Techie IT
Tuesday, October 27,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठब्लग / विचारदाग, पेनिक अट्याक र चौतारा अस्पताल

दाग, पेनिक अट्याक र चौतारा अस्पताल


अमित घिमिरे,

चौतारा । विहानै देखि अफिसकै काममा थिएँ । खाना खाएर फेरि अफिस गएको थिएँ । सहकर्मी मित्र बुद्ध घले पनि आउनु भएको थियो । १० मात्र बजेको थियो । काम गर्दै थिएँ कि अचानक अन्धकार भएर आयो । चिटचिट् पसिना आयो । मुटुको गति तिब्र भयो ।

शुरुमा मैले सुगर स्वाट्टै घट्यो भन्ने अनुमान लगाएँ । सधै चक्लेट बोक्नु भनेको थिए डाक्टरले सधै मेरो झोलामा चक्लेट हुन्थ्यो पनि । अघिल्लो दिन टुँडिखेलमा रोहिरहेको बच्चालाई दिएको थिएँ । अफिस बाहिर बुढाथोकी भाइको होटलमा गएर एक पसर चिनी मागेर फाँको मारेँ ।

बुद्धलाई मेरो मुटुको गति छाम्न लगाएँ उनी दंग परे । मैले पनि सोचेँ मेरो प्रेसर बढ्यो पक्का । उनी आत्तिए “जाऊ सर अस्पताल” भने । अफिस, मेरो घर र अस्पतालको दूरी मापन गर्ने हो भने अस्पताल नजिक पर्छ । मैले भने “अस्पताल भन्दा नजिक मेडिकल छ त्यहाँ गएर प्रेसर चै हेरुँ न” भनेर सँगै गयौ ।

मेडिकलवालाले प्रेसर जाँच्ने वीपी सेट छैन भन्नु भयो । र हामी २०/२५ कदम परको अस्पतालमा पुग्यौ । मेरो सास नै अवरुद्ध होला जस्तो भइसकेको थियो । मैले सोचेको थिएँ मेरो हाल देखेर तत्काल उपचार शुरु हुनेछ भनेर । तर त्यसो भएन । म उभिन नस्कने भइसकेको थिएँ । शरीर पसिनाले लथपथ भएको थियो । मेरो मुखमा माक्स थिएन । माक्स लगाउँदा झन् सास रोकिएला जस्तो भएकाले अफिसमा नै फुकालेको थिएँ । फेरि बुद्धजीले अस्पतालको मेडिकलमा माक्स किन्नु भो ।

“मेरो मुटु खस्ला जस्तो भयो म डाक्टरलाई भेटुँन” भनेको पहिला टिकट काट्नुहोस् भने । अनि टिकट काटेँ फेरि लाइनमा बस्नु पर्छ भनेँ । लाईनमा बसेँ । पालो आउन्जेल मलाई हल्का राहत भएको महसुस हुन थाल्यो । डाक्टर कति जना छन् मलाई थाहा छैन । वहिरंग सेवामा २ जना महिला थिए । ती ओजेटीमा आएका नर्स थिए वा ‍ओजेटी डाक्टर थिए वा डाक्टर नै थिए थाहा भएन ।

जिङरिङ् कपाल, झुस्स दाह्री, सामान्य पहिरनमा रहेको म चप्पलमा थिएँ । औपचारिक अफिस नभएका कारण म अफिस पोसाकमा पनि थिइनँ । गाह्रो माने झै गरी उनीहरुले “के भो” भनेर सोधे । मैले सबै भने । नाडी छामेर प्रेसर हेरिदिनु भयो र “सामान्य छ” भन्नु भयो । भन्दै जाँदा पो मलाई होस आयो कि मलाई पेनिक आएको हो भनेर । “ईसीजी गर” भन्नु भयो ।

ईसीजी गर्न गएँ । निकै बेर लाग्यो । मेसिन साह्रै पूरानो रहेछ । प्रिन्ट पेपर अड्कियो । बल्ल बल्ल आधा-आधा गरेर प्रिन्ट निक्लियो । लिएर डाक्टर भएको ठाउँमा देखाउन गएँ । ढोका पुग्नु अघि नै कर्कष स्वरमा भनिन् “तपाईलाई उतै बस्नु स्ल्याइन लिनु भन्या हैन” भन्नु भयो । ईसीजी गर्दा गर्दा त्यसको सामान्य रिपोर्ट हेर्न जान्ने भएको थिएँ म पनि । नदेखाइकन त्यस पछि हामी घर आयौ ।

मैले सुगर डाउन भयो वा एक्कसी प्रेसर ह्वात्तै बढ्यो भन्ने मात्र सोचेँ । पेनिक अट्याकको खयालै भएन मलाई । नत्र म अस्पताल जाने नै थिइनँ । २०/२५ मिनेट सकस हुने र मरे जस्तो हुने न हो । मानविय संवेदनालाई कोरोनाले निलेछ । अस्पताल म भन्दा धेरै विरामी रहेछ । उपचारको खाँचो रहेछ । मैले लाईनमा बसिरहँदा यही हस्पिटलमा कुनै समयमा आएका डाक्टर नन्दलाल सिकर्मी, सागरराज राजभण्डारी, गरिमा पुडासैनीहरुलाई सम्झिएँ । र कामना गरें यस्ता मान्छे फेरि फेरि यस अस्पतालमा आऊन् ।

मलाई त पेनिक अट्याक मात्र आएको थियो तर अस्पताल त मानवियता गुमाएर घाट उन्मुख भएको रहेछ । मेरो बाआमा नभएर म टुहुरो भएको छु । जिल्ला पनि टुहुरो छ, अभिभावक छैनन् । त्यसैले यस्तो चरम वेथिति छ । जिल्लाले पनि अभिभावक पाओस् ।
धुलिखेल, बनेपा, काठमाण्डौ, पोखरा धेरै अस्पतालहरुमा ईसीजी गरेँ तर यस्तो अचम्मको दाग बसेको थिएन । यो दाग किन र कसोरी बस्यो होला ? यही सोच्दै छु ।


क्याटेगोरी : ब्लग / विचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित समाचार