आईतबार, असोज ३१, २०७८
गृहपृष्ठविचार/अन्तरवार्तापुरुष पत्रकारहरुका बिच रम्दै जम्दै मेरो टेलिभिजन पत्रकारिता

पुरुष पत्रकारहरुका बिच रम्दै जम्दै मेरो टेलिभिजन पत्रकारिता


कमला पाख्रीन

पत्रकारिता पेशा हेर्दा जति आकर्षक, सजिलो र रमाइलो देखिन्छ त्यति नै अप्ठ्यारो पनि छ । अन्य पेशा जस्तो पत्रकारिता पेशामा निश्चित समय हुदैन् । पत्रकारिता पेशामा लाग्नेहरुका लागि विदाको दिन नै तोकिएको हुदैन । २४ घण्टाको खटाइ हुन्छ । कुनैपनि समयमा कुनै घटना वा विपत आइप¥यो भने पात्रकारको लागि स्वास्थ्य समस्या, चाडपर्व, परिवारिक भेटघाट भन्दा पनि सुचना, जिम्मेवारी र कर्तव्य महत्वपुर्ण हुन्छ ।

त्यसैले पनि पत्रकारिता पेशा अन्य पेशाभन्दा बढी चुनौतीपुर्ण छ । अझ पुरुषहरुको तुलनामा महिलाहरुको लागि पत्रकारिता पेशा शारिरिक समस्याका कारण कठिन छ । त्यसमाथि घरपरिवार, समाज, पेशाबाट पाइने पारिश्रमिक, बच्चाहरुको स्याहार सुसार लगायत विभिन्न कारणले पत्रकारितालाई निरन्तरता दिन चुनौती छ । त्यसैले पनि देशैभर पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको संख्या निकै कम छ। तर जति पत्रकारितामा छन् उनीहरु रमेका पनि छन् जमेका पनि छन् । पुरुष पत्रकार भन्दा व्यवसायिक रुपमा केहीमा पनि कमजोर छैनन् ।

सिन्धुपाल्चोकको कुरा गर्दा पनि महिला पत्रकारकहरुको संख्या न्युन छ । पुरुष पत्रकारको तुलनामा १० प्रतिशतको हाराहारीमा महिला पत्रकार क्रियाशिल छन् । सुरुवातमा पत्रकारिता पेशामा आएपनि पेशागत असुरक्षा ९आर्थिक,भौतिक, सामाजिक, घरायसी० का कारण थोरैले मात्रै यो पेशालाई निरन्तरता दिन सकेका छन् । थोरैमा पनि रेडियोमा बढी काम गर्ने छन् । जिल्लामा रेडियो स्टेशनहरु खुलेसँगैं महिला पत्रकारहरुको संख्या बढ्नुलाई सुखद नै मान्न सकिन्छ । जिल्लाको भौगोलिक विकटताका कारण अझ रेडियो र छापामा भन्दा टेलिभिजनमा काम गर्ने महिला पत्रकार औलामा गन्न सकिने मात्रै छन् । रेडियो, पत्रिका र अनलाइनमा भन्दा टेलिभिजनमा काम गर्न निकै कठिन र जोखिम पनि छ । टेलिभिजनमा काम गर्ने पत्रकारले जुन विषयमा रिर्पोटिङ गर्ने हो त्यससंग सम्बन्धित भिडियो र आवश्यक सुचनाका लागि स्थलगत रिपोर्टिङमा पुग्नुपर्ने हुन्छ । टेलिभिजनमा रेडियो र छापामा भन्दा अझ बढी समय र मेहनत समेत गर्नुपर्छ । त्यसैले पनि टेलिभिजन रिपोर्टिङमा महिला पत्रकारको सहभागिता न्युन भएको हुन सक्छ ।

जिल्लाको कुरा गर्दा जिल्लामै रहेर रेडियो र छापामा काम गर्ने महिला पत्रकारहरुको संख्या केही देख्न सकिन्छ । तर टेलिभिजनमा रिपोर्टिङ गर्ने महिला पत्रकार म एक्लै छु । रेडियो र छापा पत्रिकामा एकै ठाँउमा बसेर काम गर्न सहज हुने भएकाले महिला पत्रकारको सख्या केही छ तै पनि त्यो पर्याप्त भने छैन् । यस अघि केही महिला पत्रकारहरुले टेलिभिजनमा काम गरेपनि अहिले पेशाबाटै पलायन भएका छन् । केही भने पेशागत दक्षता हासिल गर्दै डेक्समै रहेर काम गर्न समेत सक्षम भएका छन् । मेरो टेलिभिजन पत्रकारिताको यात्रा पनि विभिन्न समस्याका बाबजुद पुरुष पत्रकारको बिच रम्दै र जम्दै अघि बढिरहेको छ ।

 रफतार रिर्पोटिङ यात्रा
सिन्धुपाल्चोकमा पत्रकारहरुको संख्या ९४ जना छ । त्यसमा पनि व्यवसायिक पत्रकारिता गर्ने निकै कम छन् । साथी भाइले माया गरेर नाम हाल्दिएर पत्रकार भएका धेरै छन् । यसमा पनि महिलाको संख्या ज्यादै न्युन छ । त्यसमा पनि क्रियाशील औलामा गन्न सकिने मात्रै छन् । जिल्लामा हाल सञ्चालनमा सात वटा रेडियो स्टेशन र एक दर्जनभन्दा बढी प्रकाशनमा रहेका पत्रिकामा काम गर्ने पत्रकारहरु फिल्ड रिपोटिङ क्षेत्रमा खासै क्रियाशील छैनन् । अझ महिला पत्रकार त छदै छैन ।

सञ्चार र सामाजिक सञ्जालले फिल्डमै गएर रिपोर्टिङ गर्ने बाध्यतालाई साँघुरो बनाएको छ । अझ अनलाईन, पत्रिका र रेडियोहरुलाई रिपोर्टिङ गर्न निकै सहज छ । तर टेलिभिजनमा तत्कालको दृश्य नै चाहिने हुँदा फिल्डमा पुग्नै पर्ने हुन्छ। फिल्डमा रिपोर्टिङका लागि हिड्ने महिला पत्रकार छैनन् त्यसैले पनि म पुरुष सहकर्मीहरुसंग सहकार्य गर्दै फिल्डमा पुग्छु।

समाचार लेखनमा महिला र पुरुष भन्ने हुदैन् । कामको हिसाबले पनि कुनै पनि सञ्चारगृहले तिमी महिला यति मात्रै काम गर भन्दैन । कामको सवालमा रेडियो, पत्रिका, अनलाइन र टेलिभिजन जहाँ जे काम गरेपनि महिला भनेर कुनै छुट छैन् । उतिकै समय, उतिकै परिश्रम, उतिकै लगावको खाँचो छ । तर जिल्लामा रिपोर्टिङका हिड्दा पनि पुरुष या महिला पत्रकार सबैले उही समाचार सम्प्रेषण गर्ने नै हो । अझ अफिसको कामका साथसाथै महिला पत्रकारलाई घरपरिवार, बच्चाको जिम्मेवारी समेत छ । तर समाजको दृष्टिकोणमा भने महिला पुरुष बराबर छैन् । अनेक सामाजिक लाञ्छनाहरु सहनुपर्छ । पुरुष पत्रकारको भिडमा एक्लै दुक्लै महिला पत्रकारको सहभागीतालाई समाजले अझै सहजै स्विकार गर्न सक्दैन । तसर्थ पनि महिलालाई पत्रकारीता पेशामा टिक्न निकै कठिन यो मेरा अनुभवले बताउँछ ।

जिल्लामा रहेर रेडियो पत्रिकामा काम गर्ने कति महिला पत्रकालाई सामुदायले चिन्न सकेको छैन् । सदरमुकाम या सदरमुकाम बहिरा भएका कार्यक्रममा महिला पत्रकारको सहभागीता नै देखिन्न । आर्थिक, भौगोलिक विकटता, सामाजिक मुल्य मान्यताका बिषयमा समाचार र रिपोर्टिङमा जाँदा पुरुष पत्रकारको भिडमा मेरो एक्लो सहभागिता हुन्छ । फिल्ड रिपोर्टिङमा जाँदा सुरु सुरुमा पुरुष पत्रकारहरुसंग बोल्न, संगै हिड्न निकै अप्ठ्यारो महसुस हुन्थ्यो । आफुलाई भएको समस्या पुरुष पत्रकारसंग भन्न लजौथ्ये र डराउँथे । रेडियो पश्चात टेलिभिजनको दुई बर्षको अबधिले मलाई पुरुषहरुसंग सहकार्य गर्न सिकाएको छ । म भित्रको लाज र डरलाई हटाइदिएको छ । अनि मेरो टेलिभिजन पत्रकारिताको रफ्तारलाई निरन्तर अघि बढाइरहेको छु ।

पत्रकारितालाई राज्यको चौथौ अंग मानिन्छ । पत्रकारिता पेशा र फिल्डमा काम गर्ने महिला पत्रकारले आफ्नो पेशा र सुरक्षाप्रति सधै सजक र चनाखो हुनुपदर्छ । भौगोलिक विकटताका कारण यातयातको सुविधा नहुँदा जिल्लाको हेलम्बु ,जुगल र पाँचपोखरी लगायतका दुर्गम भेगसम्म पुगेर काम गर्न सोचे जस्तो सहज छैन् । भिरको बाटो, टाढाको बस्ती र खाना बस्ने ठाँउको व्यवस्था नँहुदा एक्लै रिर्पोटिङ गर्न जानसक्ने अवस्था पनि छैन् । फिल्डमा काम गर्न महिला पत्रकार नै साथी नहुँदा योजना र ढुक्कले हिड्न सक्ने परिस्थिति बन्न सकेको छैन् । चाउचाउ, विस्कुट र बाटोको धारा, कुवा र पधेराको पानी पिएर ४ देखि ६ दिन सम्मको हिडाइमा रिर्पोटिङको यात्रा भने नगरेको होइन् । तर यी गाँउहरुमा पुग्न हप्ता दिनको समय र सुरक्षित रुपमा काम गर्न महिला पत्रकारहरुको टोलिको अभाव मलाई अझ खड्कियो । महिला पत्रकारको नभएकै कारण परिस्थिति जस्तोसुकै होस, बास बस्नु पर्ने होस वा दिन लगाएर हिड्नु परोस आफुले लिएको जिम्मेवारी पुरा गर्न पूरुषको भिडमा उभिएको महिलाले समय र परिस्थितिलाई पचाउन सक्नु पर्छ । त्यसैले महिला पत्रकारहरुका लागि नेपाली समाजको सोच बदल्न जरुरी छ ।

सामाज परिवर्तनको अभियानमा लागेका महिला पत्रकारहरुलाई आउने चुनौतिको समाना गर्न सामाज र परिवारको साथ सहयोग दुवैको जरुरत छ । सकारात्मक सोच र परिवारको साथ भयो भने महिला पत्रकारले पनि जिल्लामा पत्रकारीताको गतिलो क्षमता राख्न सक्छन् । यी दुईको साथ रह्यो भने महिला पत्रकारले पत्रकारितामा फट्को मार्न सक्छन् । न्युन मात्रामा रहेको महिला पत्रकारहरुको सख्या बढाउनका लागि सञ्चारगृहको पनि ठुलो भुमिका हुन्छ । सञ्चारगृहले बाहिरी परिवेशको रिपोटिङ, उचित पारिश्रमिक र पत्रकारीता तलिममा फिल्ड रिर्पोटिङको अनुभब बटुल्ने अवसर दिन सके महिला पत्रकारहरु यो पेशाबाट पलायन हुने थिएनन् । क्रियाशिल रहेका महिलाहरुको काम र संगतको टिका टिप्पणी मात्र होइन जिल्लामा रहेका अग्रज पत्रकारहरुले यो पेशाको अवसर र सम्भावना देखाइ दिनुपदर्छ । सञ्चारगृहहरुले पनि महिला पत्रकारको क्षमतालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक छ । पुरुष सरह श्रम र सम्मान पाउनु महिला पत्रकारको पनि अधिकार हो ।


क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!