Techie IT
Tuesday, May 11,2021 / मंगलबार, वैशाख २८, २०७८
×
गृहपृष्ठब्लग / विचार‘भगौडा’ को भडाँस

‘भगौडा’ को भडाँस


फकिर
सशस्त्र जनयुद्धताका हाम्रो गाँउतिर एउटा शब्द निकै प्रचलित थियो । ‘भगौडा’ । जसको अर्थ भाग्नु मात्र हुन्थेन । आत्मसमर्पण गरेको हरूवा चरूवा, निरिह, कायर, पलायनवादी जस्ता अनेकन आरोपमा मुछिएको व्यक्ति भनेर बुझिन्थ्यो । खासगरी सेना अथवा प्रहरीमा जागिर खान गएका अथवा जनमुक्ति सेना (माओवादी) मा जंगल पसेका तर तालिमको दौरानमा कठोर र यातनादायी दैनिकी सहन नसकेर तालिम अवधिमै भागेर गाँउ फर्कि आएका युवाहरूप्रति लक्षित थियो यो शब्द । १२ बर्षे कहालिलाग्दो युद्धले प्रचण्ड, बाबुराम, बादल, बर्षमान मात्र जन्माएको थिएन नयाँ शब्द पनि जन्माएको थियो । ‘भगौडा’ ।

यस्ता भगौडाहरू कि माओवादीले मानसिक वा भौतिक ‘टर्चर’ दिई जागिर वा तालिमको बिचैमा भागेर गाँउ पसेका सेना पुलिस हुन्थे कि सेना पुलिसको बुटको प्रहार सहन नसकेर जंगल पसेका माओवादी हुन्थे । ‘जनयुद्ध’ सकिएको, देशमा संघिय लोकतान्त्रिक गणतन्त्र आएको र जंगलको बिल्ली शहरको सेर भैसकेको बर्षौंपछी म यो प्रसंग किन उप्काई रहेछु भन्ने खुल्दुली तपाई पाठकहरूको हुनसक्छ । यो स्वभाविक खुल्दुली हो । त्यसैले त उहिले छापा पत्रिकामा आर्टिकलको नाम दिएर बाक्लै यस्ता वाईयात लेखिरहने म लामो समयपछी ईन्टरनेटको माध्यमबाट चल्ने यो विधुतिय माध्यममा केही वाईयात हरू लेख्न तम्सिरहेको छु ।

म देश छोडेर हिँडेको शैली वा ‘क्राईटेरिया’हरू भगौडाको जस्तो भए भएनन् । तर म नेपाल छोडेर परदेश आएको तीन महिना बित्दा नबित्दै एक फरक प्रसंगले फेसबुकमा कमेण्ट गर्ने क्रममा मेरा एकजना सहकर्मी (पत्रकार) मित्रले लेखे ‘फर्कदा अब देश बनाउने गरि आउनु ।’ मित्रले माने पनि, नमानेपनि अथवा मैले त्यस्तो भन्न खोजेको होईन यार ! भनेपनि उनको घुमाउरो अभिव्यक्ति थियो त मुला भगौडा होस् के ठूलो कुरा गर्छस् !

हुन त न मलाई न घर बनाउनु छ, न समाज बनाउनु छ, न त देशनै । आफ्नै एकथान जिन्दगी-जिन्दगी जस्तो बनाउँन नसक्ने म । देश बनाउनु मेरो बुताको कुरो होईन । सानामा मकैको खोयाको घर बनाउन जस्तो सजिलो साँच्चिको घर बनाउन वा देश बनाउँन हुँदैन भन्ने दिव्य ज्ञान मलाई तिनै सहकर्मी मित्रहरूले नै दिएका हुन् ।

तर, यसो सोचेर ल्याउँदा म र हामी (जो ४० लाख नेपाली विश्व बजारमा श्रमरत छन्) साच्चिकै भगौडैं रहेछौं कि क्या हो जस्तो पनि लाग्छ । हो म भागेकै हुँ ती मित्रहरूबाट जो सँगै रक्सी खान एउटै टेबलमा बस्छन् र पैसा तिर्ने बेलामा खुद् भाग्छन् । हो म भागेकै हुँ त्यो समाजबाट जुन समाजमा स्वास्नीको कमाई खानु देशको काट्टो खानु सरह हुन्छ वा नामर्दको पराकाष्ठ हुन्छ । हो म भागेकै हुँ त्यो देशबाट जुन देशमा लाश पनि पार्टीको हुन्छ र मलामी चिता र घाट पनि राजनितिक आास्था र ब्याक ग्राउण्ड हेरेर तय गरिन्छ ।

आखिर भाग्नुको बिकल्प के त ? नभाग्नुको अर्थ भनेको बस्न सक्नु होला सायद । तर, नेपालमा बस्न वा बस्न सक्न नेपाली मन, ठाडो शिर, उचोँ छाती र नझुक्ने स्वाभिमान भएर नपुग्दो रहेछ । देशको हिमाल हेरेर, खोलाको कलकल सुनेर, चराको चिरबिरले मात्र पनि त मनलाई अनि सिंगो जीवनकाललाई एकै ठाउँमा अड्याई राख्दो रहेनछ । देशको शासन सत्ताले, बागडोर सम्हालेका नेत्तृवले, राज्य व्यवस्थाले, समाजको दृष्टिकोणले अथवा बैंकबाट कर्जा तिर्न आउनु भन्दै गर्ने ताकेता र केट्केटीको स्कुलको फि लेखिएको बिलले मलाई र हामीलाई भगौडा बनायो । मान्छेलाई भाग्यले लखेटीरहेको बेलामा त देख्दा र सोच्दा सामान्य लाग्ने देशको राज्यव्यवस्था र कागजी बिल भर्पाइदेखी पनि मान्छे डराउँदो रहेछ र भाग्दो रहेछ ।

जसरी युद्धकालीन अवस्थामा जागीरे जीवनबाट भागेर घर आउने सिपाहीहरूलाई भाग्नुको कारण र गुप्त कुरा नसोधी, नबुझी वा अन्दाज नगरी समाजले ‘भगौडा’ को ट्याग भिराईदिन्थ्यो ठ्याक्कै त्यसै गरि अहिले बिभिन्न परिस्थितिमा देश छोडेर बिदेश आएकाहरूलाई त्यही समाज त्यही ‘भगौडा’ को ट्याग भिराईदिन उद्दत छ । समयक्रमले जति फन्को मारे पनि हाम्रो बुझाई र चेनास्तर टस् को मस् भएको छैन । फरक के मात्र हो भने पचासको दशकमा युवाहरू देशबाट देशमै भाग्दथे अहिले देशबाट परदेश भागिरहेछन् । वल्लो जिल्ला वा शहरबाट पल्लो जिल्ला वा गाँउ भाग्ने चलन वल्ल देश र पल्लो देशमा विस्तारित भयो बस् ।

हुन त सरकारको ड्रयरमा समृद्ध नेपाल सुखी नेपालीको स्लोगन, चुलाचुलामा ग्यास, पानीजहाज, चुच्चा थुतुनो भएको रेलको सपना र कसैले आँशु खसाल्न पर्दैन शिर्षकका कविताको पाण्डुलिपि सिवाय अरू के नै होला र ! यध्यपी, यो समाजले भन्ने गरेको ‘भगौडा’हरूको तथ्यांक त्यहाँ भईदिएको भए स्पष्ट देखिन्थ्यो कि अहिले करिब चालीस लाख भन्दा धेरै नेपालीहरू समाज र यो सरकारको दपेट्याईँ खप्न नसकेर देशबाट भागेका छन् । जसमध्य १ दशमलव ७५ प्रतिशत अर्थात ७० हजार (गैरकानुनी बाहेक) नेपाली अहिले म बसेको देशमा बस्छन् र उनीहरुले सरदर ३५ करोड नेपाली रूपैयाँ मासिक रूपमा नेपाल पठाउँछन् । जसलाई तपाईहरू ‘भगौडा रेमिट्यान्स्’ भन्न सक्नुहुन्छ ।

भगौडाहरूको रेमिट्यान्सले नै देशको अर्थतन्र भरथेग थेगिरहेको छ नत्र चप्पल लगाएर घरबाट शहर छिरेका केपी ओली वा फाटेको कमिज लगाएर जंगलबाट काठमाण्डौं पसेका प्रचण्ड र उनका आसेपासेहरू रूघा लाग्दा चेकअप गराउन युरोप अमेरिका पुग्न सक्ने हैसियतका हुँदैनथें ।

जुन देशमा देशको नागरिक भएको प्रमाण पत्र नागरिकता बनाउनदेखि मरेको मान्छेको मृत्यु दर्ता गर्न सिडियो कार्यालयको ढोकाबाट पंजिकाधिकारीको ढोकासम्म च्या खर्च (घुस भनेनि भन्नुस्) बुझाउनुपर्छ त्यो देशबाट नभागेर के गर्नु ? जुन देशमा दमको ओखती पाईदैन तर भियग्रा सजिलै पाईन्छ त्यो देशबाट नभागेर के गर्नु ? जुन देशको न्यायललाई एउटा छोटेमोटे लेखन्दास् खल्तीमा हालेर सिंहदरबारको वरिपरी घुम्छ त्यो देशबाट नभागेर के गर्नु ? भन्नुस् त नभागेर के गर्नु !

कृषिप्रधान देश हो जल, जंगल, जमिन छ, सम्भावनाहरू प्रशस्तै छन् नि भन्ने तर्क पनि रहला । युवाहरू घरको भकारो सोर्न लाज मान्ने विदेशमा गोराहरूको पाईखान सफा गर्न नलजाउने अर्को तर्क रहला । परन्तु, समयमा मल, बिउ, औषधोपचार र उत्पादित माल बस्तुको सम्मानजनक मूल्य स्वदेशमै पाईने भए ३६ प्रतिशत ब्याजको ऋण लिएर समुन्द्रले हुत्याएर ल्याएको बालुवामा धनिया उमार्न कोही युवा खाडी उड्दैनथ्यो । पाईखाना सफा गरि महिनाभरी गुँहु सुँघेर समयमा श्रम अनुसारको तलब सुविधा सुँघ्न पाईने भए कोही युवा ‘स्टुडेण्ट भिषा’ को बुँई चढेर जापान अष्ट्रेलियामा पश्चिमाहरूको जुठो थाल माझ्न आफन्तको अंगालोबाट भाग्दैनथ्यो । भगौडाहरूको पनि ‘भिजन’ हुन्छ !

निश्चय नै अनेकन् प्रत्यक्ष एंवम अप्रत्यक्ष वा मूक अमूक चिजले लखेटेपछी मान्छे जरूर भाग्छ । भागेर कहाँ पुग्छु आँकलन वा पूर्वानुमान नगरिकनै भाग्छ । जसरी मेरो बा बर्षौंअघि गाउँबाट शहर भागेथे । अनि म महिनाअघि शहरबाट परदेश भागेँ । मेरो छोरो पनि भाग्न ठिक्क परेको छ । यो भाग्ने श्रृंखला पुस्तान्तर चलेकै छ । जब हाम्रो शरिरबाट भाग्ने जोस र तागत पनि भाग्छ त्यो दिन हामीहरूको घरको चुलोमा आगो बल्दैन, भात उम्लिदैन मनमा चरम निराशा बल्छ, क्रोध उम्लन्छ जसको उद्गमविन्दु कि समाज हुन्छ कि सरकार । अनि यतिबेला भाग्नु नियति नै बनेको छ । यद्यपि कही फाट्टफुट्ट लहड, देखीसिकी वा देश पनि हेरौं मुख पनि फेरौन त भन्नेहरूको अलिक झुण्ड पनि छ । तथापी अधिकांश नेपाली युवाहरूलाई नियतीले बाटो लगाई दिएको छ । बचेखुचेकालाई समाजले, संगतीले, सरकारले वा यस्तै अरू चिजले लखेटेको हो । नत्र अंगालोको स्वास्नी हापेर, काखको बालबच्चा हापेर, घरगाउँको माया हापेर त्योभन्दा बढी त थानको थान सपना हापेर बदलामा सिर्फ देशको नामको एकथान राहदानी च्यापेर न्याहुरो मुख लगाई कोही परदेश भाग्दैनथ्यो ।

मैले माथि पनि भनिसकेँ कि देशमा टिक्न अथवा अड्याइराख्न छातिभित्र देशको माया वा स्वाभिमान सगरमाथाजति अग्लो मात्र भएर पुग्दैन । संकल्प र विश्वास बलियो भएर पनि काफी छैन । घर, गाँउ, समाज र देशले हरेक पाईला-पाईलामा हान्ने लाती सहने हुत्ति हुनुपर्छ । नेता वा उम्मेद्ववारले जुन चुनाव चिन्हमा छाप लगाएर ढ्वागंमा खसाल भन्यो उसैको ‘एस म्यान’ हुने आदत हुनुपर्छ । कि कम्युनिष्ट हुनुपर्छ कि कांग्रेस हुनुपर्छ । कि अरूको खुशीलाई मार्न सक्नुपर्छ कि आफ्नो खुशीलाई भूल्न सक्नुपर्छ । अन्यथा मेरो उमेर समूहको अथवा बिशेष गरेर युवा पुस्तालाई देशमा टिकिराख्न मुस्किल मात्र छैन असम्भवप्राय छ । अहिले पनि चिया दोकानमा बिहानदेखी साँझसम्मै सामाज, देश, राजनिति, साहित्य, धर्म, परम्परा, वेतिथिबारे भएभरको गफ लगाएर अन्तिममा तीन कप चियाको पैसा उधारो राखेर घर फर्कनेको जमात सानो छैन नेपालमा । जो यो जमातबाट अलि पर निस्कन खोज्छ उ भगौडा भैहाल्छ । देश छोडेर बिदेश भाग्ने पलायनवादी कहलिईहाल्छ ।

कतिपय बुज्रुक, अति बुज्रुक साथी तथा उपसाथीहरूले यी कुरा र सन्दर्भहरूलाई खाली एक भगौडा पूर्व पत्रकारको, अराजक लेखक भनौदाको, स्वतन्त्र नागरिक भनि टोपल्नेको र समग्रमा एक भगौडाले केहि सीप नलागेर देशप्रति, समाजमाथि, शासनसत्तामाथि, राज्यव्यवस्थामाथि शब्दको सहायताले पोखेको मनको भडाँस मात्र ठान्नुहुन्छ होला । ठान्नुस म चैं अन्यथा ठान्दै ठान्दिन । आदर्शको कुरा गरेर, परिवर्तनको कविता भनेर,सिर्जनशिल समाचार लेखेर मेरो चैं घरको चुलो बलेन अनि म ‘भगैडा’ भएँ । भन्नुस् न तपाईहरूको घरको चुलो चाहिं कसरी बलिरहेको छ ? ईति ।

हाल कुवेत ।


क्याटेगोरी : ब्लग / विचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार