शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठविचार/अन्तरवार्ताकांग्रेस लगातार असफलतातर्फ अघि बढिरहेको छ

कांग्रेस लगातार असफलतातर्फ अघि बढिरहेको छ


नेपाली कांग्रेसको यो १४औँ महाधिवेशनमा मलाई उत्साह र अपेक्षा भन्दा पनि नेपाली कांग्रेसलाई वैधानिकता दिन मंसिरभित्रै महाधिवेशन सकिनुपर्छ, यसैको कर्मकाण्ड भन्‍ने लागेको छ । अब पनि महाधिवेशन भएन भने पार्टीले वैधानिकता गुमाउँछ । चालु नेतृत्वले अत्यन्त अनिवार्य काम ढिला गरेकाले मलाई त्यति चित्त बुझेको छैन । पार्टीले वैधानिकता गुमाउनुअघि नै महाधिवेशन हुँदै छ, त्यो हिसाबले हेर्दा म उत्साहित नै छु ।

नेपाली कांग्रेस प्रजातन्त्र-लोकतन्त्रको विश्वव्यापी मूल्य-मान्यताप्रति आस्थावान् रहँदै नेपालमा प्रजातान्त्रिक आन्दोलनद्वारा लोकतन्त्रको प्राणप्रतिष्ठा गर्न गठन भएको पार्टी हो । यसको परिकल्पना बीपी कोइरालाले गर्नुभयो । कोइरालाले नेपालको तत्कालीन अवस्थामा राणा शासन हटाउनुपर्छ भनेर त्यसविरुद्ध आन्दोलन गर्न जमिन तयार गर्न यस पार्टीको परिकल्पना गर्नुभएको हो । भारतमा बसेर पढाइ गरिरहेका नेपालीलाई संगठित गरेर आन्दोलनका लागि त्यसको परिकल्पना गर्नुभयो । सन् १९४६ मा चलेका पत्रिकाहरूबाट आह्वान गर्नुभयो । लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी हो, कांग्रेस ।

कालान्तरमा पार्टी सञ्चालन खर्च बढ्दै जाँदा, सत्ताको राजनीति गर्ने क्रममा, सत्ताको राजनीति गुम्दा, प्रजातन्त्र गुमेर पुनर्बहाली गर्ने क्रममा कांग्रेसले धेरै उतारचढाव बेहोरेको छ । समान रूपले यो पार्टी आधारभूत सिद्धान्तलाई कायम गरेर हिँड्न सकेको छैन । बाह्य कारकहरू र पार्टी नेतृत्वकै कारण समान रूपमा पनि हिँड्न सकेन ।

जनआन्दोलन २०४६ को सफलतापछि आम निर्वाचनमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेपछि र पछि गिरिजाले पार्टीको नेतृत्व लिएपछि पार्टी आधारभूत सिद्धान्तबाट विचलित हुँदै गएको देखिन्छ । गिरिजा नै त्यस्ता व्यक्ति हुन् जसले पार्टीलाई आदर्शहरूमा हिँडाएर लिएर जान सक्नु भएन । उहाँले पार्टीलाई सत्तामा पुग्ने उपकरणका रूपमा बढी हेर्नुभयो भन्‍ने लाग्छ । गिरिजाको कार्यशैली हेर्दा उहाँले अरु कसैको सहयोग वा आधारभन्दा एकलौटी रूपमा पार्टी, सरकार चलाउन आफू वरपर बफादारहरूको घेरा तयार गर्नुभएको जस्तो लाग्छ । उहाँका कुरा बेठीक हो भन्‍नेलाई बिस्तारै पाखा लगाउँदै जानुभयो ।

त्यति बेला गिरिजालाई सुधार गर्ने प्रयास नगरेका होइनन्, जस्तै भीमबहादुर तामाङजीले एकपटक चुनाव लड्नुभयो । सम्भवतः उहाँको भित्री समूहमा उहाँले उठाएका कुरालाई गलत भन्‍नेहरू त थिएनन् होला तर पार्टीमा उहाँले गलत गर्दा गलत भयो भन्‍नेहरू हुनुहुन्थ्यो । जस्तो गणेशमानजीले नै खुला रूपमा बगावत गर्नुभएको थियो । त्यसमा कृष्णप्रसाद भट्टराईजीले साथ दिनुभयो । तर उहाँले बलियो भूमिका निर्वाह नगरेकाले पनि गिरिजाप्रसाद कोइरालालाई निरंकुश शैलीमा पार्टी हाँक्न सहज भयो । अहिलेका सभापतिले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेर त्यसको नेतृत्व गर्नुभयो । गिरिजाबाबु शक्तिशाली रहुन्जेल पार्टीलाई मनमाफिक चलाएर लैजानुभएको हो । त्यसक्रममा नेपाली कांग्रेसको नेतृत्वबाट हुनै नहुने काम भए । पार्टीले गरेको निर्णयभन्दा विपरीत मानिसलाई अवसर दिने काम पनि भयो ।

पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई दुई-दुई पटक पार्टीभित्रबाटै चलखेल गरेर हराउने काम पनि भयो । एकपटक कृष्णप्रसाद भट्टराईलाई देखाएर २०५६ सालको निर्वाचन लडियो । निर्वाचनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्छ भन्‍ने देखाएर संसदीय चुनाव लडियो । पार्टीले बहुमत पनि ल्यायो । तर कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेको दोस्रो महिनाबाटै लखेट्ने काम सुरु भयो । गिरिजाबाबुका खासखास मानिसबाटै हस्ताक्षर अभियान गरे । उहाँले काम नै गर्न पाउनु भएको थिएन तर उहाँविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि उहाँले राजीनामा दिनुपर्‍यो ।

नेपाली कांग्रेस आफूलाई समाजवादी भन्छ । समाजवादी नाम राखेरै एउटा पार्टी पनि भर्खरै गठन भएको छ । धेरै छन्, नाम मात्रैका समाजवादी पार्टी । मानिसहरूको समूह हो, समाज भनेको । शक्ति आर्जन गर्न तिनीहरूलाई नै विश्वासमा लिनुपर्ने भएकाले समाजवादी हुँ भन्‍ने नारा चाहिँ भएको छ । तर वास्तवमा प्रजातान्त्रिक समाजवादी समाजको संरचना कस्तो हुनुपर्छ र त्यो व्यवस्थामा केके हुनुपर्छ भन्‍ने ज्ञान नभई सबै पार्टीहरू समाजवादी÷समाजवादी भनेका छन् । तर समाजको तल्लो तप्कामा रहेका मानिसहरूको हित गर्ने नीति योजना कसैले ल्याएका छैनन् ।

नेपाली कांग्रेस पनि अछुतो छैन । अब लामो अवधिसम्म शासन गरेकाले नेपाली कांग्रेसले कुनै कुनै बेला नेपाली समाजलाई उत्थान गर्ने खालका कार्यक्रम त ल्याएको होला । तर वास्तवमा नेपाली कांग्रेसको नेतृत्वमा चलेका सरकारहरूबाट तल्ला तहका मानिसहरूको भूमिका बढाउने गरी कार्यक्रम ल्याए जस्तो लाग्दैन । बीपी कोइरालाले निर्वाचनमा जुन मेनिफेस्टो सार्वजनिक गर्नुभयो, त्यो वास्तवमा समाजवादी अर्थनीति, राजनीतिक विचार पर्याप्त थिए । महेन्द्रको अति महत्वाकांक्षाका कारण बीपीले पूरै कार्यान्वयन गर्न पाउनु भएन । त्यसलाई नै आधार बनाएर नेपाली कांग्रेस अघि बढ्नुपर्ने हो । ४६ सालपछि आएको जुन सरकार हो, त्यो सरकारले बीपीको नाम औपचारिक रूपमा लिनेबाहेक बीपीका मार्गदर्शनलाई समाउन सकेन ।

बीपीको स्पष्ट अडान के थियो भने कम्युनिस्टहरू लोकतान्त्रिक हुन सक्दैनन्, र कम्युनिस्टसँग सहकार्य हुन सक्दैन भन्‍ने थियो । नेपालको सन्दर्भमा कम्युनिस्टले भन्‍ने जनगणतन्त्रभन्दा संवैधानिक राजासहितको व्यवस्था बढी लोकतान्त्रिक हुन्छ भन्‍ने बीपीको मान्यता थियो । बीपीले मेलमिलापको नीति लिएर २०३३ सालमा प्रवासबाट फर्कंदा स्पष्ट रूपमा के भन्‍नु भएको थियो भने राष्ट्रियताको सवालमा म राजाको नजिक छु ।

शेरबहादुर देउवादेखि लिएर हरेक वडामा जित्न चाहने नेताको समस्या के हो भने आफूलाई बाहेक केन्द्रमा नराख्‍ने । जो पदमा छ, चाहे त्यो शेरबहादुर देउवा होस् वा अरु कोही होस् पदमा टिकिरहन चाहने धेरै छन् । त्याग पनि गर्न सक्नुपर्ने हो नि । छाड्दै नछाड्ने, आफूमात्रै लिइरहने भन्‍ने त प्रकृतिको नियममा पनि नमिल्ने कुरा हो । आफू रहिरहन जस्ता मानिसलाई नै अघि बढाउने, साथ लिने पनि नेपाली कांग्रेसको नेतृत्वमा देखिएको समस्या हो । जो मानिसको राजनीतिमा आउनुको उद्देश्य नै पैसा कमाउने छ, अथवा आफ्नो व्यवसायलाई पुलिस, राज्यबाट बचाउने उद्देश्य छ उनीहरूलाई लिएर पनि सत्ता बचाउन लागेका छन् । सोझो भाषामा भन्दा ‘मनी’ र ‘मसल’ भएकालाई काखी च्यापेर आफू पदमा टिकिरहने समस्या छ । जुन राजनीतिक स्कुलिङ हुनुपथ्र्यो, त्यो छैन । पद भएपछि केही होला कि भनेर निजी कुरामा फाइदा हुन्छ कि भनेर लागेका छन् । पार्टीमा लागेपछि आधारभूत सिद्धान्त त जान्‍नुपर्‍यो नि । कुन कठिनाइबाट पार्टी गुज्रियो, कति मानिसको परिवार नष्ट भएका छन् भनेर थाहा पाउनुपर्‍यो । ती कुरा जानेर राम्रा कामका लागि अभिप्रेरणा लिने हुनुपथ्र्यो । प्रशिक्षण विभागले कसरी चुनाव जित्न सकिन्छ भनेर सिकाउला तर आदर्शतर्फ अभिप्रेरित गर्छ जस्तो लाग्दैन ।

कुन नेतृत्वको सरकारले कस्ता-कस्ता मानिसलाई नियुक्ति दियो भन्‍ने कुरा हेर्नुपर्छ । एकदुई पटक म आफैँ पनि नियुक्ति लिएकाले अरु साथीहरूबारे बोल्न चाहन्‍नँ । धेरैजसोले जिम्मेवारी पूरा गर्र्ने भन्दा आफूलाई नियुक्त गर्नेको हितमा काम गरेका छन् । जब नियुक्ति नै स्वार्थवश गरिन्छ, आफन्त पोस्न वा पैसा लिएर गरिन्छ, यसले पद अनुसारको काम हुँदैन ।

प्रज्ञा-प्रतिष्ठानमा जान मैले कोसिस गरिनँ । मैले योग्यता पुर्‍याएको छु भने त्यो संस्थामा पठाउन खोजी गर्नुपर्छ । तर यहाँ नमागेर नपाइने रहेछ । नियुक्ति दिने मानिसलाई पनि खुसी बनाउनुपर्ने रहेछ । एमालेले नियुक्त गरेका कुलपति हेर्ने हो भने योग्य नै छैनन् । उनीहरूको योग्यता भनेको ओलीको झोला बोक्नु मात्रै हो । मैले उनीहरूलाई त सह-सदस्य भनेर पनि नियुक्ति दिदिँनथे । मलाई गुनासो छैन । राज्य सञ्चालन गर्ने मानिस नै खराब किसिमले परिचालित छन् भने हुर्मत लिइन्छ नै । यो अनौठो होइन ।

नेपाली कांग्रेस अहिलेको दृष्टिकोणबाट हेर्दा सफल पार्टी होइन । यो लगातार असफलतातर्फ अघि बढिरहेको छ । किनभने पार्टीले तल्लो तहका कार्यकर्ताहरूबाट नेतृत्व विकास गर्न सकेन । सत्तामा पुगेपछि नयाँ परिकल्पनाअनुसार देशलाई सुहाउँदो नीति योजना ल्याउन सकेन । ठीक मानिसहरूलाई अघि बढाएको देखिएन । उदाहरण नै हेर्नुहोस् न, नेपाली कांग्रेसमा लगातार सत्ताको सुख भोगिरहेका कति मानिस होलान् ? दुई/तीन दर्जन होलान् । उनीहरूमैै घुमिरहेको छ । संगठनको आदर्श रक्षा गर्ने हिसाबले, आम जनतालाई विश्वासमा लिने हिसाबले र समग्रमा देशको विकासका लागि नयाँ मार्गचित्र पहिल्याउने हिसाबले नेपाली कांग्रेस पूरापूर असफल छ ।

१४ औं महाधिवेशनमा पनि पटकपटक ‘टेस्टेड’ भएर असफल साबित भएका शेरबहादुर देउवाकै नेतृत्वमा जाला जस्तो देखिन्छ । त्यो नहुनलाई धेरै तारतम्य मिल्नुपर्छ । नहँुदा पनि धेरै आशालाग्दो नयाँ मान्छे आउने देखिँदैन । १४ औं महाधिवेशनले पार्टीलाई ऊर्जा दिन्छ जस्तो लाग्दैन । एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, राप्रपा यी सबै पार्टी मिलेर जुन बाटोमा आफूलाई अघि बढाएका छन्, यी सबैको फूर्ति एक दिन नष्ट हुन्छन् । अहिलेसम्म विप्रेषणको पैसा घुमिरहेको छ र मानिसहरूले दुई छाक खाएका छन् । विप्रेषण आउन रोकिने हो भने आर्थिक रूपमै ठूलो विद्रोह हुन सक्छ । आकण्ठ भ्रष्टाचार भएको छ । तर अप्रमाणित भएकाले व्यक्तिगत रूपमा नजाऔं ।

कम्युनिस्टहरूको जहिले पनि जुट, फुट, टुट, फुट भइरहेको छ । नेकपा एमाले आत्मामा लाल तानाशाही भए पनि देख्दा लोकतान्त्रिक हो कि भन्‍ने शैलीले आएको थियो । तर केपी ओलीले यसलाई पूरै फासिस्ट शैलीले आफूमा केन्द्रित गर्ने, कम्युनिस्ट पार्टी भनेको म हुँ भनेर देखाउनु भएको छ । मुसोलिनीको, स्टालिनको, रोबर्ट मुगाबेले चलाए जस्तो गरी चलाउनु भएको छ जुन दुर्भाग्यपूर्ण कुरा हो । सौराहामा ओलीका चारजनाले दिएको लिस्टलाई पढेर सुनाउनु भयो, यही हो केन्द्रीय कमिटी भनेर । तर तल्लो तहदेखि नै पार्टीमा ‘मुर्दा शान्ति’ थियो । नेपाली कांग्रेसभित्र अझै पनि वादविवाद हुन्छ, छलफल हुन्छ । अझै पनि लोकतान्त्रिक अभ्यासलाई पछ्याएर गएको छ ।

माओवादीको आफ्नै ‘क्रेज’ थियो । तर प्रचण्ड सत्ताखोरको पछाडि लागेर सत्ताको ढापमा ल्याएर खसालिए । त्यो सम्भवतः जनयुद्धमा भएका ठूला भ्रष्टाचारहरू पनि कारक होलान् । उनको वरपर भएका मानिस नै हेरे थाहा हुन्छ । मामुली गिट्टी, ढुंगा क्रसरको मालिक अहिले नेपालको धनी व्यक्तिमध्ये पर्छन् ।

अहिले शेरबहादुर देउवाले सभापति हुने लोभ त्याग्नुपर्छ । उनले १३ औं अधिवेशनमा घोषणा गरेअनुसार विमलेन्द्र निधिलाई सभापतिको उम्मेदवार भनेर उठाउनु पर्छ । त्यसो गर्न नसके आफू एउटा अभिभावक जस्तो बनेर निष्पक्ष चुनाव लड्नुुस् भनेर भन्‍न सक्नुपर्छ । अहिले वास्तवमा देउवाको कर्तव्य के हो भने राज्यलाई सही दिशा दिन एक वर्ष प्रधानमन्त्रीका रूपमा काम गर्नुपर्छ । यो कुरालाई कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू जो विचारवान् छन् उनीहरूले देउवासँग पुर्‍याउनुपर्छ । अहिले पनि कांग्रेसमा त्याग गर्न सक्ने नेता छन् । सबै पदलोलुप छन् । देउवा सत्ताका लागि लड्ने मात्रै होइन, पार्टीलाई अघि बढाउन सक्ने नेता हो भनेर सन्देश दिनुपर्छ । फिल्डबाट आएका रिपोर्टहरू निराशाजनक छन् ।

समन्वय गरेर जाने हो भने अहिले सभापतिमा शेरबहादुर देउवा लड्नै हुँदैन । रामचन्द्र, शेखर, विमलेन्द्र, प्रकाशमान, शंशाक, कृष्ण सिटौला सबै बसेर लामो अवधिको वरिष्ठतालाई नेतृत्वका रूपमा अघि बढाउने भन्‍ने हो भने रामचन्द्रलाई उठाए भयो । होइन भने युवालाई अघि बढाए विमलेन्द्रलाई बढाए भयो । पार्टीलाई बलियो बनाउने भन्‍ने सन्देश दिए राम्रो हुन्छ । तर यसको सम्भावना एकदमै कम छ । यीमध्ये कतिपय मानिसले धेरै पैसा खर्च गरिसकेका छन् ।

रामचन्द्र पौडेलजीले आफू अन्तिम पटक भएको भन्दै लागिपरेका छन् । विमलेन्द्र निधिले पिताजीको लेगेसी, तराईको उम्मेदवार भनेर लाग्नुभएको छ । उहाँ योग्य उम्मेदवार पनि हो । शेरबहादुर देउवाको माइनस पोइन्ट के छ भने कांग्रेसीहरू, गैरकांग्रेसीमा देउवाले सभापतिको लोभ गर्नुहुन्‍न भन्‍ने छ । राज्यसञ्चालनमा ७४ मा पनि देउवा सफल भएनन्, अहिले पनि सफल हुने देखिँदैन ।

ओली त झम्पट नै रहेछन्, सिध्याउने नै रहेछन् । देउवालाई त ठूलो अवसर दिइएको हो नि । ओलीले त बिचौलियालाई धनी बनाउने, आफ्ना साथीहरूलाई आलोचना गराउने गरे । त्यसकारण कम्युनिस्टभन्दा कम फटाहा भएकाले देउवालाई प्रधानमन्त्री बन्‍ने अवसर आएको हो ।

नेतृत्वले समाजलाई सुधार्दै लैजानु पर्छ । नेता खराब भएकाले समाज खराब भएको हो । समाज यस्तै भएर नेता यस्ता भएका हुन् भन्‍न मिल्दैन । नेता ठीक हुन्थे भने बिचौलियालाई धनी बनाउन लाग्दैनथे ।


क्याटेगोरी : विचार/अन्तरवार्ता


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!