बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठविचार/अन्तरवार्तासंघीय संसदको उम्मेदवार डा.सचिन घिमिरेको सत्याग्रह : उब्जिएको प्रश्न र दिएको सन्देश

संघीय संसदको उम्मेदवार डा.सचिन घिमिरेको सत्याग्रह : उब्जिएको प्रश्न र दिएको सन्देश


संघ र प्रदेशको निर्वान मंसीर ४ मा हुन गइरहेको छ । देशभर दुई गठबन्धन बीच चुनावी प्रतिष्पर्धा भएको राजनैतिक पार्टीहरुको विश्लेषण सुनिन्छ । तर देशैभर स्वतन्त्र उम्मेदवारहरुको पनि त्यत्तिकै चर्चा छ । यसै वीच ललितपुर क्षेत्र नम्बर १ मा डा.सचिन घिमिरेले स्वतन्त्र उम्मेदवारी दिनुभयो । स्वतन्त्र रुपमा आफ्नो मुद्दालाई अघि सार्दै करीव तीन महिनादेखि निर्वाचन क्षेत्रको हर समुदायमा पुगेर जनताको साझा समस्या के रहेछ? निर्वाचनका बारेमा जनताको भनाइ के छ ? कस्तो नेतालाई जनताले चाहेका छन् ? विद्यमान समस्या समाधानमा विगतमा प्रतिबद्धता जनाएका नेताहरुले कत्तिको काम गरेका छन् ? लगायतको प्रश्नहरुको उत्तर खोज्ने अभियानमा लागिरहनु भयो ।

भारतको जेएनयुबाट मानवशास्त्रमा विद्यावारिधी गर्नुभएको डा.घिमिरे संगीतकार तथा फिल्म निर्देशक पनि हुनुहुन्छ । उहाँ अहिले चुनावको अन्तिम मौन अवधि शुरुहुन भन्दा तीन दिन अघिदेखि सात सुत्रे माग राखेर सत्याग्रहमा बस्नुभएको छ । सत्याग्रह के हो? यसको व्यावहारिक, बैज्ञानिक र मनोबैज्ञानिक पक्षहरु के के छन् ? भन्ने कुरामा उहाँ जानकार हुनुहुन्छ । विगतमा विभिन्न व्यक्तिहरु सत्याग्रहमा बस्दा सत्याग्रह व्यवस्थापनमा विशेष ज्ञान र सीप विकास पनि गर्नु भएको छ । यो पृष्ठभूमीमा केही प्रश्नहरु जन्मिएका छन र त्यहि प्रश्नको सेरोफेरोमा मेरो व्यक्तिगत विचार राख्ने प्रयत्न गरेको छु ।

राजतिकर्मी पनि यस्ता हुन्छन् ?

राजनितिकर्मी धेरै प्रकारका हुने रहेछन् । कोही प्राज्ञिक व्यक्तित्वहरु हुँदा रहेछन् जसले आम समस्यालाई समाधान गर्नको लागि उपयुक्त विकल्प पहिचान गर्न नीति निर्माणमा योगदान गर्दछन् । यस्ता नीतिहरुले समय सापेक्ष र स्थान विशेष फरक फरक तरिकाबाट समस्या समाधानमा बाटो देखाउँछ । यस्ता नेताहरुले समस्यालाई विश्लेषण गर्ने, वर्गीकरण गर्ने र आम जनताको सझा समस्या के हो र त्यसको समाधान के हुन सक्छ भनेर गहिरो अध्यन गरी जरो कारण पत्ता लगाउँदा रहेछन् ।

कोही नेता समस्या समाधानमा दख्खल राख्दा रहेछन् अर्थात उनीहरु सतहमा देखिएको समस्याको मूल जरो पहिचान गर्न तिर भन्दा पनि तत्काल त्यो समस्याको समाधान जुनसुकै उपायबाट खोज्नुपर्दछ भन्नेमा लाग्दा रहेछन् । यस्ता नेताहरु जनताले राखेको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दा रहेछन् । आश्वासन दिंदा रहेछन् । केही नेताहरु यी दुवैमा दख्खल नराख्ने तर पहुँच र पहिचानका आधारमा जनसमर्थन जुटाउने र नेतृत्वदायी भूमिकामा रहने गर्दा रहेछन् जसले राजनैतिक निकासका लागि तात्विक फरक देखिने गरी योगदान गर्न नसक्ने पनि हुँदा रहेछन् । यस्ता फरक–फरक क्षमताका फरक–फरक नेताहरु विभिन्न पार्टीमा वा स्वतन्त्र रुपमा हामी समाजमा देख्न सक्छौं । यस विचमा डा.घिमिरे पहिलो वर्गको नेता हुन भन्ने लाग्छ ।

उहाँ मानवशास्त्रमा विद्यावारिधि गरेको कारणले पनि आम समुदायलाई त्यही कोणबाट विश्लेषण गर्ने क्षमता राख्नुहुन्छ । उहाँ समस्याको तत्काल र सतही समाधान भन्दा पनि राष्ट्रिय तहमा नीति बनेर समस्याको दीघकालीन र दिगो समाधान हुनुपर्दछ भन्ने कुरामा नीति निर्माणमा योगदान दिन सक्ने व्यक्ति हुनुहुन्छ ।

सत्याग्रहको उद्देश्य पनि यस्तो हुन्छ ?

उहाँले सत्याग्रहमा निवर्तमान संघीय सांसदले आफ्नो कार्यकालमा भएको आयव्यय सार्वजनिक गर्नु पर्ने । बाँदरको समस्या समाधान गर्नुपर्ने । व्यक्ति नै तोकेर केही व्यक्तिको उपचार र अनाथ बालबालिकाको पालनपोषणको व्यवस्था गर्नुपर्ने । विद्युतको ट्रान्सफर्मरमा रुखको हाँगाले छोएका कारण रुख काट्नु पर्ने । स्वास्थय चौकीबाट किशोरीहरुलाई वितरण गरेको आइरन चक्कीको औचित्य पुष्टि गर्नुपर्ने जस्ता सातवटा मागहरु छन् । यी मागहरु अति सामान्य भए । बाँदरको समस्या पनि सांसदले उठाउने हो ? जस्ता प्रश्नहरु उठेको देखिन्छ ।

माथि उल्लेख गरेको नेताहरुको प्रकारलाई ध्यान दिने हो भने केही नेताहरुको लागि यो अति समान्य विषय हो । तत्कालै केही लाख रुपैयाँ खर्च गरेर सबै समस्याको समाधान गरिदिन सक्छन् तर डा.घिमिरे एक अनुसन्धानकर्ता पनि हुनुहुन्छ । अनुसन्धानकर्ताले देशैभरीको समस्याको चुली बनाएर देखाउँदैन उसले त्यो समस्याको चुलीबाट प्रतिनिधी समस्यालाई नमूनाको रुपमा लिएर अध्ययन गर्दछ र नीतिगत रुपमा नीति बनाएर समाधानको उपाय खोज्दछ । उदाहरणको लागि बाँदरको समस्या ललितपुरको कुनै एक बस्तीको समस्या होइन होला ।

यो समस्या देशव्यापी छ । निवर्तमान स्थानिय सरकारहरुले बेलाबेलमा बजेट विनियोजन गरेरै बाँदर लखेटेको समाचारहरु हामीले नसुनेको होइन । तसर्थ देशव्यापी रुपमा देखिएको बाँदरको समस्या कसरी समाधानहोला भनेर नीति निर्माणको लागि छलफलको विषय बन्न सक्छ । विजुलीको तार र रुखको समस्या पनि विद्युत पुगेका सबै भुभागमा होलान यसलाई समाधान गर्ने अर्को नीति बन्न सक्छ । विरामीको उपचारको कुरा बढ्ता व्यक्तिगत भयो भन्ने छ तर व्यक्ति विशेषलाई तोक्दा अप्ठेरो हुने समस्याले संकेत गर्ने भनेको त्यस्तो समस्या समाजमा धेरै छन् भन्ने हो । यदि यस्तो हो भने त्यसको पनि नीतिगत समाधान खोजिनुपर्ला ।

उम्मेदवारले सत्याग्रह बस्ने हो ?

सांसद बन्ने उद्देश्यका साथ उम्मेदवार बनेको मान्छे स्वयं सत्याग्रहमा बस्न सक्छ ? सत्याग्रहमा बसे के हुन्छ ? उम्मेवार स्वयं किन सत्याग्रह बस्ने ? भन्ने प्रश्नहरु हामीहरुले कहिल्यै सोचेका पनि थिएनौ । उम्मेदवार स्वयं सत्याग्रहमा पनि बस्न सक्छ है भन्ने प्रश्न उब्जाएको छ । यसले अब बन्ने निर्वाचन आचारसंहितामा सचेत हुनुपर्ने वा निर्वाचनको ऐन कानुनमा यस्को विशेष व्यवस्था गर्नु पर्ने गरी एउटा विशेष बहसको विषय त बन्यो ।

उहाँले नबसेको भए अरु कसैले कुनै समयमा बस्थ्यो होला । तसर्थ यसलाई सकरात्मक रुपमा लिनुको विकल्प छैन । यो लेख तयार पारिरहँदा उहाँको सातै वटा मागको सम्बोधन भैसकेको छ तर निर्माचनका बेला कुनै पनि उम्मेवारले सत्याग्रहमा बस्न सक्छ र त्यसले निर्वाचनको प्रक्रियालाई असर पार्न सक्ने भएकाले समयमा व्यवस्थापन गर्नु अहिलेको समाधान हो भने दीर्घकालिन रुपमा समाधान खोज्ने हो भने सत्याग्रहकै विषयमा स्पष्ट नीति–नियम पो बनाउनु पर्ने हो कि ? प्रश्न उब्जिएको छ । तसर्थ उहाँलाई राजनीतिमा हुनसक्ने यो किसिमको घटनाको दीर्घकालीन समाधान खोज्नको लागि राज्यलाई नीति बनाउन बाध्य पार्ने व्यक्तित्वको रुपमा लिंदा पनि राम्रै हुन्छ होला ।

अन्तमा एक अनुसन्धानकर्ता र मानवशास्त्री भएको नाताले मानव जनजीवनसँग प्रत्यक्ष जोडिएर आउने कुराहरुलाई सांकेतिक रुपमा केही नमूना प्रश्नहरुलाई जनमानस र ठूला राजनीतिकर्मी हुँ भन्नेहरुको वीचमा ल्याउनु भएको छ । चुनावमा भोट माग्न हिड्नु पर्ने कुरा सत्य हो र उहाँलाई यो थाहा नभएको पनि होइन । हेर्दा हाँस्यास्पद जस्तो लागे पनि यो विषय निकै गहिरो र सुक्ष्म रुपमा मानव जनजीवनसँग जोडिएको आमसमस्याको समाधान खोज्ने सांकेतिक प्रतिरोधको रुपमा हामीले बुक्न सक्यौं भने यसले हामीलाई फाईदा नै गर्दछ ।

उहाँले उठाएको समस्या अरु नेताहरुले नीतिगत रुपमा समाधान गर्ने हैसियत राख्लान त ? यो सत्याग्रहको घटनाले हामीलाई प्रश्न गर्न सक्ने बनाएको छ । उहाँ एक प्राज्ञिक व्यक्तित्व भएकोले राजनीतिमा प्राज्ञिक सोच, दृष्टिकोण र सोही स्तरको समाधान हुनुपर्दछ भनेर प्रश्न उठाउँनु उहाँको धर्म पनि हो जुन कुरा अरुबाट असम्भव प्रायः छ । तसर्थ हामीले उहाँको यो तीन दिनको सत्याग्रहलाई चुनाव केन्द्रित मात्र भन्दा पनि समस्यालाई चुनावले कसरी सम्बोधन गर्नु पर्दछ र उम्मेदवार स्वयंको विज्ञता तथा क्षमतालाई निर्वाचनका बेला विवेकपूर्ण ढंगबाट कसरी न्याय दिनुपर्दछ भन्ने कुराको बोध राष्ट्रिय रुपमा आम मतदाताहरुलाई गराएको छ ।


क्याटेगोरी : विचार/अन्तरवार्ता


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!