आईतबार, माघ ९, २०७८
गृहपृष्ठविचार/अन्तरवार्तानेता खोजिरहेको नेपाल, कांग्रेसमा को?

नेता खोजिरहेको नेपाल, कांग्रेसमा को?


नेपालका मुख्य राजनीतिक दलहरूका बहुप्रतिक्षित महाधिवेशन अन्तत क्षितिजमा गोचर हुन थालेका छन्। नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशन १०-१२ मंसिरमा चितवनमा भएको छ । कांग्रेसको चौधौं महाधिवेशन २४-२७ मंसिरका लागि तय गरिएको छ।

माओवादी (केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत राष्ट्रिय अधिवेशन गर्ने घोषणा गरिसकेका छन्।

संविधानमा राजनीतिक दलहरूले पाँच वर्षभन्दा ढिला नगरिकन अधिवेशन गर्नुपर्ने प्रावधान छ। त्यसैले समय घर्किँदै जाँदा दलहरू वैधानिकता खातिर पनि अधिवेशन निम्ति बाध्य भएका हुन्।

नेपाली जनतामा सबै मुख्य राजनीतिक दलहरूमा नेतृत्व परिवर्तनको तीव्र चाहना देखिन्छ। किनकी वर्तमान नेतृत्वपंक्ति सबै प्रकारले औचित्यहीन सावित भइसकेको छ। यिनीहरू तन्नेरी पुस्तासँग सम्पूर्ण रूपमा विच्छेदित देखिन्छन्।

पुरानो पुस्ताको हुर्काइ त्यस बेला भयो जुन बेला नेपालको साक्षरता २० प्रतिशतभन्दा तल र बाँकी विश्वसँगको सम्पर्क अत्यन्त न्यून थियो। अझ, ‘कानूनको राज’ त दूर देशको कुरा थियो।

आजको नयाँ पुस्ता शिक्षित, स्मार्ट र विश्व परिवेशसँग परिचित छन्। उनीहरू राजनीतिज्ञबाट शक्तिको दुरूपयोग र कानुनको उल्लंघन सहन गर्ने पक्षमा छैनन्। वर्तमान नेतृत्वकर्ताहरू नै राष्ट्रको अवशादपूर्ण अवस्थाको मुख्य जिम्मेवार रहेको उनीहरूको ठम्याइ छ।

यस परिप्रेक्ष्यमा, मुख्य राजनीतिक दलहरूको राष्ट्रिय अधिवेशनको महत्वलाई नकार्न सकिँदैन। किनकी अधिवेशनले पार्टीको कार्यदिशा तय गर्नु सँगसँगै आगामी पाँच वर्षका लागि पार्टी प्रमुख र पदाधिकारीको छनोट गर्नेछ। यसरी चुनिने पार्टी प्रमुखले आफ्नो दलको मात्र नभएर नेपाली राजनीतिको दिशा र दशा निर्धारित गर्नेछन्।

तर यी अधिवेशनले नयाँ नेतृत्व पंक्ति छान्ने सम्भावना कति छ? हामी आफैं कस्ता नेता खोजिरहेका छौं? वा भनौं, अहिले उपलब्ध नेता (वा दावेदार) नयाँ पिँढीको रोजाइ र योग्यतामा कतिको खरो उत्रिन सक्लान्?

सबै मुख्य राजनीतिक दलहरूका सम्भावित नेतृत्वकर्तालाई एकपटक सरसर्ती हेरौं।

कम्युनिस्ट पार्टीको हकमा नेतृत्व चयन स्वस्थ्य प्रतिस्पर्धाभन्दा पनि औपचारिकता हो। एमालेको आगामी महाधिवेशन वर्तमान अध्यक्ष केपी ओलीलाई अध्यक्षमा पुन: निर्वाचित गर्ने एक वैधानिक उपक्रम मात्र हुनेछ।

गत नवौं महाधिवेशनमा ओलीलाई कडा टक्कर दिएका माधवकुमार नेपालले छुट्टै दल खोलेपछि अहिले ओली एमालेको पर्याय बनेका छन्। ओलीसँग असहमत हुनेले कि पार्टी छाडेको कि त राजनीतिक भविष्यको खातिर ओलीसामु ‘आत्मसमर्पण’ गरेको अवस्थामा एमालेमा कम्तीमा पनि पाँच वर्षका लागि नयाँ नेतृत्वको आश नगरे हुन्छ।

उता माओवादी (केन्द्र) मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विकल्प छन्। उनीसँग असहमत हुनेहरूले पार्टी नै परित्याग गरेको अवस्थामा दाहालको पुन: नियुक्ति निश्चितप्राय: छ।

राप्रपामा अहिले कमल थापा बलियो दाबेदार देखिएका छन्।

कांग्रेसका दावेदार कस्ता?

नेपाली कांग्रेसका कम्तीमा आधा दर्जन नेताहरू- रामचन्द्र पौडेल, रामशरण महत, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला, सुजाता कोइराला, गोपालमान श्रेष्ठ, कल्याण गुरुङ आदिले महाधिवेशनमा सभापति लड्ने घोषणा गरिसकेका छन्।

वर्तमान पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सभापतिको उम्मेदवारीको औपचारिक घोषणा नगरे पनि उनी लड्ने पक्का छ। यस दृष्टिले पनि वास्तविक निर्वाचन हुने दल कांग्रेस नै देखिन्छ। त्यसैले पनि कांग्रेसका महाधिवेशन प्रतिनिधि (जुन छानिने क्रममा छ) हरूले राष्ट्रलाई अस्तव्यस्तताको धापबाट निकाल्दै लोकतन्त्रलाई जनमुखी बनाउन सक्ने इच्छाशक्ति भएको नेतृत्वबारे अहिलेदेखि नै विचार गर्नु उपयुक्त हुनेछ।

आधारभूत तहमा भन्नुपर्दा दक्षता, इमानदारी र सत्यनिष्ठा एउटा कुशल नेताका अवयव हुन्। राज्य संयन्त्रलाई प्रशासनिक नेतृत्व दिने क्षमताभन्दा दक्षता धेरै माथि रहन्छ। किनकी नेतृत्वसँग आफ्नो पार्टीसँगै जनतासँग प्रष्ट र प्रभावकारी संवाद गर्न सक्ने दक्षता हुनुपर्छ। तार्किकता, वैचारिक उच्चता एवं तथ्यमा आधारित संवाद शक्ति कुशल नेताका गुण हुन्।

यस कोटीका नेताले जटिल विषयलाई जनतासामु सरल भाषामा प्रस्तुत गर्न सक्छन्र। आफ्ना सिद्धान्त र आस्थामा अडिग र अविचलित रहन सक्ने एक कुशल नेता संकटमा सबैका निम्ति प्रेरणास्रोत बन्न सक्छ। राजनीतिक आवद्धासँग निरप्रेक्ष रही ऊ व्यथिती र भ्रष्टाचारमाथि निर्मम उत्रन सक्छ। इमानदारीले नेतालाई आफैंप्रति वफादार राख्छ। उच्च नैतिक मनोबलका कारण ऊ अरूलाई जे उपदेश दिन्छ स्वयं त्यसको पालनकर्ता बन्छ। सत्यनिष्ठाले त झन् नेता आफू र जनताप्रति प्रतिबद्ध रहँदै अरूका निम्ति स्वयं उदाहरण बनिदिन्छ।

यदि दक्षता, इमानदारी र सत्यनिष्ठा नेतृत्वका कसी हुन् भने कांग्रेसका नेतृत्वका निम्ति आकांक्षीलाई हामी कहाँ पाउँछौं?

पार्टी सभापति देउवा त यी तीन मापदण्डको पिँधसम्म पनि पुग्न नसक्लान्। यसअघि चारपटक प्रधानमन्त्री भइसके पनि कार्यसम्पादनका दृष्टिले उनको सम्झनलायक काम एउटा मात्र पनि पाउन गाह्रो छ। आफ्नो पार्टीलाई एकबद्ध राख्नु त परै जाओस् उनी स्वयं गुटको नेताका रूपमा स्थापित छन्। तार्किकता र संवादका मामिलामा उनी शून्य बराबर छन्। यसको प्रष्ट उदाहरण उनको संसद तथा सार्वजनिक मञ्चहरूको प्रस्तुति हो। आर्थिक मामिलामा त उनी झनै विवादास्पद रहँदै आएका छन्।

वर्तमान महामन्त्री शशांक लाभको पदमा नबसेका कारण निष्कलंक रहे पनि उनी पार्टी संगठनकर्ताका रूपमा असफलसिद्ध भएका छन्। संसदीय बहसमा भाग लिनु त परै जाओस्, संसदमा उनले बोलेकोसम्म पनि सुनिएको छैन। यसैगरी सार्वजनिक संवादमा उनले भाग लिएको उतिसारो देखिँदैन।

उता विद्यार्थी नेता पृष्ठभूमिका कल्याण गुरुङको उम्मेदवारी एक प्रकारले क्रमभंगता भए पनि सभापति निम्ति आवश्यक समर्थन उनीसँग छैन।

गत तेह्रौं महाधिवेशनमा पराजित रामचन्द्र पौडेल दावेदारहरूमध्ये सबभन्दा पाका अनि सरकार र संसदका अनुभवि व्यक्ति हुन्। उनको लोकतन्त्रप्रतिको निष्ठा र इमानदारितामा कुनै शंका छैन। तर जनताले जुन आमूल परिवर्तनको आशा राखेका छन्, त्यस्तो ‘करिज्मेटिक’ पात्र उनी होइनन्। किनकी उनको कार्यसम्पादन र संवाद शैली पूरानो ढर्राको छ। उमेरका कारण पनि उनले नयाँ पुस्तालाई नेतृत्वको अवसर प्रदान गरी एक सम्मानित अभिभावकको हैसियतमा रहनु श्रेयष्कर हुनेछ।

यसैगरी विमलेन्द्र निधि, प्रकाशमान सिंह, रामशरण महत, सुजाता कोइराला र गोपालमान श्रेष्ठ सरकार र संसदको अनुभव भएको पात्र भए पनि मुलुकलाई दिशानिर्देश गर्ने र पार्टी संगठनकर्ताका रूपमा फितला देखिएका छन्। राष्ट्रिय नेताको हैसियत निर्माण गर्न उनीहरूले थप मेहनत गर्नु पर्ने देखिन्छ।

बरू यस मामिलामा शेखर कोइराला अपवाद देखिन्छन्। उनले आफू एकपल्ट मात्र सभापति बन्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने वाचा दोहोर्‍याउँदै आएका छन्। विगत पाँच वर्षदेखि देशका कुनाकन्दरा घुम्दै र कार्यकर्तासँग संवाद गर्दै आएका उनी एक कुशल संगठनकर्ता देखिएका छन्।

देश दौडाहामा निस्किने जाँगर र हरेक विषयमाथि सञ्चार माध्यममा लेख-आलेख प्रकाशन गर्ने स्वभावका कारण उनी राष्ट्रिय नेताका रूपमा चिनिएका छन्। सत्तामा नपुगेका कारण भ्रष्टाचारको छिटा उनीमाथि परेको छैन। उनी कार्यकर्ताको मनोभाव र पार्टी सञ्चालन विधिबारे जानकार छन्। राष्ट्रिय महत्वका विषयमा उनी विज्ञहरूसँग परामर्श गर्छन्। सबभन्दा महत्वपूर्ण चाहिँ, उनी नयाँ पुस्तासँग संवाद गर्न रूचाउँछन्।

आम नयाँ पिँढी तथा नेतृत्वबाट आबान्छित लाभ नलिएका पार्टीभित्रकै युवा पुस्ता अब मुलुकको बागडोर नयाँ नेतृत्वले सम्हाल्नुपर्ने पक्षमा देखिन्छन्। कम्युनिस्ट पार्टीभित्र नेतृत्व परिवर्तनको तत्काल कुनै सम्भावना देखिँदैन। परिवर्तन सम्भव छ भने त्यो कांग्रेस नै हो।

यदि महाधिवेशन प्रतिनिधिहरूले गुटभन्दा माथि उठेर कांग्रेसको नेतृत्व सक्षम व्यक्तिको हातमा पुर्‍याउने हो भने नयाँ नेतृत्वमार्फत् मुलुकलाई दिशाहिनताबाट दिशा र निराशाबाट आशातर्फ लान सक्ने पार्टी नेपाली कांग्रेस हुनेछ।

(समसामयिक विषयमा टिप्पणी गर्दै आएका नरेश कोइराला क्यानडा, भ्यान्कुभर निवासी हुन्। उनी पेसाले जियो-टेक्निकल इञ्जिनियर हुन्)


क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!