Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठब्लग / विचारआत्मकथन : ‘अमित घिमिरे’

आत्मकथन : ‘अमित घिमिरे’


प्रिय ‘अमीत’ दाइ,
यो मेरो आत्मकथन। केही समय यता तपाईँका केही लेखनीमा अल्झिएँ। प्रभावहरुसँग टक्टकाएर हिँडाएको छु चेतना आजकल- कारण उमेरले आफूलाई नै खोजिरहेको छ, अथवा बाहिर असरल्ल थुप्रिएको झूट र वाहियातपनले बोझिलो घीन उमारेको छ । यद्यपि तपाईँको लेखनले कताकता साउती गर्छ र आत्ममुग्ध म क्षणभर बिखरिन्छु र आफूलाई अरुको अस्तित्वको आङमा दोडाउन थाल्छु, जसरी तपाईँ प्रवृत्त हुनुहुन्छ- अफ्टयारा बितेका लामा वर्षहरूमा। स्वभावतः सिकसिको लाग्छ। सायद अस्तित्व घीनलाग्दो नै नभए पनि अफ्टेरोपन चाहिँ अवश्य हो। विशेषतः आजको युगको जटिलता हेरिकन। तपाईँले अपार स्नेहले सुम्सुम्याउँदै आफैँलाई लापरवाह दुखाएर, निचोरेर लेखेका गुमनाम पीडित मान्छेका जीवनीहरु पढेर आफ्नो स्वभावगत वैराग्यबोधले बाँध भत्काउन खोजेको हेरेँ र रोकिएँ।

सोचेँ, राज्यसत्ताको अनिवार्य कर्तव्य आफैँमा मुख्य भए पनि मानवीय समाजको निर्माणमा पूर्ण सक्षम हुँदैन। तर असफल या गैरजिम्मेदार राज्यले उत्पन्न गर्ने दैनिक जीवनका दुरावस्थाको समाधान भने केवल राजनीतिक स्तरमा विद्रोहजनित सुधार मात्रले पनि पुग्दैन। नीति बिग्रेको देशमा व्यक्तिगत प्रयासमा हुने मानवीय हितको काम नै प्रगतिशीलता हुने गर्छ । राज्य-दोहनको मोहप्रेरित छद्म-संस्कार विरुद्ध जुनसुकै समाजमा पनि राजनीतिइतर नै संघर्ष गर्छन् व्यक्तिहरू। राजनीतिक वादहरूको शब्दखेलमा उपेक्षित भएको छ सही मूल्यको राजनीति। आम मानिसको अनिवार्य आवश्यकताहरुलाई पूरा गर्ने नीति र कार्यक्रमको व्यावहारिक व्यवस्थापन नै राजनीति होइन र? यसको क्षयीकरणले आम मानिसको चेतनामा नैराश्यको बादल छाएको छँदैछ।

हामी अधिकांश सत्ताहीन मान्छेमा जस्तै राजनीतिक अर्थमा तपाईँमा पनि चल्तीको आशावादीताले अर्थ गुमाएछ झैं पाएँ। त्यसैले व्यक्तिगत तहमा आफ्नो उच्चतम सामर्थ्यको एकल भरोसामा तपाईँ समाजले परित्याग गरेका, हेला गरेका ‘भुँइमान्छे’ का कथाव्यथा तन्मन्यताले लेख्नुहुन्छ। कम्तीमा उनीहरूले भोग्नुपरेका दुःखको अभिलेख गर्नुहुन्छ, र तिनका गुम्फित वेदना सुनेर हृदय हलुङ्गो पारिदिनुहुन्छ। कम्तीमा कुनै आर्थिक हैसियत र मानवीय करुणाले युक्त मान्छेको सहयोग तिनीहरू समक्ष पुर्‍याउने पुण्यकर्म गर्नुहुन्छ।आफैँले निजी खर्च सङ्कुचित गरेर पनि सहयोग गर्नुहुन्छ, कसैलाई एकछाक खुवाएर पनि। तैपनि तपाईँ प्रगतिशीलताको डम्फु बजाउने महानुभावहरुले जस्तै आफूलाई कुनै दाबीहरूमा अपेक्षा भावले उभ्याउनुहुन्न। तपाईँको यो ‘अनौठो’ विद्रोहलाई सम्मान गर्न सिकेको छु।

तपाईँका केही कविता र आख्यानमा पनि उत्सुक नजर नियालेँ। पाएँ, रुमानी प्रेमको उहापोहमा आभूषित समाजसँगको गुनासो या अनुरोध छन् तिनमा। अर्थात्, असलपनको सिर्जनात्मक अपेक्षा (जुन अक्सर लेखकीय आदर्श हुने गर्छ) ले अनिवार्य उत्पन्न गर्ने असन्तोष छन् तिनमा कारण- आदर्शले देख्ने यथार्थ कदापि सुन्दर हुँदैन। यसैमा सुधारको आशा छ र सम्भावना पनि। हाम्रा असन्तोष सकिएपछि सिर्जना सकिन्छ। हामी सकिएपछि हाम्रा असन्तोष सकिन्छन्। खुशी यसैमा छ कि हामी सन्तुष्ट छैनौँ।

प्रिय ‘अमीत’ दाइ,
‘प्रिय’ ‘आदरणीय’ नै हुन्छ, ‘समभाव’ ले प्रियता हुन्छ। जोसँग बोल्नु आफैँसँग बोल्नु हो। यसको निम्ति भौतिक सामिप्यतामा प्रत्यक्ष संवादको आवश्यकता रहँदैन। हाम्रो भेट नभएको पनि वर्षौँ भएछन्। (यत्ति याद छ, एउटा घमाइलो साँझ। निस्पृह पिपलको रुख। यदाकदा हावाको निरुद्देश्य झोँकाले ल्याएर थपक्क झार्ने पहेँला पातहरूको विरोधहीन चेहरा। पश्चिम फर्किएको बार्दली तल व्यस्त सडक। वेदना खपेर मुस्कुराइरहनु हुने आमा, तपाईं, म र शब्दहरुको अनुपातमा बढी बोल्ने मौनता! पछिल्लो भेटमा थप इमानदार र बढी मान्छे भएर फर्किएँछु कि!) चेतनाको यस्तो सम्बन्धमा समयको परिधी निरर्थक हुन्छ कारण चार हजार वर्षपूर्वको ‘अष्टावक्र गीता’ पढ्नु अथवा बीसौं शदीको टोलस्टोय /दोस्तोएव्सकी आदिको कृतिसँग संवाद गर्नुमा यसको समानता छ। तिनले सकृय बनाई सोचको सतहमा उतार्ने तरंग (जसमा आफूलाई देखिन्छ, त्यस्तै भावतरंग उमार्ने जोसुकै) सँग संवाद गर्नु खासमा अनुभूतिको तहमा दुरुस्त हुन्छ, समान हुन्छ।

तल उघ्रिने शब्दहरुमा स्तुति छैन, मूल्याङ्कन छैन, आदर्शीकरण छैन र सहानुभूति मात्र पनि छैन। केवल आत्मकथन छ। आफैँसँग बोलिरहने चेतनाको मनमौजी कथ्य, लय र आफूलाई चपाएर निल्नुमा जुन (महान्!) तृप्ति छ त्यसको रमरम नशा ! ‘अमीत’ को मनमौजी, परा-व्याकरणीय अर्थ हो ‘जो कसैको आफ्नो होइन’! अर्थात् सबैको हो। सबैको भएकोले वास्तवमा फेरि कसैको पनि होइन! आफ्नै? पनि होइन! यहाँ फराकिलो अर्थले ऊ ‘अमूर्त’ भैदिन्छ। उसले कोर्ने क्यानभासमा मुखरित श्यामश्वेत चित्रहरू जस्तै! संवेदनाको तीक्ष्णताले तर्कातित, नीत्य अस्थिरताले स्थीर! विरोधको सदाबहार उपस्थिति हुनु नै चेतनाको एकत्वको अवस्था हो।

अन्तर्विरोध छैन त चेतनामा सन्तुलन छैन। त्यसैले ऊ सन्तुलित झन्झावात हो। (झन्झावात? हजुर, ठीक सुन्नुभयो। त्यो पनि स्वनियन्त्रित? हजुर। यो भन्दा उचित विम्ब अरु लागेन पनि! ) जसको खिचातानीले जुन तनावमा ऊ दुनियाँ हेर्न अभ्यस्त छ, त्यो दृष्टिले ससाना असंगतीको रेसारेसा समात्छ। गाँठोहरुको कोलाहलमा ऊ थकित पनि हुन्छ र आकाश, फूल, सडक र भोरको निर्जन गोरेटोमा आफूलाई समर्पित पनि गरिदिन्छ। निशब्द गर्तबाट कविताको एक दुई उछ्वास् उबाउँछ, चराचुरुङ्गी र जनावरको शब्दविहीनताले मोहित डसिन्छ र तिनलाई अप्रचलित स्नेह गर्छ। मान्छे अझै बेवारिस र बेआवाज जनावर नै भएको देखेर जुन चीसो सिरेटोको प्रहारले ऊ रन्थन्निन्छ, त्यो नै उसको समाजसँगको एउटै र साँचो सम्बन्धको सेतु हो। नत्र त ऊ आफूलाई सडकछेउको तृण जत्तिकै निवृत्त भेट्छ र अविश्वासले गल्दछ। उसलाई भेटेर मैले आफूभित्रको ‘सन्यासी’ लाई पनि भेटेको छु !

(यो लेखिरहँदा मसँगै काम गर्ने परिचित युवक मेरो कोठामा आउँछ। माथिका अनुच्छेद सुनाइमागेर हैरान पारेकोले पढेर सुनाउँछु। भन्छ, “दाइ, संसारमा आजकल यस्तो दाम्मी मान्छे पनि हुन्छन् र भन्या ?.. वाउ! रियल लिभिङ्ग हिरो हो तपाईँको दाइ त!” उसले जुन पवित्र भावले ओतप्रोत भएको बोलीमा यो भन्छ, मलाई लाग्छ यो पुस्ताले अचेतन मनमा कल्पना गर्ने ‘आदर्श मान्छे’ को नै पो चित्रण भएको छ माथिका अनुच्छेदमा ! उसमा आजको गम्भीरता कहिलेकाहीं मात्र देख्छु। अवस्था हेरेर ऊ जान्दछ- मलाई अन्य कुरामा अल्झाउन आज उसको नैतिकताले दिएको छैन। पढाइमा कहिल्यै चासो नराख्ने ‘अल्लारे’ आज भन्दैछ, “पूरा गरेपछि नबिर्सी मलाई पढ्न दिनुस् है? साँच्चै भनेको।” अब तल लेखिने कुराले मलाई नजानिँदो अफ्टेरोपन भैरहेछ! अब म उसको लागि पनि लेखिरहेको छु नि त! )

प्रिय ‘अमीत’ दाइ,
लाग्छ, अमूर्त हुँदैछु। समालोचनाको हैसियत राख्दिनँ। छोइएका केही संवेदना बोल्दैछु कि! यही उपक्रममा मेरा अचेत शब्दहरुमा तपाईँको फरक व्यक्तित्व चित्रण हुन गए केवल अज्ञानी पाठकले बिराएछ, बुझ्नुहोला। तपाईँको एउटा कविताले भनेजस्तै, तपाईँ खलपात्र होइन। बरु तपाईँ आम मान्छेले परिवेशसँग सम्झौतावश आफूभित्र लुकाइराख्ने ‘बागी’ हो।भनौँ, चल्तीको पाखण्डको प्रतिपक्षी। कुरा नचपाई सत्य बोल्ने साहसी। हुन त जेसँग डराउँछ, त्यसलाई मार्छ या बल नपुगे देउता मानी पूजा गर्छ मान्छे। अनि आफ्नो डरको जगमा खडा भएको देउताको पैरवी गर्नुमा नै आत्मरक्षाको निरीह प्रयास बनेको हुन्छ। विचरा मान्छे! आत्मसंरक्षण र आनन्दको सहजवृत्तिबाट मुक्त हुन नसक्नु नै मान्छे हुनुको साझा नियति हो।

मान्छे विचार, बोली र व्यवहार बीच निरन्तर रुपमा सङ्गति स्थापित गरिरहन नसक्ने दुःखी प्राणी हो। यसलाई अर्को शब्दमा ‘पाखण्डी’ पनि भनिन्छ। लाग्छ, यो तालमेल नमिल्दा नै सम्बन्ध र समाज समस्याग्रस्त हुन्छ। तपाईंको सर्जक मनले यसलाई देखेको रहेछ। त्यसैले तपाईँ मान्छेलाई माया गर्न सक्नुहुन्छ। यसलाई देखेर विरक्तिएर पलायन हुने पनि छन् जो यो कुरुप मानवीय यथार्थको अघि आफूलाई कमजोर भेट्छन्। यसलाई पचाउन नसकेर असन्तुलित विरोध बाँच्ने पनि छन् जो कालान्तरमा यसैमा समाहित भएको पनि चाल नपाउने हुन्छन्।

यसलाई लिएर सम्झौता गरिदिने पनि छन् जो यसलाई सिद्धान्तको बाकसमा थुनेर, संवेदनाले होइन तर्कले ‘सामान्य’ रुपमा लिइदिन सक्छन्। तर मान्छेलाई माया गर्न धेरै साहस चाहिन्छ। मान्छेलाई माया गर्न निकै अफ्टेरो छ। उसको अचेत निरीहताबाट निश्रृत हिंसाले नै संसार वियोगान्तको अन्त्यहीन श्रृंखला बनेको हो। तैपनि तपाईँमा करुणाले घर बनाएको देख्छु। यो अँध्यारोमा आशाको रश्मि जरुर हो। त्यसैले तपाईँ मान्छेको असलपन र सिर्जनात्मक चरित्रमा विश्वास गर्ने आशावादी मान्छे हुनुहुँदो रहेछ।

धेरै कवितालाई छोडेर तपाईँको दर्शनले आकार लिएका केही कविताको अनौपचारिक चर्चा गर्छु। आह! बाहिर सतहमा उर्लिने झूटको बाढीले अन्धाधुन्ध पछारेर घाइते भएको ‘विवेक’ को आफैँले गला काट्दैमा ‘विवेक’ दुख्न नछोड्दो रहेछ। ‘विवेक’ सजिलै नमर्नुमा नै मानवताको निरन्तरता र मान्छेको जनावरपनको नकार। हो, अनुभूतिमा उत्रेपछि यथार्थ उस्तै हुँदैन रहेछ, अनुभूतिले यथार्थलाई स्वतन्त्र कहाँ छोड्छ र! अनुभूतिले व्याख्यायीत हुन्छ संसार, अनुभूतिबाट रुप, आवाज, रंग र आकार लिन्छ यथार्थले। ‘ब्रह्म सत्य’ हुन्छ केवल अनुभूतिले। ‘महसुस’ को नहुने रहेछ ओखती। घाउको त हुन्छ, ‘महसुस’ को भने ओखती नहुने नै रहेछ। लाग्छ, यो ‘महसुस’ हुन छोडेको दिन संसार र चेतनाको अन्तरक्रिया सकिन्छ। मृत्युको शाब्दिक अर्थ यही हो। खासमा तपाईँ अनुभूति-प्रधान लेखक हुनुहुँदो रहेछ। त्यसैले तपाईँको गद्यमा पनि कविता हुन्छ।

चर्चा गर्नको लागि धेरै छन् तपाईँले लेखेका कथाहरू। भावहरू समातेर कुँदिएका तपाईँका अधिकांश कथामा मैले घटनाहरू बिर्सिएको हुन्छु र भावनालाई लिएको हुन्छु। ‘सलह’ संग्रहका कथाहरू छोडेर एउटा फुटकर कथाको भाव ममा टाँस्सिएको छ। यो कथाको पृष्ठभूमिमा असफल प्रेमको चेतना छ । यो मौन कुन्ठा वाचाल सुनिन्छ कथाको मपात्रले उधार्ने समाजनिरपेक्ष अर्थात् निस्कलंक प्रेम सम्बन्धमा। दुई (अठार वर्षले?) फरक उमेरका विपरीत लिङ्गी (हृदयी?) मान्छेको परस्परको निस्स्वार्थ सद्भाव, प्रेम र विश्वास अनि मूढे मूल्याङ्कनको तरबार अन्धाधुन्ध चलाउने आरिषे (कुन्ठित) मान्छेको विषाक्त समाजले ओकल्ने आँधीबेहरी नै ‘झन्झा, एक तुफान’ कथाको मूल विषय हो।

यो ईर्ष्याको आँधीबेहरीले दुई निरीह प्रेमीहरू- राधा अनि उनको रघू (कृष्ण?) – लाई कथित् सभ्यताको नाममा दुई टापुमा विभाजित र छरपस्ट पारिदिन्छ। आन्तरिक ‘मनोलाप’ शैलीमा लेखिएको यो एकदम छोटो कथामा कवितात्मक आवेग छ। यो आवेग अँध्यारोमा विजुली चम्केझैँ अनुभूति हुन्छ। यसरी पनि जीवन लेख्न सकिने रहेछ! तपाईंको सर्जक चेतनाले प्रेमको पैरवी गरेको पाएँ। प्रेमको तथाकथित सामाजिक परिधिभित्र प्रेमले भोग्नुपरेका सङ्कुचन र बन्धनको बर्खिलाप तपाईँको सर्जक उभिएको पाएँ। तसर्थ, नैतिक बन्धनका समाजसापेक्ष नियमभन्दा माथि हुन्छ प्रेम भन्ने दर्शन भेटेँ यसमा। प्रेम नै त्यो मानवीय मूल्य हो जसको आग्रह तपाईँको साहित्य हो जस्तै लाग्छ। त्यसैले तपाईँ प्रेम, अनुभूति र आशावादको सर्जक हुनुहुन्छ भन्ने नै बुझेको छु।

प्रिय ‘अमीत’ दाइ,
खै कस्तो सूक्ष्म आभा छ तपाईँको समीपमा, समाजले सीमान्त घेरामा धकेलेर मूल्यच्यूत पारिएका विनीत मान्छेहरू तानिन्छन् तपाईँको सरल हाउभाउमा। तपाईँको मृदु बोली र स्नेही नजरमा उनीहरू आफन्तीभाव र न्यानोपन भेट्छन् र दमनकारी र त दुनियाँदेखि डराएर कसैलाई भन्न नसकेका आफ्ना दुर्दान्त कथाव्यथाहरु तपाईँको करुणामय मनभरि खोपेर सडकको कुनै मोडमा ओझेल पर्छन्। कर्तव्यको कालकुट विष पिएर पौराणिक शिवले औडाहा आफूभरि थापेर चीसो गोसाइँकुण्डमा फाल हालेझैँ शरीरभरि भर्खरै भेटिएको दुःखी मान्छेको वेदना र पीडाको शूलीमा उनिएर शब्दकुण्डमा तपाईँ कसरी डुबुल्की मार्नुहुन्छ!

मैले चिनेको ‘अमीत’ एउटा कवि हो। मान्छे देखेको, मन बुझेको र मनको निहित अन्तरद्वन्वले चकीत भएको कवि। त्यसैले असरल्ल छोइने जीवन्त मानिस हो ऊ जसको मनले संवेदनाको ‘अटो-क्याल्कुलेसन’ गरिसक्छ। अचेतन मनको कुन अज्ञात कुनामा बाह्य संसारले अर्थ ओढिसक्छ। ऊ त केवल त्यो स्वतस्फूर्त प्रक्रियाको तीक्ष्णता भोगिदिन्छ। उपनिषदका ‘ब्रह्म-जाग्रत’ ‘ब्राह्मण’ झैँ समग्र विश्व आफूमा र आफूलाई समग्र संसारमा देख्दछ, त्यसलाई अनुभूति गर्दछ।

केही दशकदेखि उसको कोमल गद्य मूलधारका ‘भाले’ लेखनको ‘कोरस’ बीच अल्पसङ्ख्यक वेदनाको सार्वकालिक धून गाइरहेको छ। यसलाई सुन्नेहरु बजारको उपयोगितावादी एवं यान्त्रिक सोचाइबाट एक छिन विश्राम पाउन सक्छन्। मानवीय न्यानो अनुभूतिमा ओर्लिएर अलिकति सोचमग्न हुन सक्छन्।

ऊ एउटा नितान्त सामाजिक र काव्यिक अर्थमा वाचाल अन्तर्मुखी मान्छे। संसारमा सौन्दर्यको खोजी गरिरहेको एउटा साहित्यिक मान्छे। संवेदनाको बोझले गलाएको पनि छ। मनोचिकित्सक भन्छन् – उसलाई अतिसंवेदनशीलताले कारणले हुने ‘प्यानिक अट्याक’ हुने गरेको छ पछिल्लो समयमा। चिन्ता र तनावसँग यसको प्रत्यक्ष सम्बन्ध हुन्छ। अक्सर तीक्ष्ण संवेदनशीलता भएका मान्छेलाई ‘एङ्जायटी’ हुने गर्छ। जीवनयापनको अफ्टेरो चुनौतीको आजको जटिल समयमा धेरैलाई अचेतन मनमा अनेक डर र छट्पटी हुने गर्छ। यो ‘एङ्जायटी’ को मात्रा बढ्दै गयो भने शरीरमा असर पर्ने हुन्छ जसलाई ‘प्यानिक अट्याक’ भनिन्छ।

(अतिसंवेदनशीलताले सिर्जनात्मक प्रेरणा र क्षमताको विकास हुने देखिन्छ। रोग र दुःखलाई आत्मिक बलको प्रेरणा मानेर मनको सकारात्मक मूल्यको रुपमा प्रस्तुत गर्ने जर्मन दार्शनिक नीत्से सम्झना हुन्छ जो जिन्दगीभर ‘माइग्रेन’ बाट दुखिरहे। दुखाइबाट क्षणिक फुर्सद पाउँदा उनले तीब्रतामा लेखबद्ध गरे आफ्नो चिन्तन जसलाई आजसम्म सान्दर्भिक विवेचना गरिँदैछ। किशोरकालदेखि प्रौढ हुँदा सम्म लामो समय अनिद्रा (इन्सोम्निया) बाट ग्रसित फ्रान्सेली भाषाको सम्मानित निबन्धकार एमील सिओरानको सम्झना हुन्छ।

सिओरान जसले आधुनिकताको सतहीपनको चर्को विरोधमा उग्र दार्शनिक निबन्ध लेखे र भने मेरो चिन्तन यथार्थप्रति निदाउन नसकिने अनीदोपन हो। एक्लोपनसँग सधैँ हारेका र आफैँलाई शंका गरिरहने जर्मन भाषामा लेख्ने फ्रान्ज काफ्का सम्झन्छु जस्ले आधुनिक विश्वमा दर्बोध्य सत्ताले व्यक्तिको सत्वमाथि अत्याचार गरेर विनावीयकरण हुँदै गइरहेको एक्लो मान्छेको प्रभावशाली चित्रण गरेर विश्व साहित्यमा अमर भए।

अतिशय भावुकताले पिरोलिएका गोपाल प्रसाद रिमाल सम्झन्छु जो क्रान्तिकारी आशावादीताले यथार्थसँग तालमेल नमिलेको सहन नसकी उत्तरार्द्धमा विक्षिप्त बने। शारीरिक पीडाको कैदी पारिजात सम्झन्छु जसले किशोरी छँदै, भनिन्छ शून्यबोध गरिन्, र पछि उनले लेखेका प्रगतिशील उपन्यासमा पनि पीडा-निश्रृत भावनाको बाक्लो उपस्थिति रहेको छ। अनगिन्ती उदाहरण छन् जसले अस्तित्व चेतनाको तीब्रतामा सिर्जनात्मक प्रेरणा र जीवनबोध प्राप्त गरेका छन्। त्यसैले यिनमा ‘अमीत’ अर्को थपिनुमा नवीनता छैन पनि।)

प्रिय ‘अमीत’ दाइ,
अज्ञानता, जीवनविरोधी सामाजिक मान्यता र व्यक्तिगत दुर्भाग्यको शिकार धेरै मानिस भेट्नुहुन्छ। लाग्छ, दुःखको बोझतल थिचिएर जीवनको संघर्षमा घस्रिएर बाँचेका ग्रामीण क्षेत्रका मान्छे हिँड्ने सदरमुकामको मूल सडक छेउमा तपाईँको घर हुनु मात्र संयोग होइन। तपाईँ त्यो देख्नुहुन्छ जसको अरुले सुदुर भेउ पाए पनि बुझ्न भने सक्दैनन्। यो पनि केवल दुर्घटना मात्र होइन। अलिकति बहकिएर भन्छु, तपाईँ प्राचीन अर्थमा एउटा ‘द्रष्टा’ हुनुभएछ, जिन्दगीको ख्याल ठट्टामा! कामना गर्छु, थेरापिष्टले निर्क्यौल गर्न खोजिरहेको तपाईँको मनको फरक पर्यावरण त केवल अस्तित्वगत बहाना हो! कताकता विश्वस्त छु – कथित् रोग त बहाना मात्र हो। फराकिलो अर्थमा ब्युँझिएको मान्छे हुनुको निमित्त कारक मात्र हो यो कथित् रोग! आफू हुनुको, सत्यको सङ्लो अनुभूतिको बाँकी रहेका केही अन्तिम खुड्किला मात्र!

तपाईँको सदा हितैषी भाइ
सुमन बुढाथोकी

 


क्याटेगोरी : ब्लग / विचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!