बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठविचार/अन्तरवार्ताशिक्षामा समसामयिक चिन्तन

शिक्षामा समसामयिक चिन्तन


कोपिला पौडेल

शिक्षा नै देश बिकासको आधार हो । यसलाई समयको परिवर्तन सगै अगाडी बढाउन सक्नु पर्दछ । यस महामारीको प्रकोप देखिएसँगै विगत लामो समयदेखि सम्पूर्ण शैक्षिक संघसंस्था बन्दबन्दीको अवस्थामा नै छन् । प्रविधिको पहुँचमा रहने केही विद्यार्थीहरूको हकमा त भर्चुअल (प्राविधिक) कक्षा सञ्चालनमा रहेका पनि छन् तर जुन समुदायका लागि शिक्षाको बढी आवश्यकता परिरहेको छ त्यो समुदाय शिक्षा पाउनबाटै बन्चित छ ।

यस्तो संकट आउन सक्ने सम्भावना नदेखेकै कारण आज सबै तह र तप्काका विद्यार्थीहरूलाई समतापूर्ण ढंगबाट शिक्षा प्रदान गर्न चुकेको अवस्था नेपालमा छ । फलस्वरूप आगामी दिनमा विद्यालय तहमा विद्यार्थीको उपस्थिति र संलग्नता न्यून हुने खतरा पनि उत्तिकै देखिएको छ । अब शैक्षिक नेतृत्वहरू निदाएर बस्ने बेला छैन । पूर्वयोजना बनाएर दूरदराजमा रहेका सबै विद्यार्थीहरूलाई समावेशी सिद्धान्तका आधारमा पहिचान गर्ने गरी तयारी गरिनु अपरिहार्य छ ।

शिक्षालाई राजनीतिबाट अलग राखेपनि हुन्छ । राजनीतिले शिक्षालाई नियमन गरेपनि हुन्छ । जुन तरिका अपनाए पनि परम्परागत शैक्षिक प्रणालीलाई सुधार गरि शिक्षामा नवीन आयाम ल्याउन सबैको साझा एजेन्डा बनाउनु पर्छ । अझै पनि नेपालका कैयौ समाज शिक्षाको अभावमा अन्धविश्वासको बातावरण शृजना भइ विभिन्न अप्रिय घटना घटिरहेका छन् । रुढीवादी परम्परा कायमै रही रहेकै बेला कसरी समाज रुपान्तरण गर्ने र समाजका हरेक समुदायलाई शिक्षाको माध्यम बाट कसरी जनचेतना प्रदान गर्ने भन्ने कुरामा बिज्ञहरु बिच छलफल भैरहेको छ । यस बिषयमा मेरो पनि केहि तर्कहरु रहेका छन् ।

नेपालमा अत्तरजातीय विवादका कारणले कयौ युवाहरुले अकालमा ज्यान गुमाएका छन् । भर्खरैको जाजरकोट–रुकुम घटनाको समाचारले सबैलाई अत्यन्त दुखी बनाएको छ । राजनीतिक संयन्त्र बलियो नभएकै कारण न्यायिक निकायहरु मुखदर्शी बनेका छन् र पीडित वर्ग सहन बाध्य छन् । अझै पनि हाम्रो समाजमा जनचेतनाको कमी छ । यो एउटा अशिक्षाको उपज हो । शिक्षितले आफू बाँचूँ र अरूलाई पनि बचाउँ भन्ने सोच्न सक्छ । तसर्थ समाजमा देखा परेका कुसस्कार र कुरुतिको अन्त्य गर्न सबैलाई शिक्षाको माध्यमबाट सुसज्जित गराउनु पर्दछ । जसका लागि घर परिवार र शिक्षकको महत्वपूर्ण भूमिका रहन्छ ।

विद्यार्थीहरुलाई समाजमा घटेका घटनाहरु र सम्भावित घटनाहरुसंग जानकार गराउदै उनीहरुमा रहेको नकारात्मक पक्षहरुलाई निरुत्साहित गर्दै सकारात्मक मनोवृति बढाउने खालका क्रियाकलापमा बढीभन्दा बढी सम्लग्नता गराउनु पर्दछ । जस्तैः योग व्यायाम, प्राणयाममा जोड दिदै हाम्रो पुर्वीय दर्शन र सस्कृतिलाई शिक्षण बिधिको रुपमा भरपुर प्रयोग गर्नु पर्दछ ।

अहिले बढी चलन चल्तीमा रहेको घोकन्ते पद्धतिलाई सुधार गरि शिक्षण पद्धतिमा परिवर्तन गर्न आवश्यक छ । जुन काम शिक्षकले मात्र गर्न सक्छन् । अहिले हाम्रो शिक्षण पद्धति किताबमा केन्द्रित छ । शिक्षकहरुलाई तालिमले पनि त्यही सिकाएको छ । शिक्षकले किताब भन्दा समाजका यथार्थ बिषयवस्तु लाई पढाउन जरुरी छ । जस्तै माटोको पाठ पढाउदा किताब हेरेर त्यहाको चार्ट र शब्दमा केन्द्रित हुनुभन्दा माटोको पाठलाई नै व्यवहारिक रुपमा पढाउन सकिन्छ ।

अहिलेको अवस्थामा त झन विद्यार्थीमा मनोसामाजिक समस्या आउने प्रबल सम्भावना देखिएको छ । तसर्थ शिक्षकले विद्यार्थीका मन र मस्तिष्कबाट उब्जेका व्यवहारको अध्ययन गरी मनोसामाजिक परामर्श दिन सक्नु पर्दछ । सबै विद्यार्थीहरूका रुचि, क्षमता र आवश्यकतालाई बुझेर शिक्षण गर्नुपर्दछ । जसका लागि शिक्षकले बालमनोबिज्ञान बुझेको र विद्यार्थीको समस्यालाई सहजै हल गर्न सक्ने तागत लिनु पर्दछ ।

शिक्षकमा वर्षौदेखिको सञ्चित भएको ज्ञानमा मात्र सिमित रहने हो र विद्यार्थीहरूलाई कक्षाकोठामा बोल्ने अवसर नै नदिने हो भने शिक्षक र विद्यार्थीबिच असमानता पैदा हुन्छ । फलस्वरूप विद्यार्थीलाई सिकाइप्रति वितृष्णा पैदा हुन्छ । तसर्थ बढी भन्दा बढी बिधार्थीहरु लाई नै बोल्ने अवसर दिएर सिकाइ प्रति उत्प्रेरित गराउन सकिन्छ ।

सहज रूपमा उपस्थित हुने वातावरण भएका विद्यार्थी र योजना बनाएर विद्यालय प्रवेश गराउनु पर्ने खालको विद्यार्थीहरूको पहिचान गरी सबैलाई विद्यालय प्रवेश गराउने वातावरण तयार गराउनु पर्दछ । सरकारले अवलम्बन गर्दै आएको विद्यालय भर्ना अभियान र दिवाखाजा कार्यक्रमलाई पनि निरन्तरता दिएर शिक्षक र अभिभावकबीच सुमधुर सम्बन्ध स्थापित गरी विद्यार्थीहरूलाई मेरो विद्यालय र मेरा शिक्षक भन्ने अनुभूति हुने गरी त्रिपक्षीय समन्वयका माध्यमबाट विद्यालय सञ्चालन गर्नु पर्दछ ।

अहिले समाज रूपान्तरणको संघारमा छ । यसका लागि शिक्षामा सोचान्तरण आवश्यक छ । केही महिनापछि अवस्था सामान्य बन्ने नै छ तर पिरलो केमा छ भने सबै विद्यार्थीहरूलाई विद्यालयमा कसरी सामेल गराएर संलग्नता बढाउने र विद्यालय आइसकेका विद्यार्थीहरूलाई कसरी टिकाउने ? जसका लागि सरकारले जेहन्दार तथा गरिब छात्र छात्रावृतिको उपलब्धताका लागि ठूलो मात्रामा बजेट बिनियोजन गरेको छ । यसमा सम्बन्धित वर्गको पहुँच सुनिश्चित गर्न पारदर्शी र मितव्ययिपूर्ण समन्वय र अनुगमन हुनु आवश्यक छ ।

अधिकांश शिक्षकहरूले कक्षाकोठामा पस्ने बित्तिकै विद्यार्थीलाई पुस्तक पल्टाउन लगाएर पाठ घोकाउने तथ्य विभिन्न अध्यनहरूले देखाउँछ । यसरी जबरजस्ती कक्षाकोठामा किताब मात्र घोक्न बाध्य पारिनु हुन्न । वास्तवमा सिकाइ त भोगाइबाट सुरु हुने कुरा हो । यस भोगाइलाई कसरी पूर्वस्वीकृत गरिएका विषयवस्तुसँग जोड्ने भन्ने बुद्दि निकाल्नु आवश्यक छ । बिधार्थीलाई स्वतन्त्र ढंगले पढने वातावरण दिनु पर्दछ । कक्षामा आएर पढ्ने अथवा आफ्नो गृहकार्य घरमा नै गर्ने छुट उसले पाउनु पर्दछ ।

शिक्षकको मस्तिष्कमा जरो गाडेर बसेको परम्परागत शैलीलाई अन्त्य गर्दै विद्यार्थीहरूको व्यावहारिक ज्ञानलाई उजागर गर्ने वातावरण भयो भने मात्र सिकाइलाई विद्यार्थीमैत्री बनाउन सकिन्छ । अनि, विद्यार्थीहरूमा समालोचनात्मक चिन्तनको विकास गर्न सकिन्छ ।

हरेक कक्षाकोठामा विविधतापूर्ण विद्यार्थीहरूको उपस्थिति रहेको हुन्छ । यस्तो परिवेशमा शिक्षण गर्नु आफैँमा चुनौती त छँदै छ तर यस चुनौतीलाई पनि अवसरको रूपमा रूपान्तरण गर्न सकिन्छ । जस्तै, वैयक्तिक, सामाजिक, आर्थिक, मानसिक, भौगोलिक, धार्मिक, भाषिक तथा सांस्कृतिक रूपले भिन्न रहेका विद्यार्थीहरू नै विषयवस्तुका स्रोत हुन सक्छन् । हरेक विद्यार्थीहरूका अनुभव, ज्ञान र अभ्यासलाई भरपुर प्रयोग गरी कक्षाकोठालाई बढीभन्दा बढी रोचक बनाउन सकिन्छ ।

शिक्षा क्षेत्र लाई समयानुकूल परिवर्तन गर्दै लैजानु पर्दछ । अबको शिक्षा गरेर वा पढेर खाने चाहिन्छ । शिक्षकले अध्ययान र अनुसन्धानलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ । तर त्यसो गरेको पाईदैन । यथार्थमा नेपालका शिक्षकहरु बढी राजनीतिक दल प्रति जिम्मेबार देखिए । उनीहरु त खास बिधार्थीप्रति जिम्मेबार हुनुपर्ने हो । शिक्षकलाई दिने तालिम नै गलत भएको कारण यस्तो समस्या आएको हो । किनकी तालिमले शिक्षकलाई खोल्नु पर्ने हो । बन्द गर्यो ।

अबको शिक्षालाई जनमुखी बनाउन शिक्षक नयाँ नयाँ प्रविधि र ज्ञानसँग अभ्यस्त हुनु अपरहार्य छ । विविधतापूर्ण समाजमा रहेका सम्पूर्ण विद्यार्थीहरूलाई शिक्षाको पहुँच सुनिश्चित गर्नु सामाजिक न्यायको एउटा सबल आधार हो र उनीहरूलाई सामाजिक न्याय दिनु राज्यको दायित्व हो । तर, शिक्षामा सबैलाई समेट्न नसक्नु सामाजिक बहिष्कार हो । यस्ता बहिष्कारमा परेका वर्ग र समुदायलाई समेट्ने खालको परिपाटी स्थापित गर्नु नै आजको आवश्यकता हो । यसलाई शिक्षामा मनोसामाजिक समायोजनको नवीन आवश्यकता हो भन्न सकिन्छ ।

उनी त्रिविका उप-प्राध्यापक हुन् ।


क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!