शुक्रबार, असोज १, २०७८
गृहपृष्ठविचार/अन्तरवार्तासिन्धुका सात अचम्मका घटना: सुन्दा असत्य तर सत्य

सिन्धुका सात अचम्मका घटना: सुन्दा असत्य तर सत्य


अनिश तिवारी
सिन्धुपाल्चोक । हुन त यो विश्व, ब्रम्हाण्ड र प्रकृति अनेक रहस्यले भरिएको छ । यहाँ मानिसको क्षमताले नभ्याउने अनेक प्राकृतिक र भौतिक घटना घटेका घटिरहेका हुन्छन् । जसको बारेमा पछिसम्म लोक कथा, दन्त्य कथा र रोचक किस्सा बन्ने गर्छ । जनजिब्रोमा प्रचलित कुनै हल्ला मात्रै नभई सिंगो समुहले देखेका यस्ता अचम्मका घटना कति छन् कति ? यसलाई जानेर बुझेर सामान्य दिमागले भ्याउदैन् । जसलाई सुनेर चाख लिनुबाहेक अरु विकल्प रहदैन् । रहस्यले प्रकृति ,चेतना र जीवनलाई एकै तादम्यममा जोडेकाले हामी चाहेर पनि यसबाट बाहिर हुन सक्दैनौ ।

ध्यानपूर्वक हेर्ने हो भने हामी आफैमा रहस्य हौ, हामीभित्रको प्राण या बोली आमाको पेटमा गर्भरुपमा आउनुअघि कहाँ थियो ? मृत्युपछि कहाँ जान्छ ?आखिर यो अखिल सृष्टि वा हामी पृथ्वीमा हुनुको कारण के हो ? यस्ता प्रश्नहरु असंख्यौ छन् । जसको हामीसँग जवाफ छैन् । यसलाई रहस्यवादीहरु अदुश्य शक्तिका रुपमा मान्छन् भने, रहस्य धर्म हिन्दु, सुफी, जैन, एजिरस, बोनलगायतका धर्मअनुयायी कुनै चमत्कार या दैवी शक्ति, आत्म भनेर उल्लेख गर्छन् । यस्तो घटनाले मानसिक क्षमतालाई एकदमै सोचमग्न र धरमराइदिन्छ । यहाँ सिन्धुपाल्चोकका अनेकमध्ये यस्ता सात रहस्यमयी घटना उल्लेख गरिएको छ । जुन मैले रिपोर्टिङ र खोज अनुसन्धानको क्रममा पाए । यसलाई यहाँ पस्किएको छु , मान्नुस या नमान्नुस तपाईको इच्छा ।

दुधालु गोरु

उखानै छ गोरु ब्याउदैन् र दुध पनि दिदैन् तर, हेलम्बु गाउँपालिकाको इचोकको पुरानागाउँमा एउटा यस्तो गोरु छ ,जसले दुध दिन्छ । गोरुको राजखानीछेउको दुई वटा तन्तुबाट दुधको थोपा खस्न थालेपछि गोरु मालिक सोनाम तामाङ दंग परेका छन् । अनुमानको भरमा दुहुदा दुध झरेपछि उनी चकित परे । चारम हिनादेखि जुठो नखाने र जोत्न लैजादा आफैले डो¥याएर लानुपर्ने बानी गोरुको देखिएको उनले सुनाए । गोरुले दुध दिएपछि उनको घरमा गोरु हेर्ने आउनेको लर्को दिनहु बढ्न थालिसकेको छ ।

गोरुको दुुध गाईभैसीको दुधभन्दा खासै फरक छैन् । अरुभन्दा कैलो र अलग्गै देखिने यो गोरुलाई वर्षदिन अगाडी मात्रै किनेर ल्याएको सोनामका जेठा बाजे म्वाईलामा सुनाउँछन् । गोरुको दुध परीक्षण र अध्ययनलाई अगाडी बढाइने हेलम्बुका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘यसमा केही चमत्कार नै रहेको हुन सक्छ भनेर माया गरेर राखेका छौ,’उनले भने । वरिष्ठ पशु चिकित्सक डा शरदसिंह यादव भने गोरुले दुध दिनु विज्ञानअनुसार संम्भव नरहेको सुनाउँछन् । ‘कुनै हालतमा विज्ञानको नजरमा यो संम्भव छैन्,’उनले भने । उनले सम्बन्धित निकायको विस्तृत अध्ययन अनुसन्धानपछि मात्र केही भन्न सकिने बताए ।

जब पोखरीमा हाम फालेर मरे १६ बाँदर

चौतारा साँगाचोकगढी नगरपालिकाको वडा १३ स्थित महाकालेश्वर मन्दिर छेउमा एक बाँदर केही सेकेण्ड घोरिएर हेरेलगत्तै पोखरीमा खुलेर छलाङ लगायो । छलाङलगत्तै डुबेको बाँदर छट्पटएको देख्नेबित्तिकै हतारिएर आएको अर्को बाँदर आएर ‘बचाउने शैली’मा एकै झट्कामा हाम फाल्यो । अनि फेरि के थियो र , दुई वटा बाँदर तड्पिरहेको ट्यांकीमा आएर हाम फाल्ने बाँदरको लर्को नै लाग्न थाल्यो । कुन्नी बाँदरहरुले पोखरीमा त्यस्तो के देखे जुन हेरेर एकाएक ‘स्वीमिङ पुल’मा गर्मी मनाएझै पौडिए । या मानौ बाँदरहरु कुनै गहिरो तनावलाई लिएर सामुहिक रुपमा आत्महत्या गर्दै थिए ।

एकाबिहानै धान खेतमा पानी थुन्न गएका क्षेत्रबहादुर दुलालले बाँदरको ठुलो स्वरमा चिच्याउँदै रुदै गरेको चर्को आवाज सुने । दंग पर्दै आवजतर्फ हान्निएका दुलालले जब पचासौको संख्यामा पोखरीमा हाम फाल्न लम्किरहेका बाँदरको हुल देखे अनि अचम्मित भएर रोकिएर एकछिन् ध्यानपूर्वक हेरे । उनको आफ्नै आँखाप्रति निश्चिन्त नभएपछि आँखा मिच्दै हेरेर आफुलाई चिमोटे ,भइरहेको त्यही थियो जुन प्रत्यक्ष मृत्युकाण्ड घटिरहेथ्यो ।

आफ्नै अगाडी झण्डै २५ वटा बाँदरले निस्सासिँदै कराइरहेको देखेपछि दुलालले आत्तिएर छिमेकी कुस्माखर दुलालसहित स्थानियमा खैलाबैला गरे । स्थानीयलाई पोखरीमा कुद्ने तैयारी गरिरहेका बाँदरको समुहलाई धपाउन हम्मे हम्मे प¥यो । यस्तो घटनाले विरक्तीएका स्थानीयले उद्धारकार्यलाई प्राथामिकता दिँदै पोखरीमा डुबेका बाँदरलाई झिक्न थालेको स्थानीय कुलप्रसाद दाहालले बताए । ‘अरु हाम फाल्न आटेकालाई धपाएर ९ वटा मात्रै बचाउन सकियो, १६ वटा डुबेर निस्सासिँदै मरिसकेका रहेछन्, यो दुखद घटनाले सबैलाई अचम्मित र निराश बनाएको छ,’दाहालले भने । आफ्नै छाँया देखेर डुबेको बाँदर बचाउने होडमा बाँदर हाम फालेको या अग्रज बाँदरको अभिनय गरेको हुनसक्ने अनुमान लगाइएको प्रहरीले जनाएको छ । ‘त्यसमा सत्यता जे पनि हुन सक्छ, त्यो एक प्रकारले रहस्य नै बनेको छ,’चौतारा साँगाचोकगढी नगर वडा १३ का अध्यक्ष रामप्रसाद गौतमले भने ।

जिल्लादेखि देशभर एकै पटक यत्रो बाँदरले सामुहिक रुपमा आत्महत्याजस्तो गरेको घटना यो पहिलो पटक भएको देखिन्छ । जिल्लाका विभिन्न क्षेत्रमा फरक प्रजातीमा सयभन्दा विभिन्न समुहका राता बाँदर बढी रहेको निष्कर्ष बाँदर विशेषज्ञले लगाएका छन् । वरिष्ठ बाँदर विशेषज्ञ डा मुकेश चालिसे भने यसरी बाँदरले छाया देखेर हाम फालेको हुने कुरा लगभग असंम्भव रहेको बताए । ‘बाँदर मज्जाले पानीमा पौड्न सक्छ, पोखरीमा कुनै खानेकुरा लिने होड्मा यो भएको हुनसक्छ, या पोखरीमा करेन्ट लगाइएको हुनसक्छ,त्यत्तिकै बाँदरले हाम फाल्दैनन्,’उनले भने । यसरी बाँदरले सामुहिक रुपमा हाम फालेको कुरा पहिलो पटक पाएको सुनाउँदै उनले यसमाथि अनुसन्धान हुनुपर्ने जनाए । जनावरमा आत्महत्या गर्ने संवेदना नहुने पशु विशेषज्ञ बताउँछन् ।

एलियन या केही

केही समयअघि चौतारा साँगाचोकगढी नगरको स्याउलेमा एलियन या अनौठो कुरा देखिएको हल्ला चल्यो । जसको बारेमा प्रत्यक्षदर्शी गाउँलेले दैवी शक्ति या अरु केही भनेर उदाहरण दिए । त्यस्तै पाच वर्षअघि स्याउलेको जंगलमा बाख्रा भैसी चराइरहेकाहरुले दिउसो अनौठो दुश्य देखे । एउटा सेतो ठुलो घोडा थियो , जुन मान्छेझै तर आकारमा एउटा भिरजत्रै देखिन्थ्यो । शिर टोप वाला मान्छे घोडा चढेर जादै थियो । स्थानीय कुमार आचार्यका अनुसार गाउँले स्याउले डाँडामा बाख्रा चराइरहेका थिए । अचानक स्याउलेबाट देखिने पल्लो आकाशको ढिस्कोबाट अस्वभाविक दुश्य देखियो । एउटा भयंकर (त्यसको आकार मान्छेजस्तै तर एकदमै ठुलो) सेतो घोडामाथि बस्ेको सेतो रंगको मान्छे निक्लियो ।

उसको आकार ठ्याक्कै घोडाबराबर नै देखिन्थ्यो । घोडा यति ठुलो थियो की त्यसको एक पाउ स्याउलेको एउटा सिंगो भिर बराबर नै थियो । त्यो घोडामा चढेको मान्छेजस्तै ठुलो जिव अजंगले बसिरहेको थियो । प्रत्यक्षर्शीकाअनुसार त्यहाँ अजंगको मान्छे देखेपछि होसहवास उड्यो ,सबै बाख्रा, गाईगोरु मान्छे सबै आत्तिएर भागभाग चल्यो । त्यो घोडाको एक पाउ स्याउलेको एउटा भिरमा टेक्यो र अर्को पाउ चौतारा नाघेर अर्को भिरमा । त्यसरी त्यो घोडासहित मान्छे हिडेर गायब भयो । यसबारे देख्ने स्थानीयमा खैलाबैला मच्चियो । यसबारे आत्तिएर कसैले तस्विर, भिजुअलजस्ता प्रमाणस्वरुप केही खिचेनन्, फलस्वरुप यो किस्साकै रुपमा बन्न पुगेको संञ्चारकर्मी रामकृष्ण थापा बताउछन् । ‘यो भएकै घटना हो तर यसबारे प्रमाण नभएपछि कथाजस्तै बन्यो,’उनले भने

बेलुकी उड्ने सेतो घोडा राजा र चरा

बाह्रबिसे नगरपालिका वडा ९ राम्चेमा प्रसिद्ध गोल्माथान मन्दिर छ । जसको माथि दरबार आकृतिकै कलात्मक अजंगको भिर तल राजाले काटेको मुकुट्टा आकारको ढुंगा , सन्दुक र हात्ति बाध्ने किला छ । यहाँ स्थानीयले धेरै अचम्मको र रहस्यमयी घटना अनुभव र दुश्य देखेको अनेक किस्सा प्रचलित छ । बाह्रबिसे नगर गापा वडा ९ का वडाध्यक्ष सानु लामाकै पूर्वज र अन्य धेरै स्थानीयले देखेको एउटा घटनाबारे अझैसम्म यो हो भनेर तथ्य दिन सकिदैन् । बेलुकी भएपछि यहाँ एक सेतो कपडा र मुकुट लगाएको राजा सेतो घोडामा उड्ने गर्छ । बेलुकी मन्दिरबाट उडेर कतै हराउने घोडासहित त्यो अचम्मको चिज पुन बेलुकी नै भिरमा गएर अदुश्य भएको दुश्य धेरैले देखेका छन् । वडाध्यक्ष सानु लामाका पूर्वज र स्थानीयको अनुभव सुनाउँछन् । त्यस्तै ४० वर्षअगाडीको कुरा हो । गाउँका केही महिलाहरु राती शौच बस्न डाँडामा गए ।

त्यतिखेर शौचालय हुदैनथ्यो , गाउँमा खुल्ला हुन्थ्यो । महिलाहरु शौच बस्नै लाग्दा एउटा सेतो घोडा उडिरहेको देखेपछि सबै चकित भएर हेर्न थाले । मान्छे एकदमै सुन्दर ह्रटपुष्ट ,सेतो घोडामाथि मुकुट लगाएर बसिरहेको थियो । घोडा डाँडा अगाडी हावामा उडिरहेको थियो । त्यो पुरुषले उनीहरुतर्फ फर्किएर भने ‘यसरी खुल्ला शौच गर्न लाज लाग्दैन’ । यति भनेर त्यो चिज मन्दिरमाथि रहेको गोल्म भिरमा गएर पस्यो र अदुश्य भयो । त्यो घटना गाउँभर फैलियो । तर प्रमाण केही नभएपछि यो पनि किस्सामै सिमित बन्यो । त्यहाँका स्थानीय र वडाध्यक्ष लामा भन्छन् ,‘ सायद उनै गोल्मा राजा हुन् । ’ बाह्रबिसे नगरको राम्चे, घुम्थाङजस्ता जिल्लाभरका पहाडी इलाकामा गोल्मा राजा, भुमे भनेर पुज्ने गरिन्छ ।

धेरै स्थानीयले राती सेतो घोडामा बसेर हिडिरहेको देखेको अनेक किस्सा राम्चेमा प्रचलित छन् । यसबारेमा बाह्रबिसे नगर वडा ९ का साहित्यकार रमेश पौड्याल आफ्नो अनुभव यसरी सुनाउँछन् । त्यतिबेला पौड्याल कुनै कामले गोल्मा राजा मन्दिर छेउमा टहल्दै थिए । अचानक उनले एउटा ठुलो चरा उडेर मन्दिर छेउमा आएर बस्यो । उनी गएर हेरे चरा एकदमै चम्किलो र अनौठो प्रकारको थियो । उनी चरालाई आनन्द मानेर १५ मिनेट हेरिरहे । आँखैअगाडी चरा कतै अदुश्य भएपछि उनी एकैपटक झस्के । आखिर त्यो चरा कहाँ गयो ? स्थानीय अगुवा सुन्दर लामा भोगी भने मन्दिरको माथिल्लो भेगमा रहेको भिरमा झ्यालजस्तै प्वाल रहेको बताउँछ्न् । त्यसलाई गोल्माराजाको दरबार प्रवेश गर्ने द्धार भन्ने गरिएको र धेरै बुढापाकाले राती सेतो घोडामा उडेको देखेको उनको कथन छ ।

को हुन् गोल्मा राजा रानी ?

किरातका पुर्खा मनिने गोल्मा राजा र रानीबारे अनेक मिथक प्रचलित छ । गोल्मा राजाको दरबार, अनेक अवशेष पश्चिमी जिल्ला र पहाडी इलाका देशभर पाइन्छ । यसबारे निश्चित स्थान भन्ने छैन् । महादेव पार्वती भनेर गोल्मा राजा रानीको पुजा हुन्छ । यसबारे कुनै ऐतिहासिक दस्तावेज या ग्रन्थ छैनन् । शायद त्यसको संरक्षण अभावमा नष्ट हुदै गएको पनि हुन सक्छ ।

परापूर्व कालमा किराती पुर्खा मानिने गोल्मा राजा रानी वा फेङ्मा रानी , गोल्पा राजाबारे अनेक जनश्रृति छ । मुन्धुमी ग्रन्थअनुरुप बुढोहोङ्ग वा पारुहाङलाई गोल्मा राजासँग जोडेर हेरिन्छ । जो किराती देवताका राजा हुन् । मुन्धुमी मान्यताअनुसार आकाश र धर्तीबीचमा एउटा संसार छ, जसलाई क्षितिज पारीको संसार ‘मिनाङ’ भनिन्छ ।

सर्प र ट्यांकी

जनहित ग्रामिण सेवा समितिले त्रिपुरासुन्दरी गापा ३ धुस्कुनको गोल्मा राजा आधारभुत विधालयको खानेपानी ट्यांकीे बनाउदा अनौठो घटना घटेको छ । यो घटनालाई जे भनेर वर्णन गर्दापनि चित्त बुझ्दैन् । ट्यांकी बनाउने सुरुवाती कामकै दिन एउटा पहेलो रंगको सर्प कार्यस्थलमै आएर हेरिरहन थाल्यो । जब मान्छेले पानीको मुलअघि खन्न थाल्दथ्ये ,त्यहाँ आएर सर्प फणा फुलाएर डसुझै गरि बस्थ्यो । त्यहाँका स्थानीयले सर्पलाई नागदेव मान्ने भएकाले सर्प मार्न हिंसा हुन्थ्यो ।

ट्यांकीको काम हप्तादिन यसरी नै अलमलियो । हप्ताभर जब कामदर कुटो कोदालो, साबेल लिएर काम गर्न पुग्थ्ये, सर्प खन्ने स्थानमा बसेर हेरिरहन्थ्यो । यसरी काम अल्झिएपछि हैरान भएको जनहित ग्रामिण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले बताए । गाउँमा नागलाई लिएर अनेक हल्ला चल्न थालेपछि समाधान निकालियो नाग बुझाउने पुजापाठ । अरु विकल्प नभएपछि गरिएको पुजापाठपछि सर्प आउन छाड्यो । ट्यांकी बनेपछि पहेलो सर्पको नाग प्रतिमा बनाएर पुजा गर्ने काम अझै भइरहेको छ । ‘सर्प मान्छेजस्तो चेतनशिल हुदैन्,त्यहाँ उसको केही नहुँदाहनहुँदै संरक्षणमा किन बस्यो र पुजापछि किन आउन छाड्यो त्यो रहस्य नै रह्यो,’उनले भने ।

जुरेपहिरोमा देखिएको बालबालिकाको लस्कर

२०७१ साउन १७ को मध्यरातमा बलेफी गाउँपालिकाको माखा र बाह्रबिसे नगरपालिकाको जुरेबीचबाट गएको पहिरोमा पुरिएर ३१ स्कुले बालबालिकासहित एकसय ४५ ले ज्यान गुमाए । ती मध्ये अधिकाशंको शव अझै फेला परेको छैन् । पहिरोले इटिनी, कागुने,पराजुलीगाउँको नामोनिसान मेटाएको थियो । जुरेपीडित र अन्य स्थानीय जुरेपहिरो नजिकैको कल्लेरी र माख्लो गाउँमा बस्दै आएका छन् । जुरेपहिरो गएको सातादिनपछि त्यहाँ पहिरो हेर्न गएका धेरै स्थानीयले अचम्मको दुश्य देखे । त्यहाँ ७ जना बालबालिकाको लस्कर लागेर पहिरोको ठीक बीचबाट कतै जाँदै थिए । सबै जम्मा भएर त्यो दुश्य हेरिरहे ।

त्यो बालबालिका पहिरोको बीचमा किन जोखिम मोलेर गएका होलान भन्ने सोचेर स्थानीयले बोलाइरहे । तर उनीहरुले फर्किएर हेरेनन् । ‘पहिरो झरिरहेको थियो, तर पहिरोले उनीहरुलाई छोएको थिएन्, ति नौ दश वर्षका देखिने बच्चाहरुले फर्किएर हेरेनन् । अचानक पहिरोमै हराए, ती के थिए त्यो जान्न सकेनौ,’प्रत्यक्षदर्शीमध्ये बाह्रबिसे नगर बाह्रसिबे बजारका सुमन श्रेष्ठ भन्छन् । मान्छेजस्तै देखिएपनि ती बालबालिका पहिरोको बीचमा गएर आफै अदुश्य भएको उनको भनाइ छ । अझैपनि जुरेपहिरोबाट मान्छे चिच्याएको र रोए कराएको आवाज आउने गरेको स्थानीय किस्सा सुनाइरहन्छन् ।

सर्प मार्नेबित्तिकै मृत्यु

यसलाई संयोग मान्ने अरु केही । जुरेपहिरो जानुअघिकै नै जुरेको माथिल्लो डाँडाका एक स्थानीयले ढुंगाले किचेर एउटा सेता र लामो सर्पलाई जिस्किदा जिस्किदै मारेका रहेछन् । त्यो सर्प मार्नेबित्तिकै उनी बर्बराउने कराउन गर्न थाले । उनलाई काठमाण्डौका महंगा हस्पिटलदेखि अनेक धामीझाक्रीकहाँ लगियो । रोग पत्ता नलागेपछि उनी अज्ञात समस्यामै मरे । त्यसलगत्तै जुरेपहिरो गयो । नाग मारेको कारणले जुरेपहिरो गएको भन्ने हल्ला त्यतिखेर व्याप्त थियो त्यसमा वैज्ञानिक आधार देखिदैन् तर सर्प मार्र्नेबित्तिकै ती स्थानीय मर्नुको कारण फेला पर्न सकेन् ।

२०६८ सालमा त्यहाँ नै सर्प मारेपछि एउटै परिवारका नौ जना एकै पटक मरेका रहेछन् । नाग शान्तीको लागि भएको औठी पनि नाग प्रतिमा बनाएर दान गरेकी तीनै परिवारका एक्ली सदस्य रितु श्रेष्ठले यो घटनाको भोग्न नपरेपछि दंग छिन् । त्यो सर्प मारेपछि यस्तो समस्या आयो, परिवारका सदस्य गुमाएको र सपना नराम्रो देख्न थालेको उनको कथन छ । काठमाण्डौ तिनकुनेस्थित भगवद महायज्ञमा उनले सबै घटना बताएर दान गर्दै जुरेपहिरोले आफ्नो ढाडमा प्वाल पारेर घाइते भएकी थिइन् । सर्प मारेपछि यस्ता विपत्ती आउनुलाई संयोग मान्ने या कुनै अदुश्य शक्ति यसबारे हामीसँग उचित जवाफ छैन् ।


क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!