सुर्य गुराँसे रंगमा पोतिएर आफ्ना कोमल स्पर्शहरु छर्न आतुर थियो र पाहाडका अन्तराकुन्तराबाट चिहाइरहेको थियो। चराचुरुंगीहरु चाचा र चुचु गर्दै रमाइरहेका थिए । चन्द्रमाले आफ्ना शीतल ती थोपाहरु वृक्षहरुको पातहरुमा टिल्पिलाईरहेका थिए । हिमालहरु चाँदीझैँ टल्किने ती मोतीका दाना देखाई मुस्कुराइरहेका थिए। यस्तो अनुपम वातावरणमा मलाईपनि निवन्ध लेख्ने उत्साह जाग्यो र “मेरो बन्दाबन्दी डायरी” शिर्षकमा निवन्ध लेख्न बसें ।
‘कोरोना ’ शब्द जुन बिगत ३ महिना देखि हरेकको कानमा गुञ्जिएको र मूखमा झुन्डिएको शब्द हो । भाइरस शब्द जुन हाम्रो लागि कुनै नौलो त हैन तर हालसालै चीनको वुहानबाट निस्किएको एक नया प्रजातिको भाइरस हो ‘कोभीड़ १९ ’। विश्वमा नै आतंक मच्चाएको र त्रशित बनाएको यो भाइरसले हालसम्म लाखौँ लाख मानिस संक्रमित छन् भने हजारौं हजारले आफ्नो ज्यान गुमाइसकेका छन् । सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरमा देखा परेको नोभेल कोरोना भाइरस दिनानुदिन नयाँ नयाँ राष्ट्रहरुमा फैलिदै गएको छ । सामान्य रुघाखोकी उच्च ज्वरो (१०४ F ) देखि निमोनियासम्मको लक्षण देखापरेको यस भाइरसको आजसम्म कुनै खोप र उपचार एवं औषधी तयार हुन नसक्दा यसले झन् बिकराल रुप लिंदै गएको छ । यस भाइरसले विश्वका ठुल्ठुला राष्ट्र, दार्शनिक, बैज्ञानिकदेखि आम जनतालाई पनि स्तब्ध बनाइदिएको छ । यस भाइरसको संक्रमणबाट बच्न धेरै राष्ट्रहरुले अरु राष्ट्रको सम्पर्कबाट अलगीदैं नागरिकलाई पनि अरु मानिसको संसर्गमा आउन नदिन आम लकडाउन गरेको छ र नेपालमा पनि करिब ३ महिना भैसकेको छ । यसबाट नागरिक स्वतन्त्रता खोसिएको छ, अत्यावश्यक समानको अभाव, स्टक बजार खस्किएको र आर्थिक मन्दी भएको छ । मानिसमा यसअघि कहिल्यै नदेखिएको हतास अवस्था व्याप्त भएको छ ।
यस भाइरसको असर केवल विश्वका राष्ट्रहरुमा मात्र हैन, हामी जस्ता बालबालिकाहरुमा पनि परेको छ। कोरोनाबाट भयभित र त्रसित बालबालिका मानसिक तनाबबाट गुज्रिरहेका छन् । मानसिक तनाबका कारण निन्द्रामा कराउने, रुने, झस्किने, तर्सिने गरेका समाचार हामीले सुनिरहेका छौं । ‘म’ स्वयम् पनि यस भाइरसको एक सिकार सिकार हुँ । शारीरिक रुपमा रोग लागेर मेरो मृत्यु नभएपनि मानसिक रुपमा मेरो सपना र आशाहरुलाई मारेर मलाई जिउँदो लास पारिदिएका छन् किनकि आश र सासबिनाको मान्छे जिउँदो लास सरह नै हुन् । मेरा ती १० बर्षका मिहेनत प्रस्तुत गर्नुपर्ने बेला थियो । गुरु र गुरुआमाका अनगिन्ति आशिर्वाद र आशाका पोकाहरुलाई मनमा राखेकी थिएँ । मेरा मनका डरलाई उहाँहरुको हौसलाहरुका किरणले हटाउँदै गएको थियो ।
उहाँहरुको हौसला मेरो लागि एक अन्धकार रातमा दियालोको काम गरिरहेको थियो ।ती डरका फोकहरुलाई आशाका पोकाहरुले फुटाउँदै मलाई सफलताको सिंढीतिर लम्काइरहेको थियो एस.इ.इ को अघिल्लो दिन तयारी गरिरहेको बेला अचानक मोबाइलमा फोन आयो । एस.ई.इ रोकिएको कुराले म दङ्ग भए , स्तब्ध भएँ । सबैजना के भयो ? भनेर सोधिरहनु हुन्थ्यो म भने निशब्द थिएँ । ला! अब के हुन्छ? मैले पढेको के काम लाग्यो? भन्ने कुरा मनमा खेलिरहे । त्यो दिन न भोक नै लाग्यो न त निन्द्रा नै। फेरी एस.इ.इ हुन्छ रे भन्ने कुरा सुनेपछि म पढ्न थाले र कहिल्यै पढ्न छाडिन तर फेरी २०७७ जेठ २९ गते एस.इ.इ नहुने कुराले म फेरी स्तब्ध नै भए । म फेरी त्यति पिडामा पुगे जहाँ कोहि सुन्ने मान्छे न कोहि सम्झाउने नै। मेरो बिज्ञान बिषय लिएर डाक्टर बन्ने रंगीन सपना पनि एक पलमा नै रंगहीन हुन लागे। म त यस्तो कल्पनामा पुगे कि फुलिरहेको फुल पनि ओइलाउन थाले , बगिरहेको खोला पनि रोकिन लागे, लागिरहेको घाम पनि डाँडापारितिर जान लागे । मानौं, मेरो सपना एउटा ऐना सरह थियो र एस.इ.इ नहुनु एक ढुङ्गा सरह जसको झटारोले मेरो सपनाको ऐना फुटेर झराम झुरुम भइदियो ।
यो बन्दाबंदीले असर मात्र हैन धेरै नयाँ कुरा पनि सिकाएको छ । मा मात्र होइन हरेक मानिस जो यहीं पीडाबाट गुज्रेका छन् उनीहरुले पनि केहि न केहि सिकिरहेका छन् भन्ने मलाई लाग्छ । सरसफाई देखि लिएर फुर्सदको समयमा किताब पढ्ने, सृजनात्मक कलाहरु गर्ने।, घरको कामदेखि लिएर मेलापात, भारोपर्म, सांस्कृतिक मेला, जात्रा, पर्वमा रमाउने गुण म मा विकास भएको छ । ती आफ्ना दौतरी, आम, काकी, दिदी संगका काम गर्दाका रमाइला क्षणहरु अनुभूति गर्न पाएकी छु। यस बन्दबंदीको बीचमा मा स्वयममा एक आदर्श नागरिक, संस्कारी छोरी र जिम्मेवार नारी रूपमा पाएकी छु ।
यस महामारीबाट विश्वले चाडैं नै छुटकारा पाओस र शान्ति छाओस। नेपाली तथा बिदेशी सबैमा सचेतना पूगोस् र सबै सुरक्षित रहुन । आजसम्म कोरोनाको कुनै औषधी नभए पनि आत्मबल र सरसफाई नै यसको ठुलो उपचार हो । यसका लागि मेरो प्रार्थना र कामना रहिरहने छ र मलाई मेरो अनुभव प्रस्तुत गर्न दिनुहुने सम्पूर्ण महानुभावमा मा हार्दिक आभार र कृतज्ञ व्यक्त गर्दछु ।
चौतारा साँगाचोकगढी न.पा.-१० सिन्धुपाल्चोक
यो हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीपले विधार्थीको सृजनशीलतालाई थप निखारता दिन “मेरो बन्दाबन्दी डायरी” शिर्षकमा आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम भएको थियो ।
क्याटेगोरी :
ब्लग / विचार
ट्याग : #banner