Techie IT
Sunday, November 1,2020 / शनिबार, कात्तिक १५, २०७७
×
गृहपृष्ठब्लग / विचारनोवेल कोरोना र ६३ औं राष्ट्रिय सहकारी दिवस

नोवेल कोरोना र ६३ औं राष्ट्रिय सहकारी दिवस


  • भुपेन्द्रविक्रम थापा

वि.सं. २०५८ तिर होला मलाइ कक्षा १० का विद्यार्थी भाइबहिनीहरुलाइ सहकारीको बारेमा पढाउनु थियो । यसका लागि मसँग कुनै स्रोत सामग्री थिएन । पाठ्यपुस्तकमा जे थियो त्यसैलाइ आधार मानेर कक्षा सञ्चालन गरेँ । विद्यार्थीले कति बुझे र मैले कति बुझेको थिएँ त्यो मलाइ अहिले पनि खासै याद छैन । तर सहकारीको बारेमा एउटा संस्थाको बुलेटिनमा लेख लेखेको सहेछु, सहकारी र सुसासन भनेर । यो पढेर मलाइ त्यो बेलामा पनि सहकारी सम्बन्धी थोरै चेत रहेछ भनेर खुसी लाग्छ ।
संयोग भनौ २०६५ सालमा सहकारीको सदस्य पनि नभइ एकैचोटी संस्थाको नामाकरण गर्ने देखि अध्यक्षको जिम्मेवारी लिनेसम्मको अवसर मलाई राम्चे बचत तथा ऋण सहकारी संस्थाले दियो । नियमानुसार २५ जना सदस्य पु¥याउन र ९ जनाको तदर्थ समिति बनाउन पनि मुस्किल मुस्किल परेको दिन मलाइ राम्ररी याद छ । सामुदायिक विकास कोषलाइ सहकारीमा रुपान्तरण गर्ने र आर्थिक व्यवस्थापन गर्ने मूख्य उद्देश्यका साथ राम्चे आउनु भएको तात्कालिन जिल्ला विकास समितिका सूचना अधिकृत राजेन्द्र प्याकुरेलसँग औपचारिक रुपमा परिचय भएको दिन पनि त्यही हो । उपस्थित भेलाको बीचबाट रमेश प्रसाद पौडेल सरले अध्यक्षको रुपमा मलाइ मेरो पृष्ठभूमी सहित अघि सारेको पनि मलाइ याद छ । त्यसरी शुरु भएको सहकारीको सदस्य संख्या अहिले दुइ हजार चार सय पुगेको छ । मलाइ राम्ररी याद छ पहिलो वर्ष हामीले करीब ४ लाखको कारोबार गरेर नौ हजार छ सय मुनाफा साधारण सभामा सुनाएका थियौं तर अहिले त्यही राम्चेलीहरुको बचत कारोबार नौ करोड पच्चीस लाख पुगेको छ ।
मेरो सहकारी सम्बन्धी ज्ञान हासिल गर्ने राम्रो पाठशाला बन्यो राम्चे बचत तथा ऋण सहकारी संस्था लिमिटेड । सहकारीमा रहँदा कर्मचारीको क्षमता अभिबृद्धि, सदस्य सेवा र समितिको नेतृत्व विकासलाई विशेष ध्यान दिएका कारण सहकारी कार्यक्षेत्रभित्रको सतप्रतिसत घरधुरी समेटेको देशकै पहिलो नमूना सहकारी बन्यो । जिल्ला विकास समिति र डिभिजन सहकारी संस्थाबाट सम्मानित पनि भइयो । अहिले संस्थाले समुदायलाई राम्रो सुविधा दिइरहेको छ भन्ने विश्वास लिएको छु । मैले ५ वर्ष नेतृत्व गरेको यो संस्था चौथो अध्यक्षको नेतृत्वमा संस्था अघि बढिरहेको छ । पढेलेखेका युवाहरुले संस्थालाइ नेतृत्व दिइरहनु भएको छ । अहिलेको साथीहरुको सहकारी सम्बन्धी ज्ञान र सक्रियता देख्दा मेरो कार्यकालमा कसरी सहकारी चल्यो होला जस्तो लाग्छ । म भन्दा उहाँहरु निकै सक्रिय हुनुहुन्छ ।
आज राष्ट्रिय सहकारी दिवस पनि परेकाले मैले यो सहकारीलाइ स्मरण गरें । नोवेल कोरोना भाइरसले ल्याएको महामारीका कारण आज सहकारी संस्थाहरुले सहकारी दिवस मनाउन पाएनन् । सहकारी सदस्यहको महान चाड हो यो । सायद मलाइ जस्तै सबै सकारीकर्मीहरुलाइ खल्लो महसुस भएको होला । मैले सहकारीलाइ सम्झेर सहकारी दिवस मनाउने विचार गरें ।
वि.सं.२०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा स्थापना भएको बखान सहकारीको स्थापना दिवस नै हाम्रो राष्ट्रिय सहकारी दिवस हो । सहकारी विभागको पछिल्लो तथ्यांकलाइ आधार मान्ने हो भने नेपालमा १५ भन्दा बढी प्रकारका ३४ हजार ५ साय १२ सहकारी संस्थाहरु छन् । ६३०५५८१ सदस्य छन् । ६०५१७ जनालाइ प्रत्यक्ष रोजगार दिएको छ । स्वरोजगारको संख्या त अझ धेरै हुने नै भयो । सहकारी विभागले आधिकारिक रुपमा तथ्यांक अद्यावधिक नगरेका देखिएको छ । यी उल्लेखित संख्याको वास्तविकता अझ बढी छ । नेफ्सकुनले जनाए अनुसार वित्तिय क्षेत्रम २५ प्रतिसत र समग्र आर्थिक क्षेत्रको विकासमा ५ प्रतिसत योगदान सहकारीले पु¥याएको छ ।
विषयगत जिल्ला संघ र केन्द्रिय संघ, सहकारी विभाग, सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ मात्र होइन मन्त्रालयको नाममा सहकारी राख्न समेत सफल भए । नेपालको संविधानले तीन खम्बे अर्थनीति भित्रको एक खम्बाको रुपमा सहकारीलाइ समेटेको छ । यो सहकारीको विकासको संकेत हो, सहकारी आन्दोलनको सफलता हो अनि सहकारीकर्मीहरुको लागि खुसीको कुरा हो ।
सहकारीको राम्रो कुरा
सहकारीको मूल मन्त्रलाइ राजनैतिक पार्टीका नेताहरुले आफ्नो राजनैतिक कार्ययोजनामा समावेस गर्नुपर्ने हो । सदस्यहरुले आफूहरुकै हितका लागि आफैले सञ्चालन गर्ने विश्वकै उत्कृष्ठ समाजबादको नमूना हो सहकारी । छिमेकी देशहरु भरत र चीनलाइ हेर्ने हो भने पनि सहकारीलाइ जनमूखी सेवाप्रवाहको माध्यम बनाएको देखिन्छ । विकसित देशहरुले राजनीतिमा सहकारी छिराए । सामुदायस्तरमा बनेका साच्चैको सहकारीको व्यवस्थापन सुन्दैमा आनन्द लाग्ने छ ।
समान उद्देश्य भएका व्यक्तिहरु एक भएका छन् । उत्पादन र बजार व्यवस्थापन आफैले गरेका छन् । स्वरोजगारी कसरी हुन सकिन्छ भन्ने नमूना ग्रामीण भेगमा विशेष गरेर दुग्ध सहकारी, फलफूल तथा तरकराी सहकारी, कृषि सहकारी, चिया तथा कफी सहकारीहरुमा उत्कृष्ठ प्रयोग भएको देखिन्छ ।
देशले रोगजारीको सुनिच्चिता गर्न नसकेको बेलमा सहकारीले ठूलो संख्यामा प्रत्यक्ष वा परोक्ष रुपमा रोजगारी सृजना गरेको छ । पर्याप्त नभए पनि यसमा राज्यको साथ र सहयोग पनि उल्लेख्य छ ।
सहकारी संस्थाहरु नभएको भए २०५२ देखि २०६२ सम्ममा अझै धेरै मानिस मारिने थिए । सहकारीले ठूलै जनसंख्यालाइ एउटा पद्धतिभित्र बसेर बोल्न र व्यवहार गर्न सिकाएको छ । कम्तिमा सहकारीमा लाग्ने र सहकारीको नेतृत्वदायी भूमिकामा रहने व्यक्ति इमान्दारिताका साथ लाग्ने हो भने कुनै पनि राजनैतिक पार्टीको झोला र झण्डा बोक्दैन । राम्रा सहकारीहरुमा यो संस्कार देखिएको छ ।
आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहकारीले राम्रो भूमिका निर्वाह गरेको छ । मानवीय सेवा र सामाजिक विकासको क्षेत्रमा राम्रो जनसहभागिता गराएको छ ।
सहकारी संस्थाहरुमा देखिएको समस्याहरु
सहकारीको मूल्य, मान्यता र सिद्धान्तका आधारमा सहकारी जसरी चल्नुपर्ने हो त्यसमा स्वेच्छाचारीता हावी भएको छ । व्यक्तिगत वा राजनैतिक मूल्य मान्यता र सिद्धान्त अर्थात स्वार्थका आधारमा पनि सहकारी संस्था सञ्चालन भएको देखिन्छ । जिल्ला संघ तथा केन्द्रिय संघको नेतृत्व तहमा हेर्ने हो भने सहजै एउटा पार्टीको दर्शन बोकेर हिडेका व्यक्तिहरु देखिन्छ मात्र होइन साधारण सभाहरु हुँदा पार्टीगत रुपमा प्यानल बनेर चुनाव लडेको देखिन्छ । यसको असर स्थानीय तहमा समेत देखिएको छ । नगरपालिका र गाउँपालिकाहरुमा रहेका सहकारीको सञ्चालक समिति गठनमा मेयरउपमेयर नै लागेको समेत देखियो । हाम्रो देशमा जता पनि राजनीति छिर्ने रोग लागेको छ । स्थानिय निकायका नेताहरुलाइ सहकारी संस्था र विद्यालय व्यवस्थापन समिति विशेष चासोको विषय बन्दछ । उनीहरु त्यहाँ राजनीति गर्न चाहन्छ किनकि उनीहरुलाइ राजनीति के हो थाहा नै छैन ।
सहकारीले सदस्यहरुलाई सदस्यहरुद्वारा नै सेवा दिने र सामुहिक रुपमा सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने हो तर यहाँ केही पैसावाला व्यापारीहरु मिलेर सहकारी खोल्ने अनि किसान तथा खुद्रा व्यापारीहरुलाइ नाम मात्रको सदस्य बनाएर व्याजमा पैसा लगाउने र उनीहरुले तिरेको व्याजले सिमित व्यक्तिले उच्च मुनाफा बाढेर खाने अनि उच्च मुनाफा आर्जन गर्ने सहकारी भनेर विज्ञापन गर्ने गरिएको देखिन्छ । यो व्यापार हो सहकारीमा आर्थिक व्यापार हुनुहुँदैन ।
के गर्नुपर्ने र के नगर्नुपर्ने भनेर केन्द्रिय निकायहरुले बेलावेलामा निर्देशन दिएको पाइन्छ । सहकारी संस्थामा आवद्ध भएका सदस्यहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने, नीति–नियम बनाउने, कार्यान्वयन गर्ने र समस्या देखि संसोधन गर्ने काम गर्न सक्दछन तर अहिले केन्द्रिय संघहरुले विभिन्न ब्राण्डिङ र क्षमता विकासका नाममा तालिमका प्याकेजहरु निर्माण गरेर बेचिहरेका छन् । नेपालको स्थानिय तहमा पनि राम्ररी चल्न नसकेको सहकारीलाई अन्तराष्ट्रिय मापदण्डले के दिन्छ ? यो नेताहरु र टाठाबाठाहरुको राजनैतिक चहलपहल र विदेश भ्रमण गर्ने, सम्मान खाने र स्वघोषित सहकारी अभियान्ता हुने अभियान हो ।
सहकारीको नीति नियम अनुसार गर्न नहुने वा नमिल्ने विषयहरुमा पनि सहकारी खोल्ने, एउटा सहकारीमा पद नपाएको बाहनामा अर्को सहकारी खोल्ने, जातीय सहकारी, लैङ्गिक सहकारी, उमेर अनुसारको सहकारी खोलेर विकृति आएको छ । सहकारीको अर्थ नबुभ्mनेहरु सञ्चालक भएका छन् ।
धेरै सहकारी संस्थाहरुमा सदस्य बन्ने र एउटाबाट ऋण लिने अनि त्यो ऋण तिर्न नसके अर्को सहकारीबाट ऋण लिएर तिर्ने परिपाटीको विकास भएको छ ।जसले गर्दा आर्थिक व्यवस्थापनमा असक्षम भएका सदस्यहरु ऋणको भारी बोकेर बसेको पनि देखिन्छ ।
सहकारीले गर्नुपर्ने कुराहरुः
सहकारी संस्थाले लिने तालिममा त स्थानीयस्तरको सम्भावना अध्ययन गर्ने, व्यावसायिक योजनाहरु निर्माण गर्ने र त्यस्ता योजनाहरु सदस्यहरुको स्वरोजगार सृजनाको लागि लागु गर्ने ।
एउटा सहकारीले उत्पादन गरेको सामान अर्को सहकारीको कार्यक्षेत्रमा खपत हुन सक्दछ तसर्थ सहकारी सहकारी बीच उत्पान र बजारिकरणको लागि समन्वय, समझदारी र सहकार्य गर्न जरुरी छ ।
आफ्ना सदस्यहरुका लागि आवश्यक न्यूनतम सेवा सुविधा सहकारीले दिएर एक भन्दा बढी सहकारीमा सदस्य बन्ने, ऋणको भारी बोकेर मानसिक विरामी भएका मात्रै होइन कतिपय व्यक्तिहरु सहकारी कै ऋणले घरबार विहिन हुने अवश्थामा समेत पुगेको देखिन्छ । तसर्थ सहकारीले ऋण दिनुभन्दा पहिले उसले ऋण लिएर के गर्दै छ ? व्यावसायिक योजना कस्तो छ ? कार्यान्वयनमा सहकारीको भूमिका के हुन्छ ? सदस्यको व्यवसाय सफल बनाउन उसको क्षमता विकास कसरी गर्न सकिन्छ ? ऋण तिर्न आउँदा खुसी भएर आउने र आफ्नो सफलताको कथा सुनाउने कसरी बनाउने? यी विषयहरुमा सहकारी संस्थाहरुले पर्याप्त काम गर्नु पर्ने छ । अन्यथा दुरविनको सहायताले टाढाको बस्तु हेर्न खोज्दा नजिको बस्तु छुटेजस्तो हुन्छ । टाढा टाढा हेर्ने हुँदा स्थानिय अवसर र सम्भावनाहरु प्छि पर्नेछन् । विश्वव्यापीकरणको आँखा, सूचना प्रविधिको साहरा, स्थानिय स्रोत साधनको सदुपयोग र सहकारीको माध्यम बनाएर अघि बढ्ने यो सुनौलो अभियान हो ।
नोवेल कोरोनाको सन्दर्भ
नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि सहकारीको ठूलो भूमिका रहने थियो । तर कोरोनाको महामारीका कारण भ्रमण वर्ष २०२० का सबै कार्यक्रमहरु सथगित भएका छन् । मार्यादित श्रम र पर्यटनका लागि सहकारी भन्ने मूल नाराका साथ मनाउन लागिएको सहकारी दिवस आज केवल सामाजिक सञ्जालमा मात्र केन्द्रित भएको छ । सहकारी दिवसलाइ मात्र यसले असर पारेन सहकारीले वर्षभरी गर्ने भनि बनाएको आर्थिक विकासको योजना, सहकारी सदस्य सशक्तिकरणका योजना, सेवा सुविधा विस्तारका योजना लगयात सबै योजनाहरु स्थगित भए । यसले गर्दा सहकारीको विकासमा थप मेहनत जरुरी पर्दछ । यद्यपी यही बेला हो सहकारीले सदस्यहरुलाइ सहकारीको सदस्यता लिएकोमा गौरव महशुस गराउने । न्यूनतम अनिवार्य सेवाहरु कार्यालयबाट दिइरहेका सहकारीहरुले यदि यो आवतजावतमा लागेको प्रतिवन्ध अझ बढ्यो भने सेवा दिने रणनीति नयाँ बनाउनु पर्ने छ । आधिकारिक निकायको अनुमति र सुरक्षा निकायाको सुरक्षा लिएर घरघरमा सेवा दिनुपर्ने हो कि ? यस्तो अवश्थामा स्थानिय निकाय, प्रशासन र अन्य सेवामा खटिएका संस्थाहरुसँग समन्वय गरी एकिकृत सेवा दिन सकिएला कि ?
सरकारको निर्देशनको अबज्ञा नगरी प्रशासनको सहयोगमा विग्रिएर जानसक्ने फलफूल, तरकारी र दुग्धजन्य बस्तुको बजारिकरणमा सहकारीले सहजीकरण गरिदिनुपर्ने हो कि ? अथवा त्यसको रुप परिवर्तन र भण्डारणको केही उपायहरु दिन सकिन्छ कि ?
अन्ततः सदस्यहरुको मन छुने सेवा दिने एकमात्र निःश्वार्थ संयन्त्र सहकारी हो भनेर चिनाउने यो उपयुक्त अवसर हो र यसैले हरेक व्यक्तिको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहयोग पु¥याउने छ । राजनीति गर्नेले पनि सहकारीमा राजनीति होइन राजनीतिमा सहकारी नीति लिने बेला यही हो । सहकारी संस्थामा लागेर गरिएका पापको प्रायश्चित गर्ने, आत्मा समीक्षा, आत्मा निर्माण र आत्मा विकास गर्ने सुनोलो अवसर कोरोनाले सृजना गरेको छ । यदि तपाई राम्रो सहकारीको सदस्य बन्नु भएको छ भने तपाई भाग्यमानी हुनुहुन्छ । अन्यथा सुध्रिने सुनौलो अवसर पनि यहि हो ।
हामी एक्लै कोठामा बसेका छौं । शान्त भएर एक्लै बस्दा व्यक्तिले आफूलाइ ढाँट्न सक्दैन । आफूलाइ नढाँट्ने र सदस्यलाई नछल्ने संकल्पका साथ ६३ औं सहकारी दिवस कोरोनाको साथमा घरघरमै बसेर मनाऔं सबै सहकारीप्रेमी मित्रहरुमा सहकारी दिवसको शुभकामना ।
जय सहकारी ।

बाह्रबिसे–९, सिन्धुपाल्चोक


क्याटेगोरी : ब्लग / विचार
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित समाचार