलगत्तै युद्धमा होमिएलगत्तै उनले नौ पटकमा उनले आक्रमण गरेर थकानह्युल्सालाई आफ्नो राज्यमा गाभे । राजा पृथ्वी नारायण शाहले नौ पटक आक्रमण गरेर बडो दुःखजेला हुनेगरी जितेका समृद्ध पुर हुनाले बिजयको खुशीयालीमा नौलपुर नाम राखे ।

किवदन्तीअनुसार महाभारतकालिन पाँच पाण्डवका माइला भिमसेन नेपालको हाल इन्द्रावती गाउँपालिकाको नवलपुर र भिमटार क्षेत्र घुम्न आइरहन्थ्ये । त्यही गुप्तवास या भ्रमणको क्रममा उनी यहाँ आएर बसेका थिए । यहाँको शक्तिशाली मानिने भिमसेनको मन्दिर पत्ता लगाएकोबारे एउटा जनश्रृती प्रचलित छ ।

तिब्बतबाट भागेर आएका एक हुल बटुवा नेपाल खाल्डो आएपछि अहिले पारङखोरको एउटा खेतमा बास बसे । अगेनो बनाएर खाना बसाल्दा जति पटक बसालेपनि घोप्टिने भएपछि रिसले बटुवाले पन्युले चुलोको ढुंगामा हिर्काए । ढुंगाबाट चुलोबाट रगत आएपछि बटुवा बेहोस भए । ती बटुवालाई सपनामा आएर भिमसेनले ‘जेठो दोलखा भिमसेन, म माइलो भिमसेन हु , मेरो स्वयम्भु मुनी गाडिएको छ , त्यसलाई पुजा गरेर स्थपना गरे राम्रो हुन्छ’ भनेपछि यँहा मन्दिर स्थापना भयो ।

त्यसपछि ती बटुवा नै पांरखोरमा बसोबास गर्न थाले । भिमसेनस्थानको मुर्ती साखुबाट ल्याएको र मन्दिरमुनी अझै भिमसेनको स्वयम्भु छ भन्ने गरिन्छ । माइलो भिमसेनले आज्ञाले त्यहाँ स्थान बसेका हुनाले यहाँको तामाङ भाषामा ‘पारङ खोर’ भनिन्छ ।

नवलपुरमा ऐतिहाँसिक अवशेष
नवलपुरको माथिल्लो तल्लो गाउँमा अझैपनि ‘साङहोप’ भन्ने स्थान छ , जसको अर्थ घोडा दौडाउने स्थान भन्ने हुन्छ । पारङखोरका बटुवाले सुरु गरेको चौतारी घाङ जसको अर्थ कचहरी सुनाउने स्थान भन्ने हो । भोटे, मुल्मी जातीले त्यतिखेर व्यवसायिक रुपमा ऊन, फलामदेखि अनेक उत्पादनको पेशा अपनाएका थिए । त्यतिखेर यहाँका नकर्मीले बनाउने फलामे भाडाकुडाल् र मदिरामा नौलपुर चर्चित थियो । अझैपनि त्यहाँ फलामको किड र फलामे कुट्ने ढुंगा भेटिन्छ ।

इन्द्रावती गाउँपालिका भिमटार गाउँका रामजी दनुवारले घरको जग खन्दाखन्दै पुरानो कमण्डलु फेला पारे । तामा, फलामले बनेको देखिने सानो भाडामा केही नबुझिने अक्षरमा संस्कृतजस्तै शब्द लेखिएको देखिन्थ्यो । मन्दिर छेउका तल्लोटोलका सन्दिप दनुवारले घर बनाउनको लागि जग खन्दा एउटा सानो सिंहजस्तो जनावर देखिने मुर्ती पाए । भिमसेन मन्दिरमा ४० वर्षदेखि पुजा गर्दै आइरहेका रामविक्रम दनुवार मन्दिर छेउको उत्खनन् गर्दा संस्कृत अक्षरजस्तो लेखिएको शिलालेख भेटेको सुनाउँछन् । पुजारी दनुवारकानुसार २०४० सालमा अगुवा जगतलाल श्रेष्ठले भिमसेनको गधारत्न सारेर केही पर राख्न खोजेका थिए । तर गधारत्नको मुर्तीको छेउ भेटिएन्, बरु छेउ खन्दा शिलालेख फेला प¥यो । पाँच तले भिमसेनको मन्दिर भुकम्पले भत्काएपछि अहिले खुल्ला टहरामा बनाइएको छ ।

तत्कालिन नेपाल खाल्डाका मल्ल राजाले तिब्बतसँग व्यापार गर्न यही बाटो हुँदै सामाग्री लिएर जाने गरेको बताइन्छ । २०२८-०२९ सालअघि दोलालघाट पुल नहुँदा यही चौतारा, जलविरे हुदै स्थानीय तिब्बत जाने गर्दथे । काभ्रेको सीपाघाट हुँदै भिमटार, हुलाक, तिनधारा, झ्याडी, सिरुवारीबाट सदरमुकाम चौतारा बाट बलेफी गाउँपालिकाको जलविरेबाट चीनको तिब्बत पुग्थे । तिब्बतमा युद्ध हुँदा तयारीको लागि काजी भिम मल्ल यही भिमटारमा बसेका थिए । काजी मल्ललाई सपनामा भिमसेनले दर्शन दिएपछि मन्दिर बनेको स्थानीयको भनाइ छ । नवलपुरमा कुनै बेला दलित समुदायले बनाएको कलात्मक सरस्वतीको प्रतिमुर्ती छ ।

रहस्यमयी मायादेवी मन्दिर
बुढापाकाको भनाइ अनुसार २०२४ सालमा इन्द्रावती गाउँपालिकाको भिमटार छेउमा एउटा ठुलो ढिस्को या मायादेवीको मन्दिर थियो । प्राचिन थकाह्युल्सा राज्यका लोचन राजाले बनाएको २५ तले मायादेवी मन्दिर कुनै कारणवश भत्किएर ढिस्को बन्यो । त्यहाँ २५ तले महादेवीको मन्दिरको ढिस्को एकदमै चमत्कारी थियो । त्यहाँबाट अनेक धुन र आवाज आउने गथ्र्यो । त्यति बेला इन्द्रावतीको किनार भिमटारदेखि नवलपुर बजारसम्म काजी नेत्रविक्रम थापाको दबदबा थियो । उनले आफ्नो बगैचा बनाएर भिमटारलाई प्रयोगमा ल्याइरहेका थिए । त्यसैको पृष्ठभुमीलाई प्रतिकात्मक बनाएर साहित्यकार रमेश विकलले ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यास लेखे ।

मन्दिर भत्किएर बनेको एउटा ढिस्कोबाट सधै मध्यरातमा निलो ज्योती निस्किएर आकाश छुन्थ्यो । हेर्ने जति दंग पर्ने गथ्र्ये । दनुवारकाअनुसार २०२६ सालमा काजी थापाले कुनै अनमोल वस्तु हुने लोभले ढिस्को पुरा हटाएर केही फेला नपरेपछि स्वास्थ्य केन्द्र बनाए । आस्थाको केन्द्रबिन्दु मायादेवीको ढिस्को यसै भत्काउन स्थानीयले विरोध गर्ने देखिएपछि स्वास्थ्य केन्द्र बनाइएको थियो । जिल्लाको सदरमुकाम चौतारा हुदै नवलपुरको भिमसेन क्षेत्र सहजै जान सकिन्छ ।

रहस्यमयी महादेवका चार मन्दिर

कफेश्वर : बाह्रबिसे नगरपालिकाको सुनकोसी नदीकिनारस्थित देवाधिदेव महादेवलाई समर्पित मन्दिर कफेश्वर महादेवको शिवलिंग आफैमा रहस्यमयी मानिन्छ । यहाँको प्राचिन मन्दिरमा अनेकौ सन्यासी र जोगी आएर अझैपनि बस्छन् । जुरेपहिरो आउनुअघिको रात नौ बजे जुरेपहिरो सुरु भएको डाँडाबाट सेतो ज्वालाजस्तो निस्किएर सुनकोसीको कफेश्वर मन्दिरमा विलिन भएको बाह्रबिसे नगर भट्टेका प्रत्यक्षदर्शी अझै सुनाउछन् । जुरेपहिरोको ३६ दिन ताल थुनिएर भोटेकोशी भरिदै आएर सुनकोसीपारीको क्षेत्र पुरा डुबायो । क्रमशः खोला भरिएर आउन थालेपछि बाह्रबिसेबासी कुटो कुम्लो बोकेर भाग्न थाले ।

ठ्याक्कै कफेश्वर महादेवको मन्दिरछेउको किनारमा आएपछि थुनिएर आएको कोसी पनि अचानक रोकियो । यो हेरिरहेको प्रत्यक्षदर्शी अहिलेका बाह्रबिसेका वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ अझै चर्चा गर्छन् । पंक्तिकार स्वयं त्यतिखेर दुश्य हेर्दै थियो । कफेश्वरको किस्सा चर्चित तान्त्रिक देवशर्मासँग समेत जोडिएको छ ।

मन्दिरको माथिल्लो तलामा दुई वटा परेवाको जोडि बस्छन् , भुकम्पले मन्दिर क्षतिग्रस्त हुँदा पनि अन्य परेवा उडेपनि ती जोडी कतै गएनन् । मन्दिरमा कहिलेकाही ठुला अनौठा सर्प आएर लिंगमा बेरिएर कतै हराउछन् ।

बसन्तेश्वर : सुनकोसी गाउँपालिका वडा ७ बसन्तपुरस्थित दुईसय वर्ष पुरानो बसन्तेश्वर महादेव मन्दिर झनै अनौठो छ । भगवान शिवले तपस्याको लागि रोजेको हिमालय,कैलाश मानसरोवर जानुअघिको यहा आराम गरेको उल्लेख छ । प्राया शिवलिंग प्राकृति रुपमा स्वयम उत्पन्न भएको मानिन्छ त्यस्तै बसन्तेश्वर शिवलिंगमा तीन वटा लिंग छन् । चारैतिर फैलिएको मन्दिरछेउमा चर्चित स्वामी हंसानन्द,बसन्तलगायतका अनेक ऋषिमुनीले तपस्या गरेको मानिन्छ ।

लट्टेश्वर: त्रिपुरासुन्दरी गापाको चोकटीमा रहेको वृक्षमुनी रहेको कलात्मक लट्टेश्वर महादेवको मन्दिरमा एउटा अदभूत उर्मिएको पानीको कुण्ड छ । त्यहाँ चोबलिएमा लाटो मान्छे बोल्ने जनविश्वास छ । धेरैले बच्चा नबोलेपछि त्यहाँ लगेर चोबलेपछि बोलेको कुरा अझै सुनाउँछन् । त्यहाँको रहस्यमयी किस्सा झनै धेरै छन् ।

कपिलेश्वर: बलेफी गाउँपालिका वडा ५ स्थित कपिलेश्वर मन्दिरको बारेमा किस्सा सुनेर साध्यनै छैन् । सयौ वर्ष पुरानो मानिने चर्चित कपिलेश्वर महादेवको मन्दिरमा एकदमै आर्कषक अरुभन्दा फरक शिवलिंग छ । यहा कपिल ऋषि र अनार्यकालिन धेरै राजाले आएर त्रिशुल चढाएका थिए । बर्खापिच्छै एकपटक मात्रै यो शिवलिंगसहित मन्दिर पुरै डुब्छ ,तर यहाँको फुक्काफाल राखिएका त्रिशुल,रुद्रराक्ष केही बग्दैन् । यसबारे सबै अचम्मित छन् ।

पाँचपोखरी गापाको महादेवको ‘जुग्रोरुङ’ शंख
ड्राइगन आकृतिमा केही कलात्मक घेरा छन् । कुनै मन्त्र कुदिँएकोजस्तो देखिने ठ्याक्कै शंख आकारको सानो ढुंगामा रातानिला ध्वजा र श्वर्ण त्रिशुल चढाइएका छन् । दुई हजार ७ सय मिटरको उचाइमा रहेको पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा ६ थाङपालधाप लेखर्क थाम डाँडोस्थित शंख स्वरुपको ढुंगा अगाडी पुग्ने जोकोही चकित परेर हेरिरहन्छन् । पाँचपोखरी थाङपाल गापा वडा ६ का तामाङ र शेर्पा समुदाय यहाँको ढुंगे शंखलाई आदियोगी देवाधिदेव महादेवको शंख हो भन्ने मान्छन् । ‘यहाँको जुग्रोरुङ शंख अगाडी आउपुग्ने जसलाई पनि आनन्दले छोप्छ, यो पत्थररुपी शंखको महिमा पनि यस्तै छ ,’पाँचपोखरी थाङपाल गापा वडा ६ का अध्यक्ष मानबहादुर तामाङले भने । दुई हजार ५ सय वर्ष पुरानो मानिने जुग्रोरुङ शंख ,सुन्दरतम पाँचपोखरी र अचम्मको ‘ड्रागन गुफा’को सम्बन्ध ऐतिहासिक रहेकोले यसलाई पर्यटनमा जोड्दै पदमार्ग बनाउनमा कस्सिरहेको उनले सुनाए ।

पाँचपोखरीसम्म केबुलकार लैजाने लक्ष्य राखेको पाँचपोखरी थाङपाल गाउँपालिकाले पुरानो ‘जुग्रोरुङ महादेवको शंखको गएको महाशिवरात्रीमा उत्खनन् गरेको थियो । यसबारे अन्य गहन र फरक रोचक तथ्य पत्ता लगाउन थप पुरातात्विक अध्ययन सुरु गरिने उनले उदाहरण दिए । ‘यो पत्ता लागेको मात्रै दुई हजार ५ सय वर्ष भयो , कति पुरानो हो भन्नै सकिन्न , ’उनले भने ।

वैदिक साहित्यअनुसार महादेवलाई सभ्यता र परमबोध धर्मका प्रर्वतक मानिएको छ । योग ,तन्त्र मन्त्रदेखि संगितका इष्टदेव मानिने नटराज शिवले सम्पूर्ण सृष्टीमा आत्म संगितबाट उत्पन्न गरेपछि आफ्नो शंख ,त्रिशुल तपस्यास्थलमा छोडेको जनश्रृति पाइन्छ । ‘महादेवले यहाँ शंख छोड्नुभएको शंख यही हो , यो फुक्न एकदमै गाह्रो हुन्छ , यो फुके अनौठो आवाज आउछ अनि एक्कासी अस्वभाविक वातावरण बन्छ,’थाङपालधापका अगुवा ९२ वर्षे पाङदोर्जे तामाङले भने ।

उनकाअनुसार दश वर्षअघि महाशिवरात्रीमा एक पटक मात्रै यो शंख फुकिएको थियो । त्यसबेला पाचपोखरी र हेलम्बुको सीमाक्षेत्र ह्योल्मो महादेव(धनकी देवी)आमायांग्री , पाँचपोखरी वडा ८ मा रहेको नौलिंगेश्वरी मन्दिरदेखि पाँचपोखरीसम्म चर्को हावाहुरी चलेपछि स्थानीय आत्तिएका थिए । ‘त्यसपछि फेरि यो शंख फुकिएको छैन्, महादेवजस्तै सिद्धपुरुषले मात्रै यो फुक्दा शुभ लक्षण जुर्छ ,नभए अन्यथा हुन्छ ,’उनले भने । नाथ सम्प्रादयका महायोगी गोरखनाथले पनि हेलम्बु र पाँचपोखरीको यस स्थानमा आएर शंखनाद गरेको कथन सुनिँदै आएको उनको भनाइ छ ।

 


क्याटेगोरी : ब्लग / विचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!