तीज र मेरी दिदी

रमेश लामा
हरितालिका तीज, नारीहरुको लागि महान पर्व हो । हिन्दुहरुको महान पर्व मध्ये तीज पनि एक हो । तीजको अवसरमा नारीहरुलाई बिशेष छुट साथै कर्मचारी महिलाहरुको लागि बिदा पनि हुन्छ । पछिल्ला दिनहरुमा नारीहरुले मात्रै नभएर पुरुषहरुले पनि दिदी बहिनीहरुसंग रमाईलो गरेर यो पर्व मनाउदै आएका छन् । हप्ता दिन अघिदेखि नै साथी – साथी, आफन्त –आफन्त बीच दर खाएर रमाईलो गर्ने दरको रुपमा मिठो मिठो परिकार बनाएर खाने गरिन्छ । महिला दिदी बहिनीहरुका लागि हरितालिका तीज बर्र्षको तीन सय ६५ दिन मध्ये एक विशेष दिन हो । तीजमा बिबाहित महिलाहरू आफ्नो श्रीमानको लामो आयुको लागि ब्रत बस्ने गर्छन् । अबिबाहित महिलाहरु भने राम्रो पति पाउनका लागि निर्जल ब्रत बस्ने गर्छन् । अझ यो दिन बिबाहित महिलाहरुको लागि बिशेष दिन हुने गर्दछ । माइतीले आफ्ना चेलीलाई विबाह घरबाट जन्म घरमा निम्ता गरि बिशेष बनाई दिने गर्दछन् । मिठा मिठा खानाको परिकार, राम्रा राम्रा लुगा, गहाना उपहार दिएर आफ्ना दिदीबहिनीहरुलाई खुशी बनाउने गर्दछन् । विशेषत यो दिन चेलीले माइतीलाई र माइतीले चेलीलाई सम्झिने दिन हो ।
मेरी दिदीः एक आमाको स्वरुप
मेरी दिदी, जो मेरो लागि आमाको एक स्वरूप हुनुहुन्थ्यो । जस्ले मेरो निमित आमाको सम्पुर्ण जिम्मेवारी ग्रहण गर्नुभयो । मान्छेले जन्मपछि संसारमा एउटा पहिचान बोकेको हुन्छ । मेरो जन्मपछि यो संसारमा उनैले मान्छेको पहिचान स्वरुप रमेश नाम दिनुभयो । यो धर्तीमा ताते ताते गर्दै मेरो पाइलाहरु चाल्न सिकाउने तपाईलाई नमन गर्छु । मलाई हुर्काउनु भयो, बढाउनुभयो । म प्रशन्न छु, उहाँले मलाई सानोमा आमाले जस्तै दिनुभएको माया, ममता,स्नेह प्रति । कहिले काहि ती बाल्यकाल फेरि फर्किदिए हुन्थ्यो जस्तो लाग्छ । आमा समानको दिदीको हातबाट टाउकोमा लगाएको तेल,म रिसाउदा फकाउदै खाना खुवाउनु भएको त्यो दिन । आहाँ कति राम्रो हुन्थ्यो होला । कति साथीहरुको बाल्यकाल नमिठो हुन्छ भनेको सुनेको छु तर मेरो बाल्यकाल मेरी दिदीले यस्तो बनाइदिनु भयोकी संसारमै मिठासपुर्ण बाल्यकाल भएको भाग्यमनी सायद म नै छु होला ।
हामी किसान परिवारको मान्छे आमालाई खेतिपातीको कामको व्यस्ताताले मेरो लागि समय निकै कम हुन्थ्यो । बचपनमा आमाले दिनुपर्ने माया र काख तपाईबाट पाए । म भोकाएर रुदाँ हजुरले पिठ्युमा बोकेर थरीथरीका लोरी सुनाएर कयौ पटक भुलाउनु र सुताउनु भएको थियो । त्यो बाल्यकालको जिद्धीपनामा हजुरलाई दिनुसम्म दुख दिएँ होला भाइको बच्पनालाई तपाई प्रेमका साथ माफी दिनुहुन्छ यसमा दुइमत छैन् । तपाईको पिठ्युमा कयौँ पटक निदाएर मिठा नमिठा सपना देख्ने चाहाना छ दिदी भगवानको मर्जि भए । तपाईको माया मिस्सिएको जुठो गाँस अझै पुगेको छैन् । कहिले कहि बचपना याद गर्दा मेरो मनले प्रश्न गर्छ । मैले कयौ पटक हजुरको पिठ्युमा अन्जानमा शौच पनि गरेँ हुँला ?
मेरो अक्षरअंशको पहिलो शिक्षिका :
भनिन्छ मान्छेको पहिलो शिक्षिका आमा हो । तर मेरो पहिलो शिक्षिका मेरो दिदी हुनुभयो । मेरो जीवनको पहिलो अक्षर ‘क’ जुन शब्द जो कोहीलागि लेख्न र उच्चारण गर्न धेरै समय र सिक्न गाह्रो पनि हुन्छ । तर दिदीले मलाई सजिलै पढ्न र लेख्न सिकाउनु भयो । सानो छँदा नजान्दा पिटी पिटी क , ख , ग र बाह्रखरी चिनाउने उहाँ नै हुनुहुन्छ । जुन सिकाइले मेरो अध्ययनलाई रफ्तारमा अगाडी बढाउन मद्दत पुग्यो । उमेरले करिब ८ , ९ बर्ष अन्तरालमा परिवारमा दिदी पहिलो सन्तान र म दोस्रो सन्तानको रुपमा आमाबुबाले जन्म दिनुभयो ।
सानो छदाँ आमा र साथी दिदीनै भएकाले दिदी सधै आफैसंगै विद्यालय लिएर जानुहुन्थ्यो । विस्तारै स्कुल जाने बानी भएपछि दिदीले मलाई कक्षा एकमा भर्ना गरिदिनुभयो । विहान १० बजे लाइनबस्ने गरि दिदीको हात समाएर गाँउको गोरेटोबाटो हुदै हामी स्कुल पुग्थेउ । विहान कक्षामा लगेर छोड्नु हुन्थ्यो र छुट्टी भए पछि हातको औला समाएर सँगै घर ल्याउनु हुन्थ्यो । कहिले काही कक्षामा बेन्चमै निदाउँथे, म निदाएको समय दिदि मलाई झयालबाट हेरेर मेरा ख्याल राख्नु हुन्थ्यो । विद्यालयको टिफिन समयमा पनि खेल्नको लागि समय छुट्याउनु हुन्थ्यो ।
अब्बल विद्यार्थी : हामी दिदीभाई
दिदी पढाईमा अब्बल हुनुहुन्थ्यो । पढाई प्रति गहनता देख्दा मलाई पनि दिदीले जस्तै पढ्न मन लाथ्यो । म दिदी र दिदीको साथीहरुको प्यारो भाई थिए । समय विते सँगै मेरो पनि उमेर बढ्दै गयो । दिदीले डो¥याएर विद्यालय पुग्ने म एक्लै हिड्न सक्ने भए । विद्यालय एउटै थियो तर हामी छुट्टा छुट्टै कक्षामा आफ्नो पढाईलाई निरन्तरता दिन थाल्यौं । विद्यालयमा म पनि दिदीझै प्रतिभशाली विद्यार्थीको रुपमा चिनिन्थे । उमेरसंगै दिदीलाई घरको काममा साथीगर्थे । दिदी सँगै दाउरा घाँसमा जान्थे । कहिले काही खुट्टा दुखेको बहानाले दिदीको न्यानो पिठ्युको साहरा दिन दिदीलाई अनुरोध गर्थेँ, दिदी हार खानुहुन्थ्यो र मायाले गाला चिमोट्दै सकि नसकि बोक्नु हुन्थ्यो त्यो पल दिदी हामी दुवैको लागि उतिकै यादगार छ ।
दिदीको प्रेम विवाहः विक्षिप्त म
समय चक्रसंगै दिदी शरिरिक रुपमा परिपक्व हुनुभएछ क्यार दिदि कसैको प्रेममा पर्नुभएछ । जुन कुरा परिवारमा कसैलाई पनि थाहा थिएन् । एसएलसी दिनुअघिनै दिदीको सुटुक्क भागी बिबाह भयो । म सानै थिए, बिबाहको अर्थ थाहा थिएन मलाई । दिदीले मलाई छोडेर जानु भएको भन्ने नै थाहा भएन । दिदि आउनुहुन्छ भनेर आँगान हेरेर दिन कटाउथे । दिन फेरिदै आउथ्यो दिदि आउनु हुन्न थियो । म दिदीलाई सम्झेर असाध्यै रुन्थे । कति कराएँ, एक्लै बरबराएँ यस्ता कयौ दिन,महिना,बर्ष दिदीको यादमा विताए । कति दिन खाना खाईन । दिदी कहाँ गइन् मनमा बेचैन भइरहन्थ्यो मलाई । कति दिन विद्यालय छुटाए । दिदीको यादले रोएको आँखाहरु लुकाउन सक्दिनँ थिए म ।
धेरै जसो दिन विद्यालय गयल हुन्थ्यो । सायद दिदी मसंगै नहुँदाको दिनले विक्षिप्त थिए । म विद्यालय छोड्ने भइसकेको थिए । त्यति बेला म कक्षा ५ मा अध्ययनरत प्रतिभाशाली छात्र थिए । जेहेन्दार विद्यार्थी भएकै कारण विद्यालयबाट हाजिर हुन घरमा खबर आएछ । दिदीको यादमा बेचैन भएको मेरो मन मष्तिस्क दिदिसंगै पैदल गरेको बाटोमा एक्लै विद्यालय जान सुरु गरे । धेरै साथीहरु हुन्थ्ये तर मेरो दिदी जस्तो साथी कोहीपनि हुन सकेन् । घरबाट विद्यालय जाँदा र आउँदा दिदीले हात समाएरसंगै लगेको झल्झल्ति आखाँमा बाटोमा हिड्दै गर्दा आउँथ्यो । आशू झर्दै बाटो कटेको थाहानै हुदैन थियो ।
दिदीको साथीहरु सबै एसएलसी पासपछि सहरको कलेज पढ्न गईसकेकोले विद्यालयमा दिदीको बारेमा खासै चर्चा गर्ने कोही हुदैन थिए । दिदी हाराउनु भएको करिब ४, ५ बर्ष नै अत्तो पत्तो भएन । उनी कहाँ के गर्दै छिन मनले प्रश्न गथ्र्याे तर म संग जवाफ नहुँदा म मौन बस्थे । अहिलेको जस्तो मोवाईल फोन,फेसबुकको जमाना थिएन । दिदी सम्पर्कमा आउन धेरै समय लाग्यो । दिदी सम्पर्क विहिन भएको करिव ५ वर्ष पछि दिदी पुगेको ठेगाना पत्ता लाग्यो । भेटघाट हुने सम्भावना थिएन पत्ता लागेको ठेगानामा पत्र लेखेँ । दिदी नहुदाँको मेरो मनका पिडा, दुख,मनमा लागेको चोटहरु, दिदीको यादमा तड्पेका ति पलहरु पत्रमा उतारे । त्यो पत्र आजको मिति सम्म दिदीले प्राप्त गर्नु भयो भएन थाहा छैन । तर म आज सम्मपनि त्यसको पत्रको जवाफ आउने आशामा छु ।
परिवारमा बहिनीको आवागमनः
दिदीको विहे पश्चात परिवारमा म एक्लो सन्तान थिए । भगवानको कृपाले हाम्रो परिवारमा लक्ष्मीको रुपमा बहिनीको जन्म भयो । दिदीले मलाई पिठ्युमा बोकेर लोरी सुनाउदै फकाउनु भएको जिम्मेवारी मेरो काँधमा आयो । सायद दिदीले विहे नगर्नु भएको भए बहिनीको हेरचाह दिदीले नै गर्नुहुन्थ्यो होला । दिदीले म सानो छदा मेरो लागि जे गर्नुहुथ्यो म त्यही विगतका दिनहरु सम्झेर दिदीले मलाई गरे जस्तै बहिनीको हेरचाह गर्थे । विद्यालय जाँदा मलाई दिदीले डो¥याए जसरी नै मैलेपनि बहिनीलाई डोहो¥यार बहिनीलाई विद्यालय लान्थे र सोच्थेँ दिदी भएको भए सायद मैले भन्दा धेरै माया गर्नुहुन्थ्यो ।
दिदीले गरेको माया जति मैले बहिनीलाई गरेँ कि गरिन त्यो मलाई थाहा छैन तर मैले आफ्नो दायित्व र कर्तव्य र दुबै पुरा गरे झै लाग्छ । बहिनीको हेरचाह र पढाइमा व्यस्त भएकै कारण बिस्तारै दिदीको यादहरु भुलाउन थाले । प्रथम श्रेणीमा एसएलसी पास गरेपछि । मेरो ध्यान उच्च शिक्षामा थियो । प्लस टु जोइन गरे र त्यहि विद्यालयबाट पास गरे । त्यस समय बहिनी पनि ठूली र निक्कै बुज्ने भइसकेकी थिइन् । धेरै समयको अन्तराल पछि दिदी पुगेको ठाँउ, दिदीको अवस्था, मेरो भान्जा भान्जी भईसकेको र भिनाजु जागिरे भन्ने खबर प्राप्त भयो ।
दिदीको याद र प्रतिक्षामा बितेका मेरा दिन समाप्तः खुशीको सिमा थिएन
मिति ठ्याक्कै याद भएन तीजको बेला दिदी लामो बर्षापछि हामीलाई भेट्न घरमा आउनुभयो । दिदीलाई भेटेको दिन संसारनै जितेको महसुस भएको थियो निकै हर्षित थिए म । दिदी आउनु भयो पहिलाको भन्दा धेरै फरक हुनुहुन्थ्यो, दुब्ली देखिनुहुन्थ्यो । भान्जा, भान्जी सानै र घरको पिरले पनि होला । मनमा दिदीको शािररिक अवस्था देख्दा मन मनै दुख लागेको थियो । तर भन्न सकिन् । त्यो समय मेरो उमेर १५, १६ पुगेको होला ।
दिदी लाई भेटदा खुसी र दुखको कुनै प्रतिक्रिया मैले जनाईन किनकी त्यो पहिलाको मेरो दिदी नै हो जस्तो लाग्दैन थियो । बिलकुलै फरक, मसँग भएको पहिलाको दिदी र अहिलेको दिदी नै फरक हो जस्तो लाग्यो । जति पहिला दिदीसंग झुम्मिन्थे दिदीसंग बोल्थे त्यो भेट अन्जान बन्यो दिदीभाइको प्रेमिल सम्बन्ध । केही दिनको बसाईपछि दिदी भान्जा भान्जी लिएर आफ्नो घर फर्कनुभयो । दिदी घरफिर्नु भएपछि मैले सोच्न थालेँ किन दिदीमा यति धेरै परिवर्तन आयो र मलाई माया नगर्ने हुनुभयो ।
जागिरे जीवन
पढाई पुरा भएपछि म नेपाल सरकारको नेपाल प्रहरीमा इन्सपेक्टरमा भर्ती भए । आजपनि काममा व्यस्त भएपनि दिदीलाई सम्झने गर्दछु । दशैँ, तिहारमा दिदी माईती आउनुभएता पनि विवाहपछि पहिलो पटक दिदी तीजमा माईती आउनु भएको याद छ । तीजमा महिला साथीहरुलाई जागिरमा विदा हुन्छ । म पनि काममा व्यस्त भएपनि आफ्ना दिदी र बहिनीलाई सम्झन्छु । तीजमा मेरो दिदीलाई पनि अरू महिलाहरुलाई जस्तै माईत जान मन लाग्छ होला । आफू हुर्के, बढे, पढे, लेखेको सम्झना झल्झझल्ति आउँछ होला । आफूले सानैमा छाडेको गाउँको याद आाँखामा झलझल्ति आउँछ होला । तिजमा दाजुभाईसँगै नाचेको पालहरु याद बनेर मष्तिस्कमा जम्छ होला । रातो सारीमा हरियो पोतेसँगै छड्के तिलहरीमा सजिएर छमछमी नाच्न मन पक्कै लाग्छ होला । दाजुभाईहरुसँगै बसेर दर खान मान लाग्छ होला ।
हामीले कुनै पनि तीजमा फुर्सदको समय निकालेर दिदीबहिनीहरुलाई समय दिन सकेको छैनौँ । चित्त दुख्छ होला । व्यस्ततालाई बुझेर क्षमा गरिदिनु । खुबै जागिरे भका रैछौ ? भनेर मन मनै गाली गर्दा पनि हुन्छ हजुरले । दिदी आज म जहाँ छु हजुरको कारण छु । हजुरले हात समाउँदै डो¥याएर उज्वल भविष्य देखाउनुभयो । हजुरले एउटा छोरालाई झै मलाई माया र जेहेन्दार बनाउने प्रण गर्नुभएको थियो । आज हजुरको भाईले पनि हजुर जस्तै कयौँ नेपाली चेलीहरुलाई हर प्रहर दुखमा मलमपट्टी लगाउने प्रण गरेको छ । तीज मात्रै होईन हरेक दुख र पिडामा साथ र सहयोग गर्ने बाचा गरेको छु ।
अन्यायमा परेकालाई न्याय दिनका लागि दिन रात अहोरात्र खटेको छु । हजुरले राख्नु भएको मेरो नाम सँधै उच्च राख्ने बाचा गर्छु । हजुर जस्तै दिदी बहिनीहरुले तीज मनाउदै गर्दा ढुक्कले तीज मनाउने वातावरणको लागि पहरेदारको रुपमा उभिनेछु। यो बन्दाबन्दीले गर्दा टाढा भयो भनेर पिर र चिन्ता नगर्नुहोला दिदी । म सँधै हजुरको साथमै हुनेछु । हजुरले डो¥याएको असल बाटो सँधै रोज्नेछु । हजुर पनि अरु दिदीबहिनी जस्तै यो तिजमा रमाउनुहोस। खुसी हुनुहोस् यो भाईको सँधै माया छ । हार्दिक शुभकामना दिदी ।
हाल सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यलय
क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस