‘दुविधा’

रामशरण विक्रम थापा
मेरो अक्सर समय दुविधामा बित्छ । यस्तो कुनै बिचार,जवाफ वा कार्य छैन जुन मैले विना कुनै दुविधा सम्पन्न गरेको होस । लाग्छ मैले आज सम्म दुबै मस्तिष्कले एकै पटक एउटै कुरा सोचेकै छैन । जब जब म कुनै सोचमा हुन्छु र त्यसलाइ कार्यमा बदल्न खोज्छु,त्यतिनै बलियो अर्को बिचार पुरानो बिचारलाइ टक्कर दिन आइपुग्छ अनि म आफ्नै अन्तरमनका बैचारिक द्वन्दमा फसेर थला पर्छु। म फैसला गर्न सक्दिन कुन विचार ठिक, कुन बेठिक । अहिले पनि सुत्ने कि उठ्ने भन्ने दुविधाम फसेको छु।उठौँ त निन्द्रा पुगेकै छैन, नउठौँ त बाँकी दिनचर्या भद्रगोल हुन्छ। बिहानको ५ बजे आँखा खोल्दा सुरु भएको यो बेकारको वैचारिक द्वन्द ७ बजेपछि अर्को दुविधाले पार लगाइदियो।
दुध चिया खाने कि कालो चिया ? दिदिको यो प्रश्नले केहि राहत दियो । पुरानो दुविधा बाट त मुक्त भैयो । हत्तेरि अब के खाने ? दुध चिया खाने कि कालो चिया ? के मलाइ मात्रै हुन्छ यस्तो दुविधा ? सबै कुरामा म बाहेक सबैले आत्मबिस्वासका साथ एउटा सजिलै रोज्छन।
मलाइ यो दुविधा अहिले मात्रै भएको होइन। म सानो छँदा पनि यस्ता दुविधा आइरहन्थे। तिहारमा मात्रै आउने फुपुले पिप्लामेटको आश देखाएर सोध्नुभएको प्रश्नले आजपनि मेरो निधारमा पसिना निकाल्छ । आमाको धेरै माया लाग्छ कि बुबाको ? यो जवान मस्तिष्कले आजसम्म मुल्याङ्कन गर्न नसकेको माया त्यो बालक मगजले कुन आधारमा भनोस कि आमाको माया धेरै लाग्छ कि बुबाको । अनि फेरि मायालाइ कसरी तौलिने। आमाको माया बुबाको भन्दा वा बुबाको माया आमाको भन्दा धेरै हुन्छ भन्ने आधार के हो ? म कसरी यी बिकल्पहरुको वजन जाँचौँ ? मैले यहि प्रश्न फुपुलाइ सेधे भनेँ, के सजिलै आमा वा बुबाको नाम लिन सक्नुहुन्छ होला ? के ठुलो भएपछि त्यो क्षमता बिकास हुन्छ ?
लाग्थ्यो सबैलाइ यस्तै दुविधा हुन्छ त्यसैले कहिल्यै सोध्ने साहस गरिन । यस्ता दुविधात्मक सवालहरुले कहिल्यै मेरो साथ छोडेनन्। एसएलसी सकिएपछि साइन्स पढ्ने कि म्यानेजमेन्ट भन्ने प्रश्न होस या प्लस टु सकेपछि को इञ्जिनियरिङ कृषि क्षन्ने प्रश्न, हरेक पटक मलाइ दुबै बिकल्पहरु उतिकै वजनदार लागे । मलाइ हरेक दुविधामा पैदा हुने बिकल्पहरु उत्तिकै भ्रामक लाग्छन त्यसैले छुट्याउनै सक्दिन कि कुन ठिक कुन बेठिक।
यस्तो दुविधाहरुले पिल्सिएको म,अचेल सामाजिक संजालका गतिबिधिहरुले झन दबिएको छु। कस्को बिचार ठिक कस्को बेठिक, कुन समाचार ठिक कुन बेठिक, पद्धति, वाद, फैसला,कारवाही यस्ता धेरै कुरा हरु छन जहा म दुविधा देख्छु। केहि मलाइ सल्लाह दिन्छन कि दुविधा मेटाउन खोज गर्नु पर्छ, तर यहाँ खोज गरिएका र खोज गर्दा भेटिने नतिजाहरु नै ठीक हो या होइन भन्नेमा नै दुविधा देख्छु ।
यस्तै दुविधा बीच अरु केहि दुविधाहरु बल्झिएका छन। देशको भुभाग बेचिएको हो या हडपेको हो भन्नेमा दुविधा देख्छु।अस्पतालमा मर्ने व्यक्ति कोरोनाले मर्यो या कसैको लापर्वाहीले भन्नेमा दुविधा देख्छु । अझ बढी त म जस्तो युवा पुस्ताबाट सामाजिक संजालमा जुर्मुराएको राष्ट्रवाद देशप्रतिको प्रेम हो या छिमेकि देशहरु प्रतिको आक्रोस भन्ने मा दुविधा देख्छु ।
मलाइ लाग्छ म जस्ता अधिकांश युवाहरु यस्ता दुविधाबाट ग्रसित छन । फलस्वरुप अपरिपक्व टिप्पणीहरु सामाजिक संजालहरुमा अत्यधिक देखिन्छ। किनकि हामीलाइ हरेक दुविधामा पैदा हुने विकल्पहरुको वजन बराबर लाग्छ। न ठिक न बेठिक एकदम दुविधयुक्त ।
म अक्सर दुविधाहरु देखि भाग्ने गरेको छु। त्यसैले दुध चिया र कालो चिया को दुविधा बाट भाग्न कफिको साहारा लिएँ। अनि दिदीको आवाज आयो दुध कफि कि कालो ? दुविधा, फेरि दुविधा
क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस