वरिष्ठ लोक गायक स्व. जयनन्द लामाको सम्झना

जयनन्द लामासँग मेरो भेट
जयनन्द लामा सिन्धुपाल्चोकका कलाकार रहेछन भन्ने कुरा २०५३ सालमा बाह्रबिसेमा भएको सिन्धुप्रतिभा सम्मान कार्यक्रममा देखे पछि थाहा पाएँ । संयोग बस त्यस कार्यक्रममा तात्कालिन गृहमन्त्रीबाट उहाँसँगै सम्मानित हुने अवसर जुरेको थियो । त्यस बेला कसैले हाम्रो फोटो खिच्यो कि खिचेन मलाई थाहा भएन । २०५६ सालमा बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको भवन बज्र फाउण्डेशन नेपालको सहयोगमा निर्माण सम्पन्न गरे पश्चातको उद्घाटन कार्यक्रम मैले सञ्चालन गरेको थिएँ । मञ्चमा सँगसँगै जस्तो त भैयो तर उहाँसँग फोटो खिच्ने रहेर पूरा भएन । कार्यक्रम सकिए पछि उहाँलाई भेटेर, अनुरोध गरेर, स्वास्थ्य केन्द्रको बगैंचामा मेरो आफ्नै रिल क्यामेराबाट एउटा फोटो खिचियो । उहाँसँग फोटो खिचे पश्चात निकै गौरव महशुस भयो अनि बाह्रबिसेमै जन्मिएको सामान्य परिवारको मानिस राष्ट्रिय कलाकार भएकोमा धेरै खुसी पनि लाग्यो ।
त्यस बेलासम्म गीत सुन्ने वा उहाँको अभिनय हेर्ने अवसर कुनै पनि माध्यमबाट जुरेन । हाम्रो घरमा रेडियो, क्यासेट वा टेलिभिजन केही पनि थिएन । धेरै पछि घरमा भाइबहिनीको रहरमा क्यासेट प्लेयर किने पछि उहाँको गीतहरु सुनिन्थ्यो । रहरै रहरमा घरमा चाइनिज डिस राखेर टेलिभिजन पनि हेर्ने व्यवस्था गरे पछि उहाँको फिल्महरु पनि हेरिन्थ्यो । तर पुनः प्रत्यक्ष भेटघाट भने कहिल्यै भएन ।
बज्र एकेडेमीको संगीत शिक्षक
२०७० मा बज्र एकेडेमीे आएपछि उहाँ विद्यालयको संगीत शिक्षकको रुपमा दोस्रो पटक भेट भयो । बज्र एकेडेमीमा विद्यार्थीहरुलाई संगीत सिकाउनका लागि हप्ताको एक दिन उहाँ आउनुहुन्थ्यो । केही समय हामी धेरै औपचारिक भयौं । मैले उहाँसँग पहिलो फोटो खिचेको प्रसंग बताएँ । हाम्रो हाकिम पनि, भनेर हाँस्नु भयो । काममा अत्यन्तै लगनशिल र अनुसाशित हुनुहुन्थ्यो । उहाँले कुनै समय विदामा बस्नु परेको बेला एक महिना अघि नै विदा माग्नुहुन्थ्यो अनि विदामा बसेको बेलाको कक्षा अन्य दिनमा आएर पूरा गर्नुहुन्थ्यो । के पढाउने ? कति पढाउने ? मूल्यांकन कसरी र कहिले गर्ने ? सबै योजना हुन्थ्यो । अभिभावक दिवसको लागि आफूले नभ्याउने भयो भने अरु साथी ल्याएर भए पनि कार्यक्रम सफल बनाउनुहुन्थ्यो । उहाँले वि.सं. २०६७ देखि २०७८ सम्म बज्र एकेडेमीमा संगीत शिक्षकको रुपमा काम गर्नुभयो ।
रक्सी पिउने पनि अनुशासन
एघार वर्ष सँग बस्दा उहाँले विद्यालयलाई एक दिन पनि गुनासो गर्नुपर्ने ठाउँ राख्नु भएन । बरु उहाँको पूर्व योजना बनाएर काम गर्ने र समयलाई महत्व दिने कला हामीले पनि सिक्न लाएक थियो । वार्षिक रुपमा शिक्षक तथा कर्मचारीहरुलाई पिक्निक लैजाने गरिन्थ्यो । पिक्निकमा जाने तर पाँच बजेभन्दा पहिले कुनै पनि रक्सीजन्य पदार्थ नपिउने । एक पटक नगरकोटमा पिक्निक लगेका थियौं । साथीहरुले अनुरोध गर्नुभयो तर पिउनु भएन । जब पाँच बज्यो अनि उहाँले थोरै पिउँछु भनेर पिउनु भयो । एकजना नयाँ शिक्षिका हुनुहुन्थ्यो । जयनन्द सरले भनेर मात्रै है भन्दै पिउन थाल्नु भएछ । जयनन्द सरले एक प्याक सक्दा नयाँ शिक्षिकाले निकै पिउनु भएछ । पछि पिक्निकमा पिएको लाजैले उहाँले वीचैमा जागिर छोड्नु भयो । तामाङको छोरा भएर पनि यो अनुशासन मलाई सँधै सम्मानयोग्य लाग्थ्यो ।
अमेरिकी ग्रिनकार्ड
संगीत सिक्ने शिलशिलामा नै उहाँ अमेरिका जानु भयो र त्यहाँ चार वर्ष बस्नु भयो । त्यहाँको सरकारले उहाँलाई ग्रिन कार्ड नै दिएछ तर कुनै एक घटनामा उहाँलाई हेपेको महशुस भए पछि तेरो देशमा बस्दिन भनेर नेपाल फर्किएको कुरा बताउनुहुन्थ्यो । उहाँको कला यात्राको शुरुवातमा एकदमै धेरै चर्चा भएको, केही समय रोकिएको र पछिल्लो समय फेरी व्यस्त भएको अनुभव सुनाउनुहुन्थ्यो । जति नै व्यस्त भए पनि जीवनमा सुरक्षित महशुस हुने कुनै व्यवस्था सरकारले नगरिदिएकोेले कहिले कहिले उतै बसेको भए भौतिक सुख सुविधाको चाहीँ चिन्ता नहुने थियो होला भनेर घोत्लिएको पनि देखियो । यहाँको जस्तो सम्मान हुँदैनथ्यो नि त सर भन्दा त्यो त हो हाकिम, भनेर दिल खोलेर हाँस्नुहुन्थ्यो । उहाँको हाँसो नै साह्रै आनन्ददायक थियो ।
पूर्व युवराज दीपेन्द्रको संगीत शिक्षक
केही समय प्रहरीमा र केही समय शैनिकमा पनि जागिर खाएको बताउनुहुन्थ्यो । दरबारमा पूर्व युवराज दीपेन्द्रलाई संगीत सिकाउँदाको रमाईलो घटना बारम्बार सुनाउनुहुन्थ्यो । उहाँको विवाहको दिन दीपेन्द्रले सरको सुहागरात कस्तो हुन्छ म हेर्न आउँछु भनिबक्सियो भनेर रमाईलो गर्नुहुन्थ्यो । राजपरिवारप्रति असाध्यै माया देखाउनुहुन्थ्यो । उहाँको बोलीचाली र लवजमा राजदरबारको भाषा र शैली झल्कन्थ्यो ।
रेडियो नेपालको जागिर पञ्चायतले खायो
प्रहरी र आर्मीको जागिर छोडे पछि रेडियो नेपालमा जागिर खानुभएको कुरा सुनाउनुहुन्थ्यो । बहुदलीय व्यवस्थाको लागि आन्दोलन भइरहेको समयमा पञ्चायती शासकहरुले मण्डले भनेर जागिर खाइदिए पछि पूर्ण रुपमा गीत, संगीत र फिल्मी क्षेत्रका अतिरिक्त विद्यालयहरुमा संगीत सिकाउने काममा लागेको अनुभव थियो ।
आमा काण्ड
तपाइँलाई मैले आमाकाण्डको बारेमा भनेको छैन ? उहाँले आश्चर्य जनाउँदै सोध्नु भयो । मैले छैन नि सर भने । हेत्तेरिका, ल सुन्नुहोस् भनेर बताउनु भयो । आमाको निधन भए पछि किरिया गरेर सेतो लुगामा युवराज दीपेन्द्रलाई संगीत सिकाउन भनेर दरबार गएको, सधैं झैं गेटमै गाडीले लिन आउने र गेटमा नै ल्याएर छोडिदिने गथ्र्यो त्यस दिन पनि गेटसम्म गाडी लिन आयो । गाडी नै चढ्न नपाई आर्मीको अफिरसरले आउट आउट भनेर हात हल्लायो । म चुपचाप बाहिर निस्किएँ । पछि जागिर चट भएको पत्र पो आयो । दरबारमा बरखी बारेको सेतो लुगा लगाएर छिर्न नपाइने चलन रहेछ । मलाई थाहा थिएन । त्यसैले मैले यो घटनालाई आमाकाण्ड भन्ने गरेको छु । हरेक घटनालाई रमाईलो पारामा सुनाउने अद्भुत क्षमता थियो जयनन्द लामासँग ।
एकपटक घरैमा गएर गफ सुनियो
एकदिन मलाई गाडी चलाउन साह्रै अल्छी लाग्यो र बसमै बाह्रबिसे जाने विचार गरेर कौसलटारमा बस कुरेर बसेको थिएँ । चिनेको एक जनाले मेरो गाडी २ बजे जान्छ त्यसैमा जाउँ भन्नु भयो । अब कता जाने त भनेर उहाँलाई फोन गरें । उहाँ घरमै हुनुहुँदो रहेछ । म सरको घरमा आउन लागेको भनेको, लौ स्वागत छ हाकिम भनेर तलसम्म लिन आउनु भयो । हाकिम माइण्ड नगर्नु है म चुरोट लिन्छु भनेर खाना खाने वित्तिकै चुरोट खानु भयो । दुःख र सुखका अनेक अनुभवहरु सुनाउनुभयो ।
कोरोना लकडाउन
उहाँले अरु विद्यालयहरुमा पनि संगीत सिकाउनुहुन्थ्यो । कोरोनाको बन्दको बेलामा बज्र एकेडेमीले अनलाईनबाट कक्षा सञ्चालन गरेको थियो । उहाँले पनि अनलाईनबाटै कक्षा लिनु भयो । त्यस समयमा पहिले नसिकेको प्रविधि सिक्न पाएकोमा खुसी हुनुहुन्थ्यो । बज्र एकेडेमीले तलब नदिएको भए म मर्ने थ्यो । अरु विद्यालयले यो बन्दको समयमा एक कल फोन गरेर के छ भनेर पनि सोधेन भन्नुहुन्थ्यो । बज्र एकेडेमीलाई असाध्यै माया गर्नुहुन्थ्यो भनेर पछि उहाँको परिवारका सदस्यहरुले पनि भन्नुहुन्थ्यो ।
सहकारीको बचत र संचयकोष
दुई वटा छोराबुहारीलाई दुई तल्ला दिनु परिगो हामी बुढाबुढीको लागि घरको तल्ला थप्न लागेको भनेर विद्यालयमा भएको सहकारीबाट ऋण लिनु भयो । ऋणको सावाँ र व्याज पनि एकदम तोकिएको समयमा तिर्नुभयो । सहकारीमा बचत र विद्यालयले जम्मा गरेको संचयकोष काम गर्न नसकेको बेलामा काम लाग्छ भन्नुहुन्थ्यो तर उहाँले त्यो पैसा चलाउन पाउनु भएन । उहाँको मृत्यू पश्चात उहाँको श्रीमति र छोराबुहारीले बचत र संचयकोषमा जम्मा भएको पैसा तिरोतारोको लागि भनेर झिकेर लैजानु भयो । शेयर चाही छोराबुहारीले आमाको नाममा सारेर यथावत राख्नु भएको छ । बुबालाई सम्झेर उहाँहरु मेरो कार्यकक्षमा बसेर रोएको सम्झेर नमज्जा लाग्छ ।
अन्तिम फोटो
उहाँको मृत्यू हुनुभन्दा अघिल्लो दिन एउटा पार्टीमा भेट भयो । त्यहाँ पनि कलकत्ते काइँयो भन्ने गीत गाएर सबैलाई नचाउनु भएको थियो । त्यसको एक हप्ता अगाडी बाह्रबिसे नगरपालिकाको तात्कालिन मेयर निमफन्जो शेर्पा बज्र एकेडेमीमा आएको बेलामा जयनन्द दाइसँग एउटा फोटो खिचौं भनेर हामी तीन जनाले एउटा फोटो खिचेका थियौं । पछि जयनन्दको निधन भएको खबर पाए पछि निमफुन्जो दाईले फोन गर्नुभयो । भुपेन्द्र सर कस्तो बेलामा हामीले फोटो खिचेछ है भनेर दुःख व्यक्त गर्नुभयो ।
मैले उहाँसँग पहिलो पटक जसरी रहरले फोटो खिचेको थिएँ पछिल्लो पटक हामी नियमित भेटघाटमा हुने भएकाले सँगै बस्नु, गफ गर्नु, रमाईलो गर्नु हाम्रो लागि समान्य भैसकेको थियो । तर फेरी पनि उहाँसँगको अन्तिम भेट एउटा फोटो खिचेर भयो ।
जयनन्द लामा सांगीतिक अवार्ड
जयनन्द लामाको सांगीतिक क्षेत्रको गर्नुभएको योगदान र यस विद्यालयमा संगीत शिक्षकको रुपमा कार्यरत रहँदा रहँदै मृत्यूवरण गर्नु भएकोले उहाँको सम्झनामा हरेक वर्ष यस विद्यालयमा संगीत कक्षामा उत्कृष्ठ हुने विद्यार्थीलाई जयनन्द लामा सांगीतिक अवार्डद्वारा सम्मानित गर्ने कामको शुरुवात गर्ने बज्र एकेडेमीले निर्णय गरेको छ ।
हार्दिक श्रद्धाञ्जली
उहाँको निधनको बेला विद्यालय बन्द थियो । म मलामी जाने भनेर स्वयम्भुसम्म गएँ । मलामीको लर्को देखेर, उहाँको बारेमा पत्रपत्रिका र टेलिभिजनहरुमा आएको समाचार हेरेर उहाँको कलाकारिताको उचाई झन स्पष्ट भयो । उहाँलाई एउटा बाकसमा राखिएको थियो । म बज्र एकेडेमीबाट आएको एकपटक हेर्न मिल्छ भनेर मैले उहाँको कान्छो छोरालाई भेटेर अनुरोध गरेँ । उहाँले मलाई मात्र हेर्न दिनुभयो । मैले एउटा खादा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेँ । २०७९ फाल्गुण १२ गते वार्षिक तिथि पारेर उहाँकै जन्मस्थलमा पूर्णकदको शालिक अनावरण गर्ने र जनयन्द लामा स्मृति कोष स्थापना गर्ने कुरा उहाँको कान्छा छोराबुहारीबाट थाहा भयो । उहाँहरु सबैलाई यो अभियानको लागि धन्यवाद । उहाँको कृति सदा अमर रहने कुरामा कुनै शंका रहेन तर यो अभियानले थप संरक्षण गर्नेछ । अन्त्यमा, उहाँको परिवार तथा आफन्तजनमा समवेदना तथा मृतात्माको चिर शान्तीको कामना सहित हार्दिक श्रद्धाञ्जली । जयनन्दको स्वर्गलोकमा पनि जय होस् ।
भुपेन्द्रविक्रम थापा
बाह्रबिसे–९, सिन्धुपाल्चोक
क्याटेगोरी : विचार/अन्तरवार्ता
तपाईको प्रतिक्रिया दिनुहोस