बुधबार, चैत्र ५, २०८१
गृहपृष्ठविचार/अन्तरवार्ता‘कृषि पर्यटनमार्फत वडालाई अर्थतन्त्रमा अब्बल बनाउने अभियानमा छु’

‘कृषि पर्यटनमार्फत वडालाई अर्थतन्त्रमा अब्बल बनाउने अभियानमा छु’


मुके शेर्पा
अध्यक्ष
भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन् । खोला, भीर पाखा भएको यो वडामा सबै बस्तीलाई सडक सञ्जालले घेर्ने उनको अभियान अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य, शिक्षामा निकै पछाडि रहेको लिस्तीमा जनप्रतिनिधि आएपछि सुधारको क्रममा छ । खानेपानीको चरम समस्या रहेको यो गाउँका अहिले ९० प्रतिशत घरमा पानीको पहुँच पुगेको छ । विशेषगरी कृषिबाट वडा मात्रै नभई जनता पनि आत्मनिर्भर बनाउने शेर्पाले अनेक कदम चालेका छन् । स्याउ, सुन्तला, कागती, किवी, दाँतेओखर रोपेर उदाहरणीय काम गरेका मुके कृषि क्रान्तिबाटै पर्यटन प्रबद्र्धन हुनेमा जोड दिन्छन् । कृषि पर्यटनको सम्भावनाहरु पहिचान गरेर वडालाई अर्थतन्त्रमा अब्बल बनाउन लागिपरेका उनै वडाअध्यक्ष मुके शेर्पासँग गरिएको कुराकानीको संक्षेप अंश यहाँ प्रस्तुत गरिएको छ । सं.

हालसम्म तपाईको वडामा विकास निर्माणको के कस्ता कार्यसम्पादन भयो ?
विकासका कामहरु लक्ष्य अनुरुप भएको छ । साथै प्रशासनिक र प्राविधिक पक्षमा पनि सुधारोन्मुख छ । नेपाल सरकार, प्रदेश सरकारबाट र गाउँपालिकाबाट जुन लक्ष्यका लागि भनेर बजेट आएको थियो । उपभोक्ता समितिबाट हुने कामहरु भएको छ ।
वडाको समृद्धिका लागि चुनावमा गरेका वाचाहरु कति पूरा भए, लक्ष्य प्राप्ति कहिले हुन्छ ?
मैले जे गर्न खोजेको थिएँ, त्यो क्रमबद्ध रुपमा भइरहेका छन् । पहिले चुनाव लड्दा मैले जे प्रतिबद्धता जनतासामू गरेको थिएँ । त्यो पूरा हुने क्रममा छन् । यहाँ आएको बजेट अरुलाई पनि खान दिन्न र आफू पनि खाने छैन भनेको थिए । त्यो गरेको छु । समस्या कहाँ हुँदो रहेछ भने आफूले जे काम गर्दै गयो । त्यसमा कर्मचारीको मिलेमतो भयो भने समृद्धिमा समस्या हुँदो रहेछ । कार्य सम्पन्न भएका योजनामा अनुगमन गरेर उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने जस्ता कार्य गरेर कर्मचारी सक्रिय भएमा समृद्धि हुन्छ । विशेषगरी कृषिबाट वडा आत्मनिर्भर बनाउन लागिपरेको छु । स्वास्थ्य, शिक्षा, पर्यटन प्रबद्र्धन, सडक विस्तारले गति लिएको छ ।
तपाईं जनप्रतिनिधि हुनुहुन्छ । जनतालाई खुशी पार्ने योजना के कस्ता छन् ?
जनतालाई सुविधा चाहिन्छ । बाह्रैमास मोटर चल्ने सडक हुनुपर्छ । कृषि उपजलाई ढुवानी गर्न सक्नुप¥यो । विक्री गनुप¥यो । यो वडा निकै विकट वडा हो । असार सुरु भएपछि वडा कार्यालयसम्म पनि सवारी आइपुग्न निकै कठिन हुन्छ । हिडेर जानुपर्ने अवस्था हुन्छ । वडा कार्यालयमा आइपुग्न ३ देखि ४ घण्टासम्म लाग्छ । जनताको चाहना सडकमै छ । अरनिको राजमार्गबाट लिस्तीका सबै ठाउँमा मोटर चढेर आइपुग्न पाउँ । टोलटोलका सडकहरुमासमेत सवारी आवागमन होस् भन्ने चाहना जनताको छ । घरमा पुुग्न बाटोमा ढुंगा बिच्छ्याउने, सहज खानेपानीको व्यवस्था, विद्यालय, स्वास्थ्य उपचार, कृषि व्यवसायमा राम्रो गर्न पाए हुने भन्ने इच्छालाई सहज सेवा दिलाउनका लागि म लागिपरेको छ ।
कृषिबाट जनतालाई आयआर्जनमा ल्याउन के कस्ता योजना छन् । के के गर्नुभयो ?
यो हिमाली गाउँ हो । चीन अनि भारतमा म घुम्न जाँदा यहाँकै जस्तो हावापानीमा स्याउ, दाँतेओखर निकै फलेको देखें । उस्तै प्रकृतिको हावापानी भएपछि यहाँ चै किन हुन सक्दैन भनेर यो वडाबाट मैले सुरु गरेको छु । स्याउ रोपिसकिएको छ । दाँतेओखर, किवी, सुन्तला, कागतीहरु पनि लगाइएको छ । उत्पादन दिन केही समय लाग्छ । यहाँका जनताहरु चैं अहिले काम गरेर तुरुन्तै फल लिन पाए हुन्थ्यो जस्तो सोच छ । मेरो भने दीर्घकालीन सोच छ । पछि आउने जनप्रतिनिधिले पनि जनता लाभान्वित हुने सोच ल्याउनु जरुरी छ । यस्तो होस् कि यति विकट गाउँमा उत्पादन भएको कृषि उपज खरिदका लागि विदेशी व्यापारीहरु आओस् भन्ने इच्छाले मैले यो वडामा जनतालाई कृषिबाटै आत्मनिर्भर बनाउन खोजेको हुँ । बरु दस बर्ष समय लागोस् तर यो सम्भव गरेरै छाड्छु भनेर लागेको छु ।


यो वडाको हालको विकासको अवस्था कस्तो छ ?
लिस्तीको साविक ९ नं. वडामा पर्ने घिच्चेत गाउँ एकदमै विकट छ । अहिले भएको वडा कार्यालयबाट त्यहाँ पुग्न ४ घण्टासम्म लाग्छ । पहरो काट्नुपर्छ । भीर फोड्नुपर्छ । त्यहाँ बाटो पु¥याउनुपर्छ भनेर मैले दुई वर्षदेखि वडाबाट बजेट राखेर अहिले त्यहाँ सडक पुगेको छ । सवारी साधन पुगेको छ । छगाम हुँदै ऐतिहासिक दुगुनागढीसम्म बाटो खोल्नुपर्छ भनेर मैले गाउँपालिकासँग कुरा राखेर यसपाली अब दुगुनामा सडक पुग्छ । बञ्जी जम्प हुँदै छोटो बाटो लिस्ती आउनका लागि ७ किलोमिटर पर्छ । यो सडक निर्माण भएको छ । भोटेकोशी नदिमा पुल नभएका कारण भने अहिले समस्या आएको हो । अहिले पनि मोटरसाईकल प्रयोग गरेर हामी वडा कार्यालय हुँदै बन्जी जम्प पुग्न सकिन्छ ।
केन्द्रीय सरकार र प्रदेश सरकारमातहतका कामहरु पनि राम्रो भइरहेको छ । डाँडामा टावर सञ्चालनमा भएको छ । भोटेकोशी, बाह्रविसे र त्रिपुरासुन्दरीका जनता लाभान्वित भएका छन् । जसले सञ्चारको विकासले फड्को मारेको छ ।
सम्भावना के के छ समृद्ध वडाका लागि ?
२० वर्षसम्म जनप्रतिनिधि नहुँदा यहाँका जनता पछि परेका हुन् । त्यसैले कसैले चासो नदिँदा केही सम्भावना खोतल्न सकिएन । अहिले मैले यहाँका अमूल्य जडिबुटीबारे अध्ययन गरिरहेको छु । लेकमा भएका जडिबुटी संकलन राम्रोसँग हुन सकिरहेको छैन । हरेक प्रकारका जटिवुटीबाट यहाँका बासिन्दाले आयआर्जन गर्न सक्नेछन् । यहाँ यार्सागुम्बा, धुप बनाउने पाती, सुनपाती, लाखाृती, चिलाउते, रंग बनाउने लहरा, जटामसीलगायत धेरै जडिबुटी छ ।
यहाँका ठाडोखोलामा हाइडोपावर अपार सम्भावना छ । यहाँका व्यापारीहरुले यसमा लगानी गर्नसके गाउँमै रोजगारीको वातावरण बन्ने मात्रै हैन अर्थतन्त्रमा लिस्तीलाई अब्बल बनाउन सकिन्छ । अहिले यो दर्ता पनि भइसकेको छ । र, छिट्टै निर्माण कार्यलाई अगाडी बढाएर सञ्चालनमा ल्याउनु जरुरी छ । कृषि उपजलाई गाउँपालिकासँग समन्वय गरेर वडाले यहाँ भएका आयआर्जनका आधारलाई पहिचान गरेर लिस्तीमा ठूलो संकलन केन्द्र राख्न जरुरी देखेको छु । जनताद्धारा संकलित सामग्रीलाई वडा कार्यालयले निश्चित मूल्य तोकेर खरिद गरिदिने र बजार व्यवस्थापन गर्ने योजना छ ।
भैरवकुण्ड पदमार्ग निर्माणसँगै पर्यटन वृद्धिका लागि के गर्न सकिएला ?
यहाँ जनै पूर्णिमामा मेला लाग्छ । देश विदेशका नागरिकहरु यो मेलामा सहभागी हुने गर्दछन् । धार्मिक पर्यटकीय गन्तव्य भएकाले यसको व्यवस्थित गर्नु जरुरी छ । यहाँ पाहुनाहरु आएर कम्तीमा एक दिन बास बस्ने व्यवस्था मिलाउन सके पर्यटन बृद्धिका लागि आधार बन्ने थियो ।
त्यहाँ पुग्न बाटोको सुविधा राम्रो छैन । बस्ने बास छैन । पहिला पञ्चायतकालमा त्यहाँ ३÷४ वटा पाटी थियो पाहुना बस्नका लागि । अहिले त्यो भत्किएको छ । अहिले पाटी निर्माण गरेमा पाहुनाहरु पक्कै आउनेछन् । सुविधा नभएकै कारण पर्यटनमा कमी भएको हो । मैले गाउँपालिकामा बञ्जीबाट भैरवकुण्डसम्मका लागि गोरेटो बाटो निर्माण गर्ने प्रस्ताव लगेको छु । गोरेटो बाटो भएको खण्डमा दुई दिनमा भैरवकुण्ड पुग्न सकिन्छ । तीनवटा जति पाटी जस्ताको छानो लगाएर बनाएमा मान्छे लक्ष्यअनुसारका आउनेछन् ।
यो मार्ग हुँदै भैरवकुण्ड जान सक्ने वातावरण मिलाउन सके यहाँका संस्कृतिको पनि उजागर हुनसक्छ । यो मार्गमा पर्ने बस्तीहरुमा नेवार, शेर्पा, तामाडहरुको संस्कृतिलाई उजागर गर्न सकिन्छ । आनी गुम्बा र ऐतिहासिक दुगुनागढीमा आउने पर्यटकमा बृद्धि हुनेछ । यसका लागि गाउँपालिकामा सभाबाट पारित गरेर गुरुयोजना बनाउनु जरुरी छ । चौरीपालन हुने हुँदा छुर्पी, चौरीको दुध दहीहरुको व्यापार बढ्छ । यसका लागि म आफैले पहलकदमी लिनेछु ।
पर्यटन वर्ष २०२० का लागि तपाईंको वडामा के कस्ता कार्यक्रम छ ?
नेपाल सरकारले २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन लागेको छ । यो हाम्रो लागि निकै फाइदाको विषय हो । यहाँ आउने पर्यटकलाई हामी स्वागत गर्दछौं । आफ्नो वडामा भएका पर्यटकीय गन्तव्यहरुको प्रचार गरि पर्यटक आकर्षित गर्ने हाम्रो योजना हो । यहाँका धार्मिक साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक धरोहरको संरक्षण विकास गर्नेछौं ।
लिस्तीमा पाहुना किन आउने ?
यहाँ बहुल संस्कृति छ । लिस्ती माई मन्दिरको दर्शन गररेमा आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । यहाँ नेवार, शेर्पाहरुको संस्कृति छ । लिस्ती माई गुठी समितिले प्रस्तुत गर्ने संस्कृति छुटाउनै नुहने खालको छ । जसले पूर्ण आनन्द दिन्छ । चैत्य गुम्बा, शेर्पा बस्ती को संस्कृति अर्काे विशेषता हो । दुगुनागढी, पाउगुम्बा, छगामका आनीको बस्ती, भैरवकुण्ड भएकै कारण पर्यटक आउने आधारहरु हुन् ।
वडाले स्वास्थ्य, शिक्षा, खानेपानीलाई कसरी व्यवस्थित गर्दैछ ?
खानेपानीका लागि चुनावअघि नै मैले पहल गरेको हो । साविक वडा नं. ६ मा पानीको हाहाकार थियो । गरिबी निवारण कोषमार्फत त्यहाँ व्यवस्था गरिएको हो । बस्ती ठूलो थियो नेवार, शेर्पा बस्तीका लागि गरिबी निवारण कोषलाई आग्रह गरेपछि ६ लाख हालिदियो । त्यसले नपुग्ने भएपछि थप पानी ल्याउनका लागि मैले व्यक्तिगत ७ लाख रुपैयाँ राखेर जनताको समस्या समाधान गरिएको थियो । लिस्तीमा नेपाल सरकार र विभिन्न सामाजिक संस्थाको सहयोगले खानेपानीमा लगानी गरिएपछि अहिले जनता समस्याबाट मुक्ति पाएका छन् । साविक वडा नं. ७,८ र ९ मा योजना निर्माणाधिन छ ।
पहिले स्वास्थ्य संस्था सिंगो लिस्तीमा एउटा मात्रै थियो । अहिले दुर्गम गाउँ घिम्चे र कान्मामा निर्माण भइसकेको छ । त्यहाँबाट सेवा प्रवाह पनि भएको अवस्था छ । अब छगाममा निर्माण गरेपछि स्वास्थ्य सेवाले सिंगो लिस्तीलाई समेट्ने छ ।
शिक्षामा भने समस्या छ । साविक वडा नं. १ मा चाइनाको दुतावासमार्फत विद्यालय भवन बन्ने क्रममा छ । लिस्ती गाउँ र घिम्चेमा समस्या हो । त्यहाँका लागि पहल भइरहेको छ । गाउँ दुर्गम भएकाले विषयगत शिक्षकहरु आउन मान्दैनन् । गुणस्तरीय शिक्षा दिन सक्ने शिक्षकको खाँचो छ ।
लिस्तीमा सडकको अवस्था कस्तो छ ?
साविक १ मा ८ करोड ९० लाखको ठेक्का छ । जुन ७० प्रतिशत सम्पन्न भइसकेको छ । डाक्लाड धारापानीमा वडाले १३ लाख बजेट छुट्याएको छ । बञ्जी जम्प हुदै वडा कार्यालय आउनका लागि वडाले १० लाख विनियोजन गरेको छ । लिस्ती हुँदै घिम्चेबाट दलित बस्ती जानका लागि २० लाख बजेट छुट्याएको छु । साविक सबै वडामा रहेका बस्तीमा बाटो पुग्ने क्रम जारी छ । यो वर्ष सम्भवत सबै योजना पूरा हुन्छन् ।
तपाईं आफै वडाअध्यक्ष भएकै कारण गाउँको विकासमा के फाइदा भयो ?
मलाई लाग्छ अरु भएको भन्दा म हुँदा फरक छ । किनभने हामी हरेक महिनाको कम्तीमा ३ चोटी बैठक बस्छौं । बैठक भत्ता ४ हजारको हाराहारीमा मासिक हुन्छ । त्यो सबै मैले गाउँको विकासमा खर्चिएको छु । नेपाल सरकारले पठाएको मासिक २० हजारमा कर कट्टीपछिको तलब पनि गाउँकै विकासका लागि दिएको छु । मैले लिएको छैन । अहिलेसम्म बैठक भत्ताकै रकम मैले ६ लाख भन्दा बढी गाउँको विकासमा हालेको छु ।
गुम्बा निर्माण, विद्यालयमा तलब भत्ता दिएको छु । घिप्चेको गुम्बालाई ५ लाख, एउटा विद्यँलयमा निजी स्रोतको शिक्षकलाई तलब खुवाउन एक लाख ५ हजार राखिदिएको छु । एक लाख ३५ हजार धारापानीको विद्यालयलाई प्रदान गरेको छु ।
विकास निर्माणका लागि कत्तिको चुनौति छ ?
यहाँ विकास गनुृपर्ने धेरै छ । विकासमा कर्मचारी बाधक जस्तो मेरो अनुभव छ । कसरी भने विनियोजन गरिएको बजेट आर्थिक वर्षको अन्त्यतिर मात्रै सम्झौता हुन्छ । विकट हिमाली तथा पहाडी गाउँमा बर्खाको समयमा केही काम हुन सक्दैन । विनियोजन गरिएको बजेट नियमभित्र रहेर कात्तिक या मंसिरबाटै काम सुरु गरिनुपर्छ । असारमा काम सुरु गरेपछि पहाडी भेगको काम ठाडो खोलामा पिठो हालेजस्तै हो ।
यसपाली छगाम बगाम बाटो भनेर २३ लाख रुपैयाँ विनियोजन भयो । घिम्चे गोलु सडक भनेर दुईवटैको एउटैमा गरि ५० लाख विनियोजन भयो । जेठ १५ बाट बल्ल प्रक्रिया सुरु भयो । असारको ५ बाट सुरु भएको काम २० गते सकियो । २५ गते भुक्तानी भयो । आफै बुझ्नुस काम के भयो ।
अर्काे चुनौति राजनीति हो । जुन पार्टीले हाल्यो काम उसैका कार्यकर्तालाई हुने । संघीय तथा प्रदेश सरकारले विनियोजन वडामा गरेको हुन्छ । सम्झौता अन्यत्रै पनि हुन्छ । मेरो पार्टी र तेरो पार्र्टीले हालेको बजेट भन्ने भएपछि विकासमा चुनौति थपिएको हो ।
समृद्ध वडा निर्माणका लागि अब चैं के गर्नुहुन्छ ?
पहिलो प्राथमिकता बाटो हो । यहाँका विभिन्न स्थानमा पुग्न बाटोको समस्याले निकै सकस भइरहेको अवस्था छ । यहाँ आएका बजेटबाट भएका कामको अनुगमन प्रभावकारी हुनु जरुरी छ । कहाँ राम्रो भयो कहाँ भएन भनेर हेर्नुपर्छ । पार्टीको झण्डा बोक्नेलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर कार्यकर्ता मोटाउने अनि विकास २० प्रतिशत गरेर बाँकी खल्तीमा हाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । काम नगर्नेलाई कारवाही गरिनुपर्छ । त्यो सबैमा लागू हुनुपर्छ । म यसमा प्रतिबद्ध छु ।
विकास निर्माणका क्रममा हुने कामहरुमा कहाँ कति ढुंगा, बालुवा, गिटी, जाली, माटो लाग्छ भन्ने मलाई पनि थाहा छ । कति काममा कति कुल्लीको प्रयोग हुन्छ भन्ने बारे पनि ममा जानकार छ । मैले यो पार्टी र त्यो पार्टी भनेकै छैन । टोलको मान्छे आएर राम्रो मान्छे आउनु भनेको छु । यही नै हो मेरो समृद्धिका योजना ।


क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!