शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठविचार/अन्तरवार्ताकांग्रेसमा विरासतको अन्त्य

कांग्रेसमा विरासतको अन्त्य


‘कसैले छाडेर होइन। म जितेर सभापति बन्छु’, यो भनाइ नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाको हो। उनले कांग्रेसमा उनको विजयलाई गुटरहित र कम्युनिष्ट बिरुद्ध कांग्रेसको सुदृढताका लागि भएको घोषणा गरेका छन्। आफ्नो लामो अन्तर्वार्तामा डा. कोइराला कतै कुनै पनि ठाउँमा न सुशील कोइराला, न गिरिजा कोइरालाको उच्चारण गरे। बिपीको प्रसंग उच्चारण नहुनुलाई सशांकको कारण लिन सकिन्छ। सुशील कोइरालाको प्रसंग नआउनु पनि अनौठो रहेन तर गिरिजाप्रसाद कोइरालाको उल्लेख नहुनु संयोग मात्रै होइन होला।

डा. शेखर कोइरालाले गिरिजाप्रसाद कोइरालाको छत्रछायाँमा आफ्नो राजनीति शुरु गरेकोमा दुई मत रहँदैन। स्वर्गीय कोइरालाको अति विश्वास पात्रको रुपमा माओबादीसँग दिल्लीमा १२ बुँदेदेखि धर्म निरपेक्ष, गणतान्त्रिक र संघीय संविधानको लागि संविधानसभा निर्वाचनमा डा. कोइराला र कृष्ण सिटौला नजिक रहे। गिरिजाप्रसाद कोइरालाको सहमति सहकार्य र एकताको पक्षमा दरो रुपमा उपस्थित रहे। तर आसन्न निर्बाचनमा गिरिजाप्रसाद कोइरालाको विरासतमा नभई आफ्नो बुतामा निर्बाचन लड्ने घोषणा गरे। अझ धर्म निरपेक्षता र कम्युनिष्टहरुको बिरुद्ध पार्टी एक ढिक्का पार्ने घोषणा गर्दै कोइरालाको अन्तिम दिनको राजनीतिभन्दा पृथक दृष्टिकोण गरे। हुन त सुजाता कोइरालाले अहिले गिरिजाप्रसाद कोइरालाको विरासत एउटा प्रतिष्ठान खोलेर त्यसैको गाडी चढेर भए पनि बोकेकी छन्। संविधानका पिताको रुपमा चित्रण गरिएका सुशील कोइराला अब फोटो झुन्डिनेमा मात्र सीमित बन्ने देखिन्छ। बिपीको पार्टीभित्र व्यापक आधार छ। डा. सशांकसँगै अरुले पनि विरासतको दाबी नगरे पनि विचार बोक्नेको कमी छैन।

नेपाली कांग्रेस अहिले अधिवेशनको संघारमा छ। परिस्थिति अनुकूल भए आगामी फागुनमा अधिवेशन हुने छ। दलभित्र भिन्न गुटका नेताहरु आफूलाई सभापतिको उम्मेदवारको रुपमा प्रस्तुत गरिराखेका छन्। अहिले मूल त संस्थापन पक्षतर्फबाट सभापति शेरबहादुर देउवासँगै उनका निकटतम सहयोगी विमलेन्द्र निधि पनि सभापति बन्ने दौडमा छन्। संस्थापन इतरतिर अहिले महामन्त्री एवम् बिपीपुत्र डाक्टर सशांक कोइराला र कोइराला परिवारकै अर्का व्यक्तित्व डाक्टर शेखर कोइराला छन्। हुन् त रामचन्द्र पौडेल र कृष्ण सिटौलाले पनि दाबी गरिराखेका छन्। तर कोइरालामध्ये एक र देउबाबीच नै अन्त्यमा भिडन्त हुने छ।

कांग्रेस अहिले अधिबेशनमा जान आआफ्नो नेताहरुको विरासत खोज्दैछन्। संस्थापन पक्षका शेरबहादुर देउवाहरुले बिपी कोइराला, गणेशमान र सन्तनेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्ने छन्। संस्थापन पक्ष देउबाको वरिपरि छ। कांग्रेसका नेता महेन्द्रनारायण निधि पुत्र बिमलेन्द्र पनि आफ्नो पिताको बर्चस्व र देउवाको नीतिकै निरन्तरतामा छन्। तर इतर पक्षमा डाक्टर सशांक कोइरालालाई पिता बिपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजबादको उत्तराधिकारीको रुपमा प्रस्तुत गरिराखेका छन्। राप्रपाबाट भर्खर कांग्रेस प्रवेश गरेका सुनील थापाले पार्टी प्रवेशपछि उदारवादी पन्चनेता सूर्यबहादुर थापाको सपना पूरा गर्ने सार्वजनिक घोषणा नै गरे। तर गिरिजाप्रसाद कोइरालाका सपना बोक्ने कोहि पनि भेटिएको छैन। राजनीति कति निर्दयी छ। सुशील कोइराला जो संविधानका पिता भन्दै मृत्युवरण गरे अनि कोइराला सबै उपाधि र सत्ताको हैसियत पाए तर सपना बोक्ने कोही पनि भेटिएको छैन।

गिरिजाप्रसाद कोइरालाको व्यक्तित्वको विषयमा आआफ्नो धारणा हुनसक्छ। तर उनी नेपालको राजनीतिको स्थापित नाम हो भन्नेमा भने विवाद छैन। अझै नेपाली कांग्रेसभित्र सत्तामा लामो समय उनले एकलौटी ढंगले एकछत्र नै चलाए। कार्यकर्ताबीच खटनपटन, दुखको बेला कार्यकर्तालाई सहयोग पुर्‍याउने उहाँको व्यवहारले पनि कोइरालाको लोकप्रियता पार्टीभित्र व्यापक थियो। उहाँको सबैभन्दा राम्रो गुण भनेको कोइराला परिवारभित्र आगन्तुकलाई गर्ने सम्मान उहाँले अन्तिम समयसम्म पनि राखे। जो अचेल बिरलै देख्न पाइन्छ। उनले भ्रष्टको बिल्ला भिरेर भतिजाको घरको सामान्य कोठामा जीवन बिताए।

राजनीतिका पेचिला खेलाडी दलभित्र राम्रो पकड र कार्यकर्ताबीच लोकप्रियताको शिखरमा पुगेका स्वर्गीय गिरिजाप्रसाद कोइराला किन गुमनाम भए त? देशको राजनीतिक चित्रबाट मात्र होइन आफ्नै दल भित्रको राजनीतिमा पनि गुमनाम भए उनी। हुन त उनी जीवित नै हुँदा अझै प्रधानमन्त्री हुँदा २०५६ सालमा गणेशराज शर्माले उनलाई प्रश्न गरेको प्रसंग यहाँ उल्लेख गर्न चाहन्छु। सन्दर्भ थियो बीपीको राष्ट्रिय मेलमिलाप। कोइराला स्वयम् पनि एउटा कार्यक्रमका गएर आएका थिए। स्वर्गीय शर्माले उहाँकै निवास धोबीधारामा सोध्नु भयो: मृत्यु भएको २० बीस वर्षपछि पनि उहाँले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलाप नीतिले गर्दा बिपी कोइरालाको सान्दर्भिकता र लोकप्रियता उच्च शिखरमा छ। गिरिजाबाबु, तपाईँलाई आगामी पुस्ताले केको लागि सम्झने छ होला? यो प्रश्न जवाफ बिना नै टुंगियो।

गिरिजाप्रसाद कोइरालाको राजनीतिको अन्तिम क्षणमा बोकेका र लागू गरिएका एजेन्डाहरु कसका थिए र कोइरालाले कसरी भारी बोक्न पुगे भन्ने बिषयमा धेरै कुरा सार्वजनिक भएका छन्। त्यो सबै सार्वजनिक भएपछि नै उनीप्रतिको सम्मान घटेको हुनु पर्छ। ४० वर्षअघि निधन भएका बिपीको राष्ट्र र राष्ट्रियताप्रति मन, वचनको प्रणले उनको समीक्षा उच्च रुपमा सबैले गर्छन्। तर गिरिजाप्रसाद कोइरालाको यो अधिवेशनमा विरासत बोक्ने कोही पनि नहोला जस्तो छ।

सत्ताको राजनीतिमा एकछत्र रुपमा रहेका कोइरालाले नेपालमा ठूलाठूला राजनीतिक परिबर्तनको नेतृत्व गरे। १२ बुँदे मार्फत माओबादीलाई शन्तिप्रक्रियामा ल्याउनुको साथै २३८ वर्ष पुरानो राजसंस्था उन्मूलन, हिन्दु राज्यको स्थानमा धर्म निरपेक्ष, राजतन्त्रको ठाउँमा गणतन्त्र, एकात्मक राज्यको स्थानमा संघीयता। संविधान सभाको सफल निर्वाचन आदि आदि।

यसैले हो वा अन्य राजनीतिक कारणले हो भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले त उनलाई दक्षिण एसियाको राजनेताको उपाधि नै दिए। त्यति मात्र होइन भारतीय प्रधानमन्त्री सिंह कोइरालाको स्वागतको लागि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थल नै आएका थिए। कुनै बेला नेपालको भ्रष्ट नम्बर १ भन्ने नागरिक समाजका अगुवाहरु कोइराला ठूला समर्थक बने र कोइरालाको विचार सहमति, सहकार्य र एकता स्थापना अभियानमै लागे। तर ती सबै क्षणिक उचाइ घट्दै गए। कोइरालाको अन्तिम क्षण झन्डै एकान्तमा बित्यो। अहिले उनले बोकेर ल्याएका एजेन्डाहरुले उनको दलको पहिचान हराएको छ। डाक्टर शेखरको नयाँ उद्घोषणले त्यही देखाउँछ।

गिरिजाप्रसाद कोइरालाको राजनीतिको अन्तिम क्षणमा बोकेका र लागू गरिएका एजेन्डाहरु कसका थिए र कोइरालाले कसरी भारी बोक्न पुगे भन्ने बिषयमा धेरै कुरा सार्वजनिक भएका छन्। त्यो सबै सार्वजनिक भएपछि नै उनीप्रतिको सम्मान घटेको हुनु पर्छ। ४० वर्षअघि निधन भएका बिपीको राष्ट्र र राष्ट्रियताप्रति मन, वचनको प्रणले उनको समीक्षा उच्च रुपमा सबैले गर्छन्। तर गिरिजाप्रसाद कोइरालाको यो अधिवेशनमा विरासत बोक्ने कोही पनि नहोला जस्तो छ। कोइराला राजनीतिका निर्मम खेलाडी थिए। हुन त सत्ता राजनीतिको त्यो एउटा चरित्र हो। बीपीले सिद्वान्त र राष्ट्र जप्दा भोगेका दुख कोइराला बेहोर्न चाहँदैन थिए। त्यसैले चरम कम्युनिष्ट बिरोधी कोइराला कम्युनिष्टहरु बोकेर सत्तामा जान राजी भए। सत्ता स्वार्थको लागि आफ्नै निकटस्थहरु गोविन्दराज जोशी, खुमबहादुर खड्का, जयप्रकाश आनन्द राजनीतिको बलिमा चढाइए। कोइरालाले आफ्नै छोरी सुजातालाई समेत आफ्नो उत्तराधिकारी बनाउन सुरुदेखि कुनै प्रयास गरेनन्। बाबुको सबै बद्नामको बिरासत भने सत्तामा हुँदा उनले बोकिन्। कोइरालाको निर्मम प्रहारको मार जोशी र आनन्द अझै झेल्दै छन्। खुमबहादुर खड्काले यो लोक छाडिसके। कोइरालाको पक्षमा निरन्तर लागेकोले धेरै सत्रु कमाएका जोशी अहिले पार्टीबाट निष्कासित भएका छन्। राजनीति कति निर्मम हुँदो रहेछ हेरौं कोइरालाको निरन्तर बिरोधमा राजनीति गरेका र अहिले नयाँ कोइरालाहरुको निकटस्थ भएकाबाटै जोशी पीडित बन्न पुगेका छन्।

डाक्टर शेखर कोइरालाको हालैको विचारले के बुझाउँछ भने यी कोइराला आफ्नो बुतामा स्थापित हुन् चाहन्छन्, अरुकोमा होइन। उनले गिरिजाप्रसाद कोइरालाका केही नीतिसँग बिमति देखाएका छन्। तर खुलेर होइन। यो अधिबेशनले नेपाली कांग्रेसभित्रको गिरिजा प्रसाद कोइरालाको स्थान पनि निर्धारण गर्ने छ। सत्ताका खेलाडी गिरिजा र राष्ट्रका खेलाडी बिपीबीचको दौडमा बिपी विचार प्रधान रहने निश्चित देखिन्छ। म्याक्भेली भन्छन्- सत्ता स्वार्थमा  प्राप्त हुने लोकप्रीयता क्षणिक हुन्छ। रमाउनेको लागि हो यो। कोइरालाले न विरासत बोक्ने कोही छोडे, न आफ्नो विचार। हुन त राजनीतिक खेलाडीले अरुलाई प्रयोग गर्छ अनुकूल हेरेर। अन्त्यमा उसलाई पनि त्यसैगरी प्रयोग गर्छन्।

(पौडेल न्यु स्पटलाइट अंग्रेजी पाक्षिकका सम्पादक हुन्)


क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!