आईतबार, असोज ३१, २०७८
गृहपृष्ठविचार/अन्तरवार्तासंसद भंग-अर्ली इलेक्सन-सभामुख हटाउने प्रश्नमा कांग्रेस र एमालेको निकटता ?

संसद भंग-अर्ली इलेक्सन-सभामुख हटाउने प्रश्नमा कांग्रेस र एमालेको निकटता ?


असोज ३ । सत्ता गठबन्धन भित्रको किचलो र एमसीसी सम्झौता संसदमा टेवुल गर्न भईरहेको ढिलाईका कारण नेपाली कांग्रेस र नेकपा एमाले पुनः नजिकिएका छन् ।

पछिल्लो पटक सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एमालेका १४ जना सांसदलाई पार्टीको सिफारिश अनुसार कारवाहि गरेको सूचना नटालेका कारण एमालेले संसद बैठक चल्न दिईरहेको छैन भने, एमसीसी प्रस्तावलाई लिएर सभामुखको भुमिका प्रति नेपाली कांग्रेस पनि सकरात्मक छैन ।

फरक फरक विषयमा सभामुखको निश्पक्ष भुमिका माथि कांग्रेस र एमाले दुबै दलका नेताले प्रश्न उठाई रहेको बेला विस्तारै कांग्रेस नेतृत्वले एमाले नेतृत्वसँगको सम्वाद बढाएको छ ।

नेकपा एमालेले प्रतिनिधि सभाको गतिरोध अन्त्यका लागि तत्काल सभामुखले १४ जना आफ्ना सांसदलाई कारवाहि गरेको सूचना टास्नुपर्ने अन्यथा सभामुख विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न सक्ने जनाउ दिएको छ ।

यता, एमसीसी प्रस्ताव संसदमा टेवुल गर्ने प्रश्नमा अनुदार बनेको भन्दै कांग्रेसको एउटा धार सभामुख परिवर्तन गर्न सकिने विकल्पमा खुली सकेको छ । यही स्वार्थ मिलेपछि नेपाली कांग्रेस एमाले अध्यक्ष केपी शर्मा ओली संग नजिकिएको र दुई साताको बीचमा प्रधानमन्त्री शेर वहादुर देउवा निकट नेताले अध्यक्ष ओलीलाई ३ पटक भेटेर वार्ता गरिसकेका छन् ।

दुई पटक ओलीलाई भेटेर एमसीसी र सभामुखको भुमिका बारे छलफल गरेका कानुन मन्त्री एवं कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले एमाले नेतृत्वसंग सकरात्मक छलफल चलिरहेको स्विकारेका छन् ।

सभामुख अग्नि सापकोटा माओवादीको कार्यकर्ता भन्दा माथि उठ्न नसकेको भन्ने एमालेको निश्कर्षमा सकरात्मक देखिएका प्रधानमन्त्री शेरवहादुर देउवाले संसदको गतिरोध फुकाउने विषयमा आजसम्म सभामुखसंग एक्लै छलफल नगर्नुले पनि कांग्रेस एमालेको निकटतालाई संकेत गर्छ– राजनीतिशास्त्री दिपक गजुरेल भन्छन्, सिद्धान्त, निष्ठा र नैतिकताको सिमा बाहिर पुगिसकेका दलहरु बीच जस्तोसुकै सहयात्रा हुनसक्छ ।

कांग्रेसको संशयपूर्ण भुमिका पछि माओवादी त्रसित
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा, तत्काल मन्त्रीपरिषद् विस्तार गर्ने विषयमा सकरात्मक नदेखिएपछि नेकपा माओवादी र माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी झस्किएका छन् ।

प्रधानमन्त्रीको मौनता र एमाले नेतृत्वसंग बढ्दो निकटताले जनता समाजवादी पार्टी समेत बिच्किएको छ । गएको बर्ष संविधान दिवसका दिन मौन भुमिकामा बसेको जसपा नेतृत्वले अहिले सरकारलाई समर्थन गरेकै अवस्थामा समेत असोज ३ मा कालो दिवस मनाएको छ ।

जसपा तत्काल दल विभाजन सम्वन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई दवाव दिईरहेको छ भने प्रधानमन्त्री ओली उक्त अध्यादेश फिर्ता नलिई स्वतः निश्क्रिय हुन दिने पक्षमा उभिएका छन् । यो मन्त्रीपरिषद् विस्तारमा ढिलाई भईरहनुको अर्को कारण हो । यसको बाछिटा नवगठित् नेकपा एकिकृत समाजवादीमा समेत पर्न थालेको छ ।

तत्काल मन्त्री बन्न पाउने तथा महत्वपूर्ण भुमिका पाईने प्रलोभनमा माधव नेपाल नेतृत्वको दलमा गएका धेरै नेता कार्यकर्ताको राजनीतिक क्रियाशीलता घटेको छ । यसको अर्थ नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन मोर्चावन्दि कसेका दलहरु बीच मै मतभेद बढ्नुले–कांग्रेस नेतृत्व नेकपा एमालेसंग निकट भईरहेको छ भन्ने अर्को विश्लेषण हो ।

सभामुख नै संसद विघटनको कित्तामा
सत्ता साझेदार दलहरुबीच सरकारलाई पूर्णता दिने प्रश्नमा मतभेद बढीरहेको बेला सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाबाट संकल्प प्रस्ताव पारित गरेर संसद विघटन गर्नुपर्ने धारणा सार्वजनीक गरेका छन् ।

शनिबार नयाँ बानेश्वरमा विधायन व्यवस्थापन समितिले आयोजना गरेको ‘विधायिकी खुलापन–लोकतन्त्र मेला’ कार्यक्रममा सम्बोधन गर्दै सभामुख सापकोटाले अहिले संसद विघटन गर्ने सम्बन्धमा सुझाव आई रहेको स्विकार्दै, प्रतिनिधि सभाको विघटन प्रतिनिधि सभाले मात्रै गर्न सक्र्ने बताए ।

सबैभन्दा वैज्ञानिक र जनताको सार्वभौमिक अधिकार सम्मानका लागि प्रतिनिधि सभाले लोकतान्त्रिक विधिबाट विधिवत् रुपमा एउटा प्रस्ताव पेश गर्नुपर्ने र राष्ट्रको आवश्यकता र जनताको चाहना अनुसार संसद विघटन आवाश्यक देखिएमा प्रस्ताव अनुमोदन गर्नु पर्ने बताए ।

नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलका अनुसार संविधानको धारा ७६ बमोजिम प्रतिनिधि सभाबाट प्रस्ताव पारित गरेर संसद विघटन गर्नुपर्ने पक्षमा अहिले दलहरु भित्रै छलफल चलिरहेको छ ।

यही विषयमा प्रधानमन्त्री शेरवहादुर देउवाले पटक पकट एमाले अध्यक्ष केपी शर्मा ओलीको धारणा बुझ्न पठाएको तर प्रचण्ड र माधव नेपाल लगाएतसंग नेपाली कांग्रेसले छलफल नै नगरेको नेताहरु बताउंछन् । यसको संकेत नेपाली कांग्रेसका नेता शेखर कोईरालाले पनि गरिसकेका छन् ।

शनिवार नै विराटनगरमा भएको एक कार्यक्रममा नेता कोईरालाले एमसिसीकै कारण अहिलेको सत्ता गठबन्धन समस्यामा परेको उल्लेख गरे । राजनीतिमा सम्भावना अनेक हुनसक्छ, फेरि के हुन्छ भन्न सकिँदैन नेता कोईरालाको संकेत छ– चुनाव सम्म यही गठबन्धन जोगीनु पर्छ र चुनावी एलायन्समै जानु पर्छ भन्ने दवाव हो भने समिकरण टुट्न सक्छ ।

कोईरालाको यो अभिव्यक्तिले पनि कांग्रेस र एमाले बीचको निकटतालाई संकेत गरेको छ– विश्लेषक राजेन्द्र चापागाईंको भनाई छ । पछिल्लो पटक माधव नेपाल समुहले एक नम्बर र बागमती प्रदेशमा सरकार परिवर्तन गर्दा दुबैमा आफ्नै मुख्यमन्त्री हुनुपर्ने दाबी गरेपछि नेपाली कांग्रेसको नेतृत्व झस्किएको देखिन्छ ।

यदि सरकार परिवर्तन नै गर्नुपर्ने अवस्था आएमा प्रदेशमा पनि एमालेले कांग्रेसलाई साथ दिन सक्छ–यसो गर्दा नेपाली कांग्रेस र नेकपा एमाले दुबै विन विन को अवस्थामा पुग्छन्–राजनीतिक विश्लेषकहरुको विश्लेषण छ । किनकी प्रचण्ड र माधव नेपालहरुलाई ठेगान लगाउन अहिलेको राजनीतिक संकटमा एमालेले कुनै हिस्सा नखोज्न सक्छ । यो कांग्रेसका निम्ति अर्को अवसर हो ।

असार २९ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको ७० दिन पुग्न लाग्दा समेत सत्तारुढ गठबन्धनका नेताहरु प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवले असहयोग गरेकाले प्रधानमन्त्री देउवा चेपुवामा परेको नेपाली कांग्रेसले निश्कर्ष निकाली सकेको छ ।

न प्रभावकारी ढंगले सरकार चलाउन पाएका छन् न त चाहेर पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छन् । देउवाले प्रचण्ड, माधव र उपेन्द्रको ढिलाईले अपजसमात्रै पाइरहेका छन् । चेपुवामा पारेर प्रचण्ड, माधव र उपेन्द्र यादवले चेपुवामा पारेको तर प्रधानमन्त्री बनेकै कारण सबै अपजस सभापति देउवामाथि मात्रै परेको भन्दै नेपाली कांग्रेसले नयाँ विकल्प र सम्भावना बारे एमालेसंग एकाएक छलफल बढाएको देखिन्छ ।

यही अवस्था अरु लम्विन दिन नहुने र वामपन्थीहरुको गलत् स्वार्थका कारण सभापति देउवाको राजनीतिक छवि नै नकारात्मक बनेकाले छिटोभन्दा छिटो मध्यावधि चुनावमा जानुपर्ने निष्कर्ष नेपाली कांग्रेसले निकाली सकेको छ । कांग्रेसका अनौपचारिक छलफलमा देउवा समूह र पौडेल समूह दुबैतिर मध्यावधि चुनावको चर्चा भइरहेको छ ।

१४ औ महाधिवेशन अघि नै प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने कांग्रेसजनको मत पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले यो विषयमा आईतवारको स्थायी कमिटी बैठकमा समेत छलफल चलाएका छन् ।

नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले प्रचण्ड र माधव नेपालका कारण सरकार संकटमा परेको स्विकार्दै राजनीतिक संकट अझ गहिरिँदै जान नदिन अर्ली इलेक्सनको विकल्प बारे छलफल सुरु भएको स्विकारेका छन् । मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भइसकेको छ, संवैधानिक व्यवस्थाअनुसार समझदारी गरेर निर्वाचनमा जानुपर्छ नेता महतको भनाई छ ।

प्रचण्ड र माधव नेपालको शर्तका कारण मिलीजुली अगाडि बढ्ने समझदारी नहुने अवस्थामा पुगेको संकेत गर्दै नेता महतले सरकार प्रभावकारी नहुने अवस्थामा निर्वाचन नै निकास रहेको प्रष्ट पारे ।

निर्वाचन नै विकल्प हुनथालिसकेको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलले पनि आगामी वैशाखमा निर्वाचनमा हुनसक्ने सम्भावना औंल्याएका छन् । यो अवस्थामा मुलुक पुग्दा सबैभन्दा लाभ नेपाली कांग्रेस र एमालेलाई पुग्ने छ भने नैतिक रुपमा माधव नेपाल र प्रचण्डहरुको राजनीति धरापमा पर्नेछ ।


क्याटेगोरी : विचार/अन्तरवार्ता


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!